जाजरकाेटमा काेराेनाले राेकेन काम, बाटो बनाउँदै पैसा बुझ्दै स्थानिय

  २०७७ जेठ ३१ गते १०:२६     विकासन्युज

जाजरकोट । कोरोनाबाट जनतामा परेको समस्या समाधान गर्न जुनिचाँदे गाउँपालिकाले काम गरेर जीविकोपार्जन गर्न विभिन्न योजना बनाएर रोजगारी दिएको छ । समय अपुग भएकैले ठूला आयोजना निर्माण गर्न मुस्किल पर्ने भएपछि गाउँपालिकाले १४ साना योजना बनाएर स्थानीयवासीलाई काम दिइ रोजगारी उपलब्ध गराएको हो ।

गाउँपालिकाको वडा नं १ देखि ६ सम्म स्थानीयवासीले काम गर्ने गरी छनोट भएका योजनामा काम शुरु भएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । काम गरेवापत दैनिक गाउँपालिकाले प्रतिव्यक्ति ५ सय रूपैया दिने गरेको छ । गाउँपालिकाको वडा नं १ बडकुलेमा तैयाबाट एक्लेसल्लाहसम्मको घोडेटो बाटो निर्माण जारी छ । सो बाटोमा २ लाख ४३ हजार रूपैयाँ विनियोजन भई ६८ जनाले काम गरिरहेका छन् । वडा नं १ मै चाँखाबाट चिसापानीसम्मको घोडेटो बाटो निर्माणका लागि १ लाख ९६ हजार रूपैयाँमा ५५ जनाले रोजगारी पाएका छन् । बिराखोलाबाट भगवती प्रावि घोडेटो बाटो निर्माणका लागि २ लाख १४ हजार ५ सय रूपैयाँ रकममा ६० युवाले रोजगारी पाएका छन् ।

वडा नं २ को आलिचौर ओडारबाट जर्पासम्मको घोडेटो बाटो निर्माणमा २ लाख ७५ हजारमा ५८ जनाले काम गरिरहेका छन् । वडा नं २ कै जन्तरेबाट मौगानसम्म घोडेटो बाटो बनाउन १ लाख ५० हजार रूपैयाँ विनियोजन भई ४२ युवायुवती काममा खटिएका छन् । वडा नं २ कै भैरव माविबाट फावरवयाँसम्मको १ लाख ४६ हजार ५ सयमा घोडेटो बाटो बनाउन ४१ जनाले रोजगारी पाएका छन् ।

त्यस्तै वडा नं ४ को जापाबाट गुमाउरो बाटोसम्म घोडेटो बाटो निर्माण जारी छ । सो बाटोमा १ लाख ७२ हजारमा दिने गरी ४८ जनालाई परिचालन गरिएको छ । जुनिचाँदे–४ मा मालिका प्रावि फिल्ड बनाउन १ लाख ५० हजार विनियोजन गरी ४२ जनाले काम गरिरहेका छन् ।

खुदबाट खालटाकुरासम्मको घोडेटो बाटो निर्माण गर्न ४३ युवायुवती परिचालित छन् । सो बाटोका लागि १ लाख ५३ हजार विनियोजन गरिएको छ । जुनिचाँदे–५ स्थित जिउलाबाट बाइपाटासम्म घाडेटो बाटो बनाउन ५ लाख ६५ हजार विनियोजन भई १ सय ५८ जनाले रोगगारी पाएका छन् । वडा नं ५ कै हाँकुबाट गर्खाकोटसम्मको घोडेटो बाटो बनाउन ४ लाख १८ हजार विनियोजन भई १ सय १७ जनाले रोजगारी पाएका छन् । मानिमाला–रियाना–नारे–मौका इप्रका घोडेटो बाटो जुनिचाँदे–५ मा निर्माण गर्न ८६ युवा परिचालन गरिएको छ । त्यसको लागि ३ लाख ७० हजार रकम विनियोजन भएको छ ।

वडा नं ६ को कसारेखोलाबाट तुम्ला सिगारसम्म घोडेटो बाटो निर्माण गर्न २ लाख ७९ हजार रकममा ७८ जनाले काम गरिरहेको गाउँपालिकाले जनाएको छ । वडा नं ६ को चौताराबाट फेदीसम्मको घोडेटो बाटो बनाउन २ लाख ३० हजारमा ५६ स्थानीयवासीले रोजगारी पाएको गाउँपालिकाका निमित्त अध्यक्ष शिवा आचार्य (बस्नेत) ले बताए । गाउँका बेरोजगारलाई रोजगारी दिन यो कार्य गरिएको उनले बताए । क्वारेन्टाइनमा बसेर घर फर्केका, विदेशबाट कामविहीन भएर घर फर्केकालाई यस्ता काममा सहभागी गराएको आचार्यले जानकारी दिए ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.