काठमाडाैं । बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा १० करोड रूपैयाँ घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको आयमा भेटी आम्दानीबाट १ करोड ५७ लाख ८ हजार ७ सय ३० रूपैयाँ , विशेष पूजाबाट २ करोड २५ लाख ७९ हजार ५ सय रूपैयाँ बन्दाबन्दीकै कारण दाखिल हुन नसकेको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।
चन्दाबाट २ लाख ७२ हजार ९ सय १७ रूपैयाँ, पार्किङबाट २ लाख ९९ हजार ९ सय ३५ रूपैयाँ, गुठी जग्गाबाट हुने आम्दानीमा १ करोड ३२ लाख ९५ हजार ८ सय ६८ रूपैयाँ, पर्यटक प्रवेश शुल्कबाट १ करोड २ लाख ८२ हजार रूपैयाँ, क्रियापुत्री सेवाबाट १२ लाख ७५ हजार ४ सय ६१ रूपैयाँ, तिलगङ्गा धर्मशालाबाट ४ लाख ३९ हजार २ सय ३४ रूपैयाँ, विद्युतीय शवदाहगृह सञ्चालनबाट १० लाख ८६ हजार ७ सय ५० रूपैयाँ कोषलाई घाटा लागेको उनले बताए ।
अन्य शीर्षकमा समेत गरी अनुमानित १० करोड ६ लाख ७२ हजार ६ सय ३९ रूपैयाँ घाटा भएको कोषले जनाएको छ । चैत लागेदेखि नै पशुपति क्षेत्रमा सीमित भक्तजनलाई मात्र प्रवेश गराइएको थियो । चैत ११ देखि जारी बन्दाबन्दीका क्रममा मूल मन्दिरलगायत पशुपति क्षेत्रमा भक्तजन आवतजावत पूर्णरूपमा बन्द गरिएको छ ।
घाट, क्रियापुत्री, विद्युतीय शवदाह गृहलगायत अत्यावश्यक सेवा भने दूरी कायम गरेर सञ्चालनमा छ । मूल मन्दिरलगायत अन्य मन्दिरमा हुने नित्यपूजा भने जारी छ । कारोनाको सङ्क्रमणबाट उपत्यकामा निधन भएकाको शवदाह विद्युतीय गृहमा गर्दा कम्तीमा ३६ घण्टासम्म निर्मलीकरणका लागि बन्द हुने गरेको छ । रासस