२०७७ जेठ ३१ गते ११:११ विकासन्युज
काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित हुने भएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने बैंठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,०७७ पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूचि तय भएको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले दोस्रो संशोधन विधेयक २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र छलफलपछि कानुनमन्त्रीले सो विधेयकलाई पारित गर्ने प्रस्ताव गर्नेछिन् ।
सरकारले जारी गरेको नयाँ नक्सा अनुसार संविधानको निशान छाप परिवर्तन गर्न नहुने भन्दै संशोधन प्रस्ताव समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गरेकी छन् । लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूभाग समाभेष गरि सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो ।
यही जेठ २७ गते प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिवद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए ।
पार्टीको नीति विपरीत गिरीले संशोधन प्रस्ताव दर्ता गरिन् । गिरीले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको केही घण्टामै समाजवादी पार्टीले सांसद गिरीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । नमाने कारबाही गर्ने चेतावनी पनि दियो । तर, गिरीले आफ्नो संशोधन फिर्ता नलिने जानकारी दिँदै आएकी छिन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.