२०७७ जेठ ३२ गते ७:१३ विकासन्युज
काठमाडौं । नेपालको प्रतिनिधिसभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउने गरि तयार पारिएको संविधानको संशोधन प्रस्ताव पारित गरेको दुई घण्टा नवित्दै भारतले संक्षिप्त प्रतिक्रिया व्यक्त गरेको छ ।
भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले छोटो लिखित प्रतिक्रिया व्यक्त गर्दै ‘नेपालको दाबीको पछाडि ऐतिहासिक तथ्य वा प्रमाण नभएको’ उल्लेख गरेका छन् ।
‘नेपालको प्रतिनिधिसभाले भारतीय भूभाग समेट्ने गरि नेपालको नक्सा परिवर्तनसम्बन्धी संविधान संशोधन विधेयक पारित गरेको हामीले जानकारीमा लिएका छौं । हामीले यस विषयमा पहिले नै हाम्रो धारणा प्रस्ट पारिसकेका छौं’ भारतीय प्रतिक्रियामा उल्लेख छ ।
‘यो कृत्रिम विस्तार गरिएको दाबी ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैनन् र यसको बचाउ गर्न पनि सकिन्न। साथै, थाती रहेका सीमा मुद्दाबारे वार्ता गर्ने हाम्रो वर्तमान समझदारीको यो विपरीत छ ।’
नेपालले नयाँ नक्सासम्बन्धी चालेकाे कदमलाई लिएर भारत पहिलेदेखि नै असन्तुष्ट रहँदै आएको थियो । यसैक्रममा भारतीय सेनापतिले नेपाल अरू कसैको इशारामा उचालिएको भनी गरेका टिप्पणीले दुई देशबीच थप तनाव बढेको थियो ।
शनिवार संसदले संशोधन प्रस्ताव पारित गरेपछि प्रधानमन्त्री केपी ओलीले भने अब भारतसँग वार्ता गरिने बताए । तर पछिल्लो भारतीय प्रतिक्रियाले वार्ताको बाटो सहज नहुने देखाएको परराष्ट्रमामिलाका सदस्यहरूले बताउँदै आएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.