२०७७ असार १ गते ६:३७ विकासन्युज
काठमाडाैं । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले कोरोना भाइरस सङ्क्रमणका कारण लागु गरिएका लकडाउन व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् ।
सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुल्ने छन् । अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि दिइने छ । कोभिड-१९ सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित वृद्धाश्रममा रहेका परिवारका सदस्यहरूलाई पनि भेट्न पाइने बताइएको छ ।
टेलिभिजनमार्फत् गरिएको सम्बोधनका क्रममा माक्रोँले फ्रान्सले ूपहिलो जितू हात पारेको तर भाइरस फेरि फर्कन सक्ने चेतावनी दिए ।
यसै महिनाको शुरूवात देखि फ्रान्सका विभिन्न स्थानमा सामाजिक दूरी कायम गराउने शर्तमा रेष्टुराँ, होटेल र क्याफे खोल्न दिइएको थियो ।
माक्रोँले सङ्क्रमणका सबैभन्दा धेरै घटना पुष्टि भएको पेरिस क्षेत्रमा पनि सोमवारदेखि त्यस्तै हुने पुष्टि गरेका छन् । त्यस्तै जुन २२ तारिखबाट विद्यालयहरू खुल्ने बताइएको छ ।
सावधान रहन आवश्यक
तर राष्ट्रपति माक्रोंले भने, ‘यसको अर्थ यो होइन कि भाइरस गइसकेको छ र हामी सुरक्षित हुनका लागि अपनाइएका सावधानीका विधि पूर्ण रूपमा बेवास्ता गर्न सक्छौं । सन् २०२० को ग्रीष्म ऋतु अन्य गर्मी मौसमभन्दा फरक हुनेछ र भविष्यमा यो फर्किएको खण्डमा सङ्घर्ष गर्नका लागि हामीले यो महामारीको विकासक्रम नियाल्नुपर्छ ।’
मार्च महिनामा हुने निर्धारण गरिएको स्थानीय तहहरूको दोस्रो चरणको निर्वाचन जुन २८ तारिखमा आयोजना गरिने माक्रोँले पुष्टि गरेका छन् । ‘भाइरस फैलाउने मुख्य स्थान भन्दैू ठूला सभाहरूको आयोजनामा कडा रूपमा नियन्त्रण गर्नुपर्नेछ’ उनले भने ।
पछिल्लो घोषणासँगै मुख्य भूमि फ्रान्स अब ग्रीन जोनमा पर्नेछ । फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या २९ हजार ४ सयभन्दा बढी छ। त्यस्तै १ लाख ९४ हजारमा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।
फ्रान्समा मार्च १७ तारिखदेखि कडा लकडाउन लागु गरिएको थियो जुन मे ११ सम्म कायम थियो । त्यसपछि क्रमिक रूपमा प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्दै लगिएको थियो । (बीबीसीबाट)
Copyright © 2024 Bikash Media Pvt. Ltd.