विदेश यात्रामाथि प्रतिबन्ध हटाउन अमेरिकालाई महिनौं लाग्न सक्छः डा.फाउची

  २०७७ असार १ गते ८:२३     विकासन्युज

काठमाडौं । मुलुकमा कोरोनाको संक्रमण नरोकिएकाले विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई महिनौं लाग्न सक्नेछ। कोरोना भाइरस महामारी विरूद्धको लडाईंको अग्रमोर्चामा रहेका अमेरिकी स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउचीले विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई महिनौं लाग्ने बताए ।

लकडाउनलाई खुकुलो पार्नाले त्यसले दोश्रो लहरको महामारी आउनसक्ने खतरा रहेको विज्ञहरुले चेतावनी दिदैं आएका छन् । लकडाउन खुकुलो पारेसँगै अमेरिकाका कयौं शहरहरूमा पछिल्लो समय संक्रमित संख्यामा वृद्धि देखिएको छ ।

कोरोनाको संकट सुरू भएपछि राष्ट्रपति ट्रम्पले युरोप, चीन तथा ब्राजिलबाट हुने अमेरिका यात्रामा प्रतिबन्धको घोषणा गरेका थिए । टेलिग्राफलाई दिएको अन्तरवार्तामा फाउचीले यो प्रतिबन्ध कोरोना विरूद्धको भ्याक्सिन नबन्दासम्म लम्बिन सक्ने बताएका छन् ।

अमेरिकामा २० लाख बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने १ लाख १५ हजार बढीको मृत्यु भएको छ । यसैगरी कोरोना कहरको सर्वाधिक मार खेपेको न्यू योर्क राज्यका गभर्नर एन्ट्रयू कुमोले कोरोना रोक्न लगाइएको लकडाउन हटाउनु ठूलो त्रुटि हुनसक्ने बताएका छन् ।

‘संसारका धेरै देशमा लकडाउन हटाएपछि संक्रमणको दोश्रो लहरको खतरा बढेको देखिरहेका छौं । विश्व स्वास्थ्य संगठन, डाक्टर फाउची र रोग नियन्त्रण केन्द्रले यस बारेमा चेतावनी दिएका छन् । यसलाई नजरअन्दाज गर्न सकिदैन’, उनले भने । (बीबीसीकाे सहयाेगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.