२०७७ असार १ गते १८:०० विकासन्युज
काठमाडाैं । गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले साे बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेशले कुल बजेटकाे चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट विनियाेजन गरकाे छ । यस्तै, वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, ससर्त अनुदान ४ अर्ब ८४ लाख, समपूरनक अनुदान १ अर्ब ४९ करोड ६९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीमार्फत ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ६० करोड ८५ लाख रुपैयाँ अनुमान गरिएको छ ।
गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा स्वास्थ्य, कृषि, उद्योग, रोजगार, शिक्षामा जोड दिएको छ । आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने बताउँदै गण्डकी प्रदेशले अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्ता लगायतका सबै प्रकारका भत्ता साउन १ गतेदेखि खारेज गरेको छ ।
कोरोना रोगको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकलाई प्रदेश सरकारका तर्फबाट दिइदै आएको जोखिम वहन तथा प्रोत्साहन भत्तालाई निरन्तरता दिने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.