सरकारी कर्मचारीलाई नै कार्यालयमा जान समस्या

  २०७७ असार ४ गते १०:३५     राजाराम न्याैपाने

काठमाडौं । मन्त्रिपरिषद्ले सबै सरकारी कार्यालय असार १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । तर सरकारी कर्मचारीहरुलाई नै कार्यालयल जान सबैभन्दा धेरै गाह्राे भएको कार्यालयका प्रमुखहरु बताउछन् ।

सरकारले लागू गरेको निजी सवारीमा जोर बिजोरसहित ३ जना र दुई पाँगे सवारीमा चालक मात्रैको हिड्न पाउने व्यवस्थाले सरकारीदेखि निजी कार्यालयहरु सञ्चालन गर्न अपठ्यारो परेको छ । सरकारले कोराना फैनिन नदिन भनेर सवारीमा चलक सहित ३ जना र बाईक तथा स्कुटरमा १ जना मात्रै यात्रा गर्ने नियम लागू गरेको थियो ।

तर, यो नियमको सबैतिरबाट बिरोध भैरहेकेको छ । सरकारी कार्यालयका कर्मचारीहरु नै सरकारले गरेको निर्णयले कार्यालय सञ्चालनमा समस्या परेको बताउछन् ।

घरमा दुई पाँगे सवारी साधन भए पनि चलाउन नजानेका सरकारी कर्मचारीहरु हिडेरै कार्यालय आउन बाध्य छन् । परिवारका कुनै सदस्यले कार्यालय पुर्यादिन खोजे पनि प्रहरीले बाटैमा रोकेर एक जनालाई सवारीबाट झारिदिने गरेको छ ।

सरकारी कार्यालयका सबै कर्मचारीलाई उपस्थित हुने मन्त्रालय र विभागले निर्देशन दिएको छ । तर काठमाडौं उपत्यकामा भएका कर्मचारीहरु कार्यालय आउन नै समस्या भएको छ । उपत्यका बाहिर भएका कर्मचारीहरु काठमाडौं आउन नै समस्या परेको विभागका प्रमुखहरु नै बताउछन् ।

गत साता बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गते देखि सबै सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । सार्वजनिक सवारी साधान नचल्ने, निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको र दुई पाङ्ग्रे सवारीमा १ जना मात्रै यात्रा गर्न पाउने व्यवस्थाले पनि कर्मचारीहरूलाई कार्यालय पुग्ने र घर फर्कन कठिन भएको अधिकारीहरूको भनाइ छ । सरकारी कर्मचारीहरुलाई नै सेवा दिन आउन समस्या भए पछि सेवा लिन आउने सेवा ग्राहीको अवस्था कस्तो होला ।

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनाराण पौडेलले जोरविजोर र दुई पाँगे सवारीमा १ जना मात्रै यात्रा गर्ने सरकारको निर्णयले कार्यालय सञ्चालनमा समस्या परेको बताए ।

‘कार्यालय सञ्चालका लागि सबैभन्दा ठूलो समस्या भनेको कर्मचारी कार्यालय आउन नै हो, यो विषयमा प्रत्येक दिन मैले सचिवसँग पनि कुरा गरेको छु, सबै कर्मचारीलाई दुई पाँगे सवारी चलाउन आउदैन, सरकारी कर्मचारी हो भन्दा पनि माथिको आदेश भन्दै ट्राफिकले बीच बाटोमा नै झारिदियो, अब कसरी कार्यालय आउने सर भन्ने गरेका छन्, कति कर्मचारीहरु त २/३ घन्टा हिडेर आउने गरेका छन्, आवत जावतमा नै सबैभन्दा धेरै समस्या छ,’ पौडेलले भने ।

सेवाग्राहीको भीड लाग्ने कम्पनी रजिष्ट्रार कार्यालयको पनि समस्या कर्मचारी कार्यालय आउने कसरी भन्ने नै समस्या छ । कार्यालयमा दरबन्दी मध्ये ५० प्रतिशत मात्रै कर्मचारी भएको र ती ५० प्रतिशत कर्मचारीमध्ये पनि केही गाउँबाट काठमाडौं आउने प्रक्रियामा रहेको र उपत्यकामा नै भएका कर्मचारीलाई पनि कार्यालयमा आउन समस्या रहेको कम्पनी रजिष्ट्रार कार्यलयका सूचना अधिकारी सन्तोष दाहालले बताए ।

‘सबै कर्मचारीसँग सवारीसाधन नभएको र कति कर्मचारीले साधन चलाउन नजानेको कारणले परिवारका सदस्यले ल्याएर कार्यालय ल्याएर छोड्नु पर्ने अवस्था छ, तर सरकारले नै दुई पाँगे सवारीमा एक जनामात्रै यात्रा गर्ने भनेर गरेको निर्णयले समस्या परेको छ, कर्मचारीले कसरी कार्यालय आउने भनेर समस्या नै परिसकेको छ,’ दाहालले भने ।

सरकारको निर्णय अनुसर २ सिफ्टमा कम्पनी रजिष्ट्रार कार्यालय सञ्चाल हुन सकेको पनि छैन । पहिलेदेखि नै यस कार्यालयमा कर्मचारी कम छन् । भएकामध्ये पनि केही गाउँ तिर गएको कारणले पनि १ सिफ्टमा मात्रै कार्यालय सञ्चालन भएको हो । कम्पनी रजिष्ट्रार कार्यालयमा नयाँ कम्पनी दर्ता, नविकरण र अध्यावधिक गराउने सेवाग्राहीको कारणले भिडाभाड हुने गरेको छ ।

उद्योग विभाग बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन भैरहेको सूचना अधिकारी विनेद खड्काले बताए । तर कर्मचारी कार्यालय आउन भने समस्या रहेको उनले बताए ।

‘हामीसगँ गाडी पनि कम छ, भएका गाडीमा पनि चालकसहित ३ जना भन्दा धेरै हिड्न मिल्दैन, दुई पाँगे सवारीमा पनि १ जना मात्रै यात्रा गर्न नपाउने नियम छ, यसले कर्मचारी कार्यालय आउन समस्या भहिरहेको छ,’ खड्काले भने ।

सरकारले बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर उपत्यका भित्र नै भएका कर्मचारीहरुलाई पनि जोरबिजोर प्रणाली, चार पाँग्रे सवारीमा चलक सहित ३ जना र दुई पाँगे सवारीमा एकजना मात्रै सवार हुने नियमले समस्या परेको खड्का बताउछन् ।

सरकारी कर्मचारीलाई नै कार्यालयमा आएर सेवा दिन समस्या छ । यस्तो समयमा सर्वासाधारणले कसरी सेवा लीन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.