२०७७ असार ४ गते १०:२५ विकासन्युज
काठमाडाैं । टोखा नगरपालिकाले चीनको नाग्छु नगरपालिकाबाट ल्याएको स्वास्थ्य सामग्री सबै वडामा वितरण गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनको नाग्छु नगरपालिकाले जेठ १५ गते टोखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
टोखाका नगरप्रमुख प्रकाश अधिकारीले चीनबाट सहयोगस्वरुप ल्याएको स्वास्थ्य सामग्री टोखाका ११ वटै वडामा वितरण गरिसकिएको जानकारी दिए । चीनको नाग्छु नगरपालिकाले टोखा नगरपालिकालार्ई विभिन्न किसिमका माक्स ३० हजार थान, थर्मल गन ३ सय थान, व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) ३ हजार थान, मेडिकल आइसोलेसन चश्मा ३ हजार थान, पञ्जा ५ हजार थान, मेडिकल जुत्ता ३ हजार थान र स्यानेटाइजर सहयोग गरेको छ ।
उक्त सामग्रीको मूल्य १ करोड ८६ लाख रकम बराबर रहेको छ । टोखा नगरपालिकाले कोरोना रोग फैलन नदिन चेकजाँचलाई समेत बढाएको छ । टोखाले आगामी आर्थिक वर्ष २०७७/७८ मा प्राथमिक स्वास्थ्य केन्द्र टोखामा दुई श्ययाको सुविधासम्पन्न आइसोलेसन निर्माण गर्नसमेत लागेको छ ।
उक्त सुविधासम्पन्न आइसोलेसन निर्माणका लागि आगामी आवको नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्ने नगरप्रमुख अधिकारीको भनाइ छ । आइसोलेसन स्थापनासँगै कोरोना रोगको उपचारमा थप सहयोग पुग्ने विश्वास टोखा नगरपालिकाले लिएको छ । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.