२०७७ असार ४ गते १५:२९ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिमा बसोवास गर्ने नागरिकहरुका लागि विभिन्न प्रकारका कार्यक्रमहरु प्रस्तुत गरेको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नीति तथा कार्यक्रम कोरोना भाइरसको नियन्त्रण तथा आर्थिक पुनरुत्थानमा केन्द्रित भएको बताएका छन् ।
उनले नीति तथा कार्यक्रम मार्फत महानगरवासीहरुका लागि विभिन्न व्यवसायीलाई कर छुटदेखि सहुलियत ऋणसम्मका कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।
विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा प्रस्तुत भएको महानगरको नीति तथा कार्यक्रमहरु कोरोना भाइरसले उत्पन्न आर्थिक संकटको पुनरुत्थानका लागि केन्द्रित भएको मेयर शाक्यले बताएका छन् ।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट विभिन्न व्यवसाय परेको असर तथा जोखिमलाई कम गर्नको लागि सहुलियत ऋणको व्यवस्था गरेको बताएका छन् । ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत ब्यापार व्यावसायमा आएको अप्रत्यासीत मन्दीलाई केन्द्रित गर्दै महागरभित्र सञ्चालित सपिङ मल, होटल, रेष्टुरेन्टलाई विशेष सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छु,’ उनले भने ।
यस्तै,उनले करदातालाई कर छुटको व्यवस्था गरेकाने पनि बताएका छन् । करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिकरुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाइने र उनीहरुलाई केही मात्रामा कर छुटको पनि व्यवस्था गर्न सकिने नीति तथा कार्यक्रमममा उल्लेख छ ।
प्रमुख शाक्यले अहिले धेरै युवाहरु कोरोनाकै कारण बेरोजगार हुनु परेकोले उनीहरुलाई कृषिमा आकर्षित गराउने उद्धेश्यले कृषकहरुका लागि बीऊ पूँजी सहुलियत ऋणकोरुपमा ब्यबस्था गरिने पनि बताएका छन् ।
धेरै युवाहरु विदेशबाट पनि स्वेदेश फर्किसकेको अवस्थामा उनीहरुलाई आधुनिक कृषि प्रणालीमा टेवा पुग्ने किसिमले बीऊ पुँजी सहुलियत ऋण उपलब्ध गराउने बताएका हुन् । युवाहरुलाई नयाँ व्यवसायमा प्रोत्साहन गर्नको लागि स्थानीय सीप र उद्यममा लगानी लगाउने वातावरण महानगरले सिर्जना गर्ने उनको भनाई छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.