आइसोलेशन श्यया क्षमताभन्दा दोब्बर संक्रमित

  २०७७ असार ६ गते १९:४६     विकासन्युज

भीमदत्तनगर । कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित बिरामीलाई आइसोलेशन कक्षमा राखेर उपचार गरिनुपर्ने भए पनि सुदूरपश्चिम प्रदेशमा धेरै संक्रमित अस्पताल सुविधाभन्दा बाहिर छन् । यहाँका नौवटै जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा ३ सय ३३ जना संक्रमित राख्न मिल्ने आइसोलेशन श्यया भए पनि यहाँ शुक्रबार साँझसम्म संक्रमितकाे सङ्ख्या ७ सय ७० जना पुगेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यहाँका आइसोलेशन वार्डमा हालसम्म ११४ जना सङ्क्रमित रहेका छन् भने ४० जना संक्रमणको शङ्कास्पद बिरामी छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले सरकारले गरेको परिपत्रअनुसार नै अहिले यहाँका संक्रमितहरु होम क्वारेन्टाइनमा बसिरहेको बताए । “लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टिनमा बसेर सावधानी अपनाउन माथिबाटै परिपत्र भएको छ”, उनले भने, “सङ्क्रमितहरु अस्पतालबाहिर रहे पनि सबै स्थानीय तहका स्वास्थ्यकर्मीहरुसितको सम्पर्कमा छन् ।”

निर्देशक डा अवस्थीले लक्षण देखिए मात्रै संक्रमितहरू आइसोलेशनमा राखेर उपचार गर्ने बताए । त्यसैगरी यहाँका सबैजसो स्थानीय तहहरुले आइसोलेशन कक्षको क्षमता बढाइरहेको उनकाे भनाइ छ । “यहाँ क्वारेन्टिनहरुलाई नै आइसोलेशन बनाउने काम भइरहेको छ”, डा अवस्थीले भने, “अहिले हरेक स्थानीय तहको जोड आइसोलेशन बनाउनेमै छ ।”

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा दुई सय आठजना सङ्क्रमित रहेका छन् । त्यस्तै डडेल्धुरामा १ सय ३१, बैतडीमा १ सय २०, कञ्चनपुरमा ९५, बाजुरामा ६९, अछाममा ५९, डोटीमा ५७, बझाङमा १९ र दार्चुलामा १२ जनामा सङ्क्रमित रहेका छन् । निर्देशनालयका अनुसार हालसम्म सङ्क्रमितमध्ये १ सय २४ जना अस्पतालबाट निको भएर फर्किसकेका छन् । यहाँको सेती प्रादेशिक अस्पतालमा ७४, डडेल्धुरा अस्पतालमा ४०, जिल्ला अस्पताल बझाङमा ३५, भीमदत्तनगरस्थित महाकाली अस्पतालमा ३३, टीकापुर अस्पतालमा ३२ र मालाखेती अस्पतालमा २० श्ययाको आइसोलेशन रहेको छ ।

त्यसैगरी जिल्ला अस्पताल अछाममा १७, बयलपाटा अस्पतालमा १३, बाजुरामा १२, डोटीमा १०, बैतडीमा आठ, जिल्ला अस्पताल दार्चुलामा १३, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा चार, चौमला प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच, गोकुलेश्वर अस्पतालमा चार, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई, जोगबुढा अस्पतालमा आठ र सुदूरपश्चिम प्रहरी अस्पतालमा तीन श्ययाको आइसोलेशन रहेको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी यहाँका ८८ वटै स्थानीय तहका दुई हजार ६८ स्थानमा क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । यी क्वारेन्टाइनमा शुक्रबारसम्म ३७ हजार २ सय ५ जना बसिरहेका छन् । प्रदेशमा पछिल्लो समय भारतलगायत अन्यत्रबाट आउनेहरुको सङ्ख्यामा कमी आए पनि कोरोना परीक्षणको दायरा भने बढाउन सकिएको छन् ।

शुक्रबारसम्म सुदूरपश्चिममा १० हजार २ सय ४५ जनाको पिसिआर विधि र ९६ हजार ७ सय ६० जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । पिसिआर विधिबाट परीक्षणका लागि लिइएको स्वाबमध्ये ४ हजार ७ सय ५९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

धनगढीमा सञ्चालनमा ल्याइएको प्रयोगशालामा दैनिक २ सय ५० जनाभन्दा बढीको परीक्षण गर्न सकिरहेको छैनन् । यहाँबाट सङ्कलित नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ । प्रदेश सरकारले बैतडी र डोटीमा समेत पिसिआर मेशिन जडान गरी परीक्षणको दायरा बढाउने निर्णय गरेको दुई महिना बितिसके पनि अझै शुरु हुन सकेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालय भने पिसिआर मेशिन खरिद प्रक्रियामा गइसकेको र मेशिनहरु असार तेस्रो सातासम्म सुदूरपश्चिम आइपुग्ने जनाएको छ ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.