२०७७ असार ७ गते ९:३७ विकासन्युज
दमक । गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी बढेको पाइएको हो ।
उपचार केन्द्रमा गत चैतमा ४२ सर्पदंशका बिरामीको उपचार भएको थियो भने वैशाखमा ४४ को उपचार भएको थियो तर जेठमा भने बिरामीको सङ्ख्या बढेर ८० जना पुगेको देखियो । असारको ६ दिनमै ३१ सर्पदंशका बिरामीले उपचार केन्द्रबाट उपचार पाएको केन्द्रका प्राविधिक हेमचन्द्र अधिकारीले जानकारी दिए । सर्पदंश उपचार केन्द्रमा वार्षिक १ हजार ५ सयका हाराहारीमा सर्पदंशका बिरामीले उपचार सेवा पाउँदै आएका छन् ।
चिसो र सुक्खा मौसममा दुलोभित्र रहने सर्प गर्मीसँगै वर्षा हुन थालेपछि बाहिर निस्कने गर्नाले हरेक वर्ष यो मौसममा सर्पदंशका बिरामी बढ्ने गरेको उनले बताए । तराई क्षेत्रमा गोमन, करेतजस्ता विषालु सर्पको डसाइका बिरामी आउने गरेका छन् भने पहाडी क्षेत्रबाट गुर्भे, हरेउजस्ता सर्पले टोकेका बिरामी यहाँ आउने गरेको उपचार केन्द्र इन्चार्ज देवी भण्डारीले बताए ।
गर्मी र वर्षाको मौसममा सर्पको टोकाइको जोखिम धेरै हुने भएकाले घर वरिपरिको सरसफाइमा ध्यान दिन उपचार केन्द्र प्रमुख भण्डारीले आग्रह गरे । त्यसैगरी राति अँध्यारोमा हिँड्दा टर्चलाइट लिएर मात्रै निस्कनुपर्ने, दाउराघाँस गर्दा पूरा बाहुलाको कपडा लगाउने र गमबुट लगाउने गर्नाले सर्पदंशबाट बच्न सकिने उनकाे भनाइ छ । त्यसैगरी विशेषगरी करेत सर्पले घरभित्रै टोक्ने भएकाले राति सुत्दा भुइँमा नसुत्ने, झुल टाँगेर मात्रै सुत्ने गर्दा पनि सर्पको टोकाइबाट बच्न सकिने उनले बताए ।
गौरादह नगरको नीति तथा कार्यक्रम सार्वजनिक
झापाको गौरादह नगरपालिकाले शनिबार छैटौँ नगरसभामार्फत आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा नगरप्रमुख रोहितकुमार साहले नगरको एकवर्षे नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
नगरप्रमुख साहले नगरमा स्वास्थ्य एप्स, पशुपालन, कृषि, शिक्षा, नगरका गौरवका आयोजनालगायत पूर्वाधार विकास र अतिविपन्न गरिब तथा लक्षित समुदायको जीवनस्तर उकास्ने विभिन्न कार्यक्रममा जोड दिइएको बताए । त्यस्तै युवा स्वरोजगार तथा रोजगारी सिर्जना, विपद् व्यवस्थापन तथा सुशासन, खेलकूद विकास, खानेपानी, सूचना प्रविधि तथा सञ्चार एवं धर्मसंस्कृतिको जगेर्नालगायतका सर्वाङ्गीण विकास गर्ने लिइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरप्रमुख साहले कृषि, पशु र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखी उत्पादनमुखी कार्यक्रम ल्याइएको बताए । उले युवालाई स्वरोजगारमूलक बनाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिनुका साथै नगरमा बाली राहत कोष, घाँसको स्रोत केन्द्र स्थापना, नगरबाट सबै प्रकारका करहरुमा केही वर्षलाई छुट, पशुहित कोष स्थापना गरिने कार्यक्रम रहेको बताए ।
त्यस्तै नगर शिक्षा ऐन तयार गरी लागू गर्ने, सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्ने, नगरमा शववाहन सञ्चालन गर्ने, प्रत्येक वडामा योग तथा फिटनेस सेन्टर स्थापना गर्ने, आँखा अस्पतालसँग समन्वय गरेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, सबै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गर्ने, विपन्न वर्गलाई निःशुल्क ट्युबवेल वितरण गर्नेलगायतका मुख्य योजना तथा नीतिहरु रहेको साहले बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.