धेरै मृत्यु हुने देशमध्ये दोस्रो स्थानमा ब्राजिल, मृतककाे संख्या ५० हजारभन्दा बढी

  २०७७ असार ८ गते ७:०२     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ जहाँ ५० हजारभन्दा बढी व्यक्तिले कोभिड-१९ बाट ज्यान गुमाएका छन् ।

संक्रमित व्यक्तिहरूको सङ्ख्या १० लाखभन्दा बढी पुगेको पुष्टि गरिएको केही दिनपछि मृतकको सङ्ख्या विश्वमै दोस्रो बढी देखिएको हो  हाल त्यहाँ ५० हजार ६ सय ५९ जनाकाे काेराेना भाइरसबाट मृत्यु भएकाे छ ।

तर विज्ञहरू पर्याप्त परीक्षण नगरिएका कारण र सङ्क्रमण उच्च बिन्दुमा पुग्न बाँकी रहेकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने बताउँछन् ।

संक्रमित
यसअघि आइतवार स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा थप ६ सय ४१ जनाको मृत्यु भएको जनाएको थियो । त्यो सङ्ख्या थपिएसँगै देशमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार ६ सय १७ पुगेको हाे । विगत २४ घण्टामा १७ हजार नयाँ संक्रमित थपिएका छन् । मृतक र संक्रमित हिसाबले संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ ।

त्यहाँ अहिलेसम्म २२ लाख संक्रमणका घटना पुष्टि भएका छन् भने कोभिड-१९ बाट एक लाख २० हजार व्यक्तिले ज्यान गुमाएका छन् । मृत्यु हुने र संक्रमित हुने व्यक्तिहरूको सङ्ख्यामा तीव्र वृद्धि भइरहँदा पनि राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू फेरि खुला गर्न थालिएका छन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लागु गरिएका प्रतिबन्धात्मक नियमहरूका कारण अर्थतन्त्र ध्वस्त भएको राष्ट्रपतिको दाबी रहिआएको छ । यसैबीच, राष्ट्रपति बोल्सोनारूका हजारौँ समर्थक तथा विरोधीले देशका विभिन्न शहरमा समानान्तर प्रदर्शनहरूको आयोजना गरेका छन् ।

सबैभन्दा ठूला प्रदर्शनहरू साओ पावलो, रियो द जेनैरो र राजधानी ब्राजिलियामा भएका छन् । ब्राजिलियास्थित संसद्‌ र सर्वोच्च अदालत भवनबाहिर जम्मा भएका प्रतिद्वन्द्वी प्रदर्शनकारीहरूलाई प्रहरीले एकअर्कासँग मिसिन दिएनन् ।

संसद्‌ र सर्वोच्च अदालतले राष्ट्रपति बोल्सोनारूको अधिकार कटौती गर्न चाहेको उनका समर्थकहरूको आरोप छ । बिहीवार राष्ट्रपतिका पूर्वसहयोगी र तिनको परिवारका सदस्यलाई गिरफ्तार गरिएपछि विपक्षीहरूले बोल्सोनारूमाथि महाभियोग लगाउन माग गरेका छन् ।  (बीबीसीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.