भक्तपुरमा पनि पिसिआर विधिबाट परीक्षण शुरु

  २०७७ असार ८ गते २०:३२     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले कोरोना भाइरस परीक्षणका लागि पोलिमराइज चेन रिएक्सन (पिसिआर) ल्याब सञ्चालनको स्वीकृति पाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज सो अस्पतालमा कोभिड–१९ को परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि अनुमति दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले हस्ताक्षर गरी पिसिआर सञ्चालनको अनुमति प्रदान गरेकी हुन् । नगरपालिका यसअघि नै पिसिआर ल्याब सञ्चालनमा ल्याएर ७७१ जनाको कोरोना परीक्षण गरे पनि अनुमति नपाउँदा अन्योलमा परेको थियो ।

अस्पतालमा स्थापना भएको ल्याब र यसको भौतिक संरचनाको विज्ञसहितको टोलीले तीन पटक अनुगमन गरी विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ल्याबको सबै पूर्वाधार पूरा गरेपछि आज कोरोना परीक्षणको स्वीकृत पाएको नगरप्रमुख श्रेष्ठले बताए ।

उनका अनुसार निर्देशक डा झा, डा रितु अमात्य, डा पियुश राजभण्डारी, डा मुकुन्दा शर्मा, लिली श्रेष्ठ ढुङ्गेललगायतको टोलीले अनुगमन गरी मापदण्डअनुसारको पूर्वाधारको व्यवस्था गरेपछि स्वीकृति पाएको हो ।

यसअघि भक्तपुर अस्पतालमा सङ्कलन भएको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदै आएकामा अब भक्तपुरको परीक्षण यही ल्याबमा मङ्गलबारदेखि नै परीक्षण शुरु गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

उनले भने, “पिसिआर परीक्षणको स्वीकृत पाएका छाैँ, भोलिबाट भक्तपुरको स्वाब यहीबाट परीक्षण हुन्छ, यही अस्पतालमा पनि स्वाब सङ्कलन एवं परीक्षण गर्नेछौँ, टेकुको प्रयोगशालामा भएको भीड कम गर्न अन्य जिल्लाको स्वाब पनि यही आउने विश्वास गरेका छौँ ।”

अब नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नै कोरोना भाइरस परीक्षण गर्न शुरु भएपछि यो अस्पताल कोरोना भाइरस परीक्षण गर्ने जिल्लामै पहिलो अस्पताल बनेको छ । नगरपालिकाले अस्पतालमा विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेशनदेखि क्वारेन्टिनसम्म तयारी अवस्थामा राखेको छ ।

नगरपालिकाले अस्पतालको अगाडि छुट्टै घर भाडामा लिएर पोलिमराइज चेन रिएक्सन (पिसिआर) मेशिनसहितको ल्याब सञ्चालनमा ल्याएको छ । अस्पतालले कोरोनाको उपचारका लागि चार भेन्टिलेटरसहितको सघन उपचार कक्ष र १६ आइसोलेशन वार्ड निर्माण गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

उनले भने, “अस्पतालमा २६ डाक्टर र पाँच कन्सल्टेन्टसहितको स्वास्थ्यकर्मीको टोलीलाई आवासीय सुविधासहित २४सै घण्टा अलर्टमा राखेका छौँ, कोरोना परीक्षण अब यही अस्पतालबाट शुरु गरिसक्यौँ, छ श्ययाको आइसोलेशन वार्ड सञ्चालनमा ल्याइसकेका छौँ, १० श्ययाको आइसोलेशन वार्ड तयारी अवस्थामा राखेका छौँ, उपचारका लागि हामी पूर्णरुपमा तयार छौँ ।” उनले पिसिआर परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिँदै मङ्गलबारदेखि दैनिक पिसिआर परीक्षण गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.