सेयर बजारमा विद्युतीय कारोबारको सीमा हट्यो, अब जति पनि भुक्तानी गर्न सकिने

  २०७७ असार १० गते १२:०८     विकासन्युज

काठमाडौं । सेयर बजारमा विद्युतीय तथा मोबाइल बैंकिङ प्रणालीबाट हुने कारोबारको सीमा हटेको छ । यस्तो कारोबारमा लगाइएको सीमाको कारण सेयर बजार खोल्न सकिने भन्दै धितोपत्र बोर्डले नै बजार बन्द गराएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी हाल विद्युतीय र मोबाइल बैंकिङ प्रणालीबाट हुने भुक्तानीको सीमा हटाएको हो । यसअघि मोबाइल बैंकिङमा दैनिक १ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्म कारोबार गर्न पाइने व्यवस्था थियो ।

यस्तै, इन्टरनेट बैंकिङको मर्चेन्ट पेमेन्टमा दैनिक १० लाख रुपैयाँ र मासिक ३० लाख रुपैयाँ तथा अकाउन्ट ट्रान्सफरमा दैनिक १० लाख रुपैयाँ र मासिक ५० लाख रुपैयाँसम्मको सीमा तोकिएको थियो ।

तर, कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न भन्दै सरकारले जारी गरेको लकडाउनको समयमा कारोबार गर्न अप्ठेरो परेकोले सेयर कारोबारमा यस्तो सीमा हटाउनु पर्ने सुझाव पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकलाई दिएको थियो । बोर्डको सुझाव अनुसार नै राष्ट्र बैंकले सेयर कारोबारको भुक्तानीमा हुने सीमा हटाएको छ ।

कारोबारको सीमा हटाइएपनि एक पटकमा कति रकम भुक्तानी गर्न पाइने भन्ने विषयमा भने राष्ट्र बैंकले सीमा तोकेको छ । भुक्तानी प्रक्रियमा अपनाउनु पर्ने सावधानी र कारोबार सहज पनि बनाउनु पर्ने अवस्थाको कारण एक पटकमा कति रकम मात्रै ट्रान्सफर गर्न पाइने भनेर सीमा अझै कायम रहेको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेलले जानकारी दिए ।

‘सेयर किन्ने व्यक्तिले मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्ने हो भने एक पटकमा १ लाख रुपैयाँ र इन्टरनेट बैंकिङबाट भुक्तानी गर्ने हो भने एक पटकमा १० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न पाइन्छ, त्योभन्दा बढी रकम भुक्तानी गर्नुपर्यो भने अर्काे पटक पठाउनु पर्ने भयो, पहिला एक दिनमा १ लाख रुपैयाँ र १० लाख रुपैयाँको सीमा थियो, अब त्यो सीमा छैन, एक पटकमा १ लाख र १० लाखको सीमा छ, एक दिनमा जतिपटक पनि यसरी रकम भुक्तानी गर्न पाउने व्यवस्था मिलाएर सीमा हटाएका छौं,’ कार्यकारी निर्देशक कडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.