२०७७ असार १० गते १८:१६ विकासन्युज
काठमाडौं । कर्मचारी सञ्चय कोषले २२ अर्ब ४४ करोड रुपैयाँ सेयरमा लगानी गरेको छ । जुन प्रतिशतका आधारमा ६.६९ प्रतिशत हो ।
२०७६ असार मसान्तको क्षेत्रगत लगानी सार्वजनिक गर्दै कोषले एक वर्षमा उक्त रकम सेयरमा लगानी भएको जनाएकाे छ । त्यस्तै, सञ्चयकर्तालाई एक खर्ब ८१ अर्ब रुपैयाँ सापटी दिएको छ । जुन काेषले गरेकाे क्षेत्रगत लगानी मध्ये सबैभन्दा बढी अर्थात ५३.४६ प्रतिशत हो ।
बैंकको मुद्दती निक्षेपमा ७८ अर्ब ७९ करोड रुपैयाँ र परियोजना कर्जामा ५२ अर्ब १९ करोड रुपैयाँ लगानी रहेको छ । त्यसैगरी, सरकारी सुरक्षण पत्रमा ५३ करोड र व्यवसायिक भवनमा ७२ करोड रुपैयाँ रहेको कोषले जनाएको छ ।
कोषले कर्मचारी सञ्चय कोष ऐन, २०१९ ले गरेको व्यवस्था अनुरुप वर्षभरको कामकाजको वार्षिक विवरण नेपाल सरकारलाई पेश गरेको छ । कोषले आर्थिक वर्ष २०७५/७६( २०७५ साउन १ गते देखि २०७६ असार मसान्तसम्म)को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण असार ९ गते अर्थमन्त्री युवराज खतिवडालाई बुझाएको हो ।
त्यस्तै, कोषको सञ्चयकर्ता संख्या बढेर ६ लाख २७ हजार पुगेको छ । कुल वित्तीय स्रोत ३ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ, सञ्चित सञ्चय कोष बढेर ३ खर्ब ९ अर्ब ८५ करोड र कर्जा तथा लगानी रकम बढेर ३ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी, कुल आम्दानी रकम २९ अर्ब ९६ करोड र मुनाफा रकम ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । कोषको मुख्य कार्यालय ठमेल सहित सातवटै प्रदेशमा शाखा कार्यालय रहेको र कुल ४५२ जना कर्मचारीमा महिलाको संख्या एक सय रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.