स्वदेश फर्केका युवालाई चार प्रतिशतमा सहुलियत ऋण दिने

  २०७७ असार १४ गते १८:५१     विकासन्युज

कास्की । कोभिड-१९ का कारण रोजगार गुमाएर स्वदेश फर्केकालाई लक्षित गर्दै कास्कीको रुपा गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रममलाई प्राथमिकता दिएको छ ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम र बजेटमार्फत कोरोना महामारीका कारण रोजगार गुमाएर स्वदेश फर्किएका युवालाई लक्षित गरेर स्वरोजगार बनाउने र उद्यम गर्न चाहनेलाई सहुलियत ऋण दिने नीति ल्याएको बताए ।

उनले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार बन्ने वातावरण सिर्जना गर्ने कार्यक्रमलाई जोड दिएर युवालाई चार प्रतिशतमा सहुलियत ऋण प्रदान गरिने बताए । गाउँपालिकाले युवा तथा स्वरोजगार शीर्षकमा एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

सात वडा रहेको गाउँपालिकामा करिब चार हजार ५०० घरधुरी छन् भने २२ हजार जनसङ्ख्या रहेको छ । गाउँपालिकाले घरघरमा गएर वैदेशिक रोजगारबाट फर्कन चाहनेको तथ्याङ्कसमेत सङ्कलन गरेको छ । एक हजार ८८१ युवा दशैँसम्ममा स्वदेश फर्कन चाहेको तथ्याङ्क गाउँपालिकासँग छ । विदेशबाट आएका ६०० र स्वदेशका ४०० गरी करिब एक हजार जनालाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत ऋण प्रदान गर्ने गृहकार्य गाउँपालिकाको छ । उनीहरुका लागि पशुपालन, कृषि, साना उद्योग र घरेलु उद्योगमा ऋण प्रदान गरिनेछ ।

गाउँपालिकाले आगामी वर्षलाई कृषि वर्षका रुपमा मनाउने तयारीका साथ कार्यक्रम अगाडि सारेको छ । कृषि वर्षका लागि रु एक करोड १६ लाख बजेट विनियोजन गरिएको छ । गाउँमा उत्पादिन कृषिउपज कृषि एम्बुलेन्समार्फत निःशुल्करुपमा बजारमा पुर्याउने, फलफूल तथा तरकारीको बिरुवा सहज बनाउने, एक वडा एक नर्सरी स्थापना गर्ने साथै एक घर एक करेसाबारी कार्यक्रम अघि सारेको छ ।

गाउँपालिकाले कृषकको सहजताका लागि घरघरमा मोटरसाइकलबाट प्राविधिक सेवासमेत पुर्याउँदै आएको छ । त्यसैगरी पशुपालनमा सहुलियत ऋण, उन्नत जातको पशुपालनका लागि कृत्रिम गर्भाधानमा शतप्रतिशत अनुदान दिने कार्यक्रम सार्वजनिक गरेको अध्यक्ष ओझाले जानकारी दिए । पशुपालन क्षेत्रका लागि गाउँपालिकाले ९४ लाख रूपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले हालै आव २०७७/७८ का लागि ४३ करोड १६ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ पाँच करोड एक लाख २४ हजार रूपैयाँ र पूँजीगततर्फ १८ करोड ८० लाख २४ हजार रूपैयाँ विनियोजन गरेको अध्यक्ष ओझाले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.