केपी शर्मा ओलीः प्रधानमन्त्री कि सरकारका प्रवक्ता ?

  २०७७ असार २६ गते २२:१०     सन्ताेष राेकाया

काठमाडौं । शुक्रबार राति प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले सामाजिक सञ्जालमा ट्विट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने जानकारी दिए । उनले सामाजिक सञ्जालमा जानकारी गराएको केही बेरमै प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने सन्देश देशभर फैलियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने समाचार धेरै सञ्चारमाध्यमका हेडलाइन बने । धेरै सञ्चारमाध्यमले यो विपत र जोखिमको समयमा एक्कासी प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने भनेपछि कोरोना र बाढी पहिरोबाट पीडित नागरिकलाई राहत लिएर आएका हुन् कि भन्ने पनि समाचार बनाए ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरससँगै देशभर गएको बाढी पहिरोले समस्यामा परेका नागरिकहका लागि थोरै भएपनि प्रधानमन्त्री ओलीले राहात घोषणा गर्छन् कि भन्ने अनुमानका आधारमा धेरैले समाचार लेखे । त्यही समाचार पढेर राहत पाउने अपेक्षामा बसेका थिए कोराेना संक्रमित र बाढी पहिरो पीडितहरु । एउटा अचम्मको कुरा त के भने नेपाल टेलिभिजनमार्फत करिब १० मिनेट सम्बोधन गरेका प्रधानमन्त्री ओलीले एक शब्द पनि राहत भन्ने शब्द बोलेनन् ।

यतिखेर आम नागरिक ठूलो जोखिम र समस्यामा रहेको बेला उनले राहत घोषणा त के सरकार राहत ल्याउँछ भन्ने शब्द पनि बाचन गरेनन् । देशभर बाढी पहिरोले छिन्नभिन्न भएका नागरिकहरुलाई उनले उद्दारमा खट्न आग्रह गरे । सरकारले गर्नुपर्ने उद्दार र समस्यामा परेकाहरुका लागि दिनु पर्ने राहत उनले बोल्न चाहेनन् वा उचित ठानेनन् ।

शुक्रबार साँझसम्म मुलुकका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर ३५ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता छन् । २६ जना घाइते भएका छन् । धेरै समुदायले बाढी पहिराकै कारण वस्तीसमेत छोड्नु परेको अवस्था छ । ओलीले उनीहरुका लागि उद्दार बाहेक केही पनि बोलेनन् । उल्टै उद्दार पनि समुदाय र छिमेकीलाई गर्न आग्रह गरे ।

प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी छ । कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै वर्षा पनि जारी रहेकाले उद्धारमा कठिनाइ छ । उनीहरुको उद्दारका लागि सरकारी स्तरबाट के कति काम भइरहेको छ ? कति जना जनशक्ति त्यहाँ खटिएको छ कुनै जानकारी उनले गराएनन् । सरकार प्रवक्ता अर्थात सरकारी अधिकारीलाई पत्रकारलाई तथ्यांङ्क दिए जस्तै तथ्यांक उनले सुनाए ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लाहरु अहिले कोरोनाको उच्च जोखिममा छन् । उपत्यकामा त दैनिक कोरोना संक्रमित बढ्दै गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका क्रममा कोरोनाविरूद्ध फ्रन्ट लाइनमा खटिट्ठएका चिकित्सक स्वास्थ्यकर्मी, उनीहरूमा आश्रित परिवारका लागि विशेष व्यवस्था गर्ने अपेक्षा थियो । तर त्यसको कुनै कुरा उनले सम्बोधनमा गरेनन् ।

कोराेनाको उपचारमा खटिने स्वास्थ्यकर्मी र चिकित्सहरुका लागि दिने भनिएको जोखिम भत्ता नपाएको गुनासो देशभरका स्वास्थ्यकर्मीहरुले गरिरहेका छन् । उनीहरुले असार मसान्तसम्म सो भत्ता पाइसक्नु पर्ने हो । तर, अहिले सम्म पाउने कुनै ठेगान छैन । देशभरबाट भत्ता पाउनु पर्ने आवाज उठिरहेको बेला उनले त्यसको बारेमा पनि कुनै शब्द उफारेनन् ।
बन्दबन्दीबाट उद्योग–धन्दा, कलकारखाना चौपट छन् । कृषि क्षेत्र समस्याग्रस्त छ । साना, सहकारी किसान मारमा छन् ।

व्यवसायीहरुले धमाधम साँचो घरधनी र बैंकलाई बुझाइरहेका छन् । उनीहरूलाई लक्षित गरेर सरकारले राहत प्याकेजको घोषणा गर्ने आशा गरिएको थियो । प्रधानमन्त्रीको सम्बोधनले उनीहरुलाई फेरि एकपटक निराश बनायो । यस्तै, सरकारले हिजो मात्रै सार्वजनिक गाडी सञ्चालन गर्ने निर्णय गरेको थियो । आज यातायात व्यवसायीहरुले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेसम्म गाडी नचलाउने अडान लिइसकेका छन् । आजै गाडी चलाउन सक्दैनौं भनेका उनीहरुले कतै प्रधानमन्त्रीले हाम्रा लागि राहत लिएर त आएनन् भन्ने कौतुहलता उनीहरुमा नहुने कुरै भएनन् । तर, यातायात व्यवसायीहरुलाई पनि उनको सम्बोधनले निराश बनायो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक दिँदै आएको प्रेस ब्रिफिङमा बताइने कोरोनाको तथ्याकं जस्तै कपि पेष्ट गरेर आएका प्रधानमन्त्री ओली कोरोनाको र बाढी पहिरोबाट ज्यान गुमाउनेहरुको अपडेट दिन उपस्थित भएका हुन् कि देशवासीको नाममा सम्बोधन गर्न आएका हुन् त्यो भने उनको सम्बोधनको पूर्णपाठले स्पष्ट बताउँछ ।

त्यति मात्र हाेइन उनले उनले सरकारका प्रवक्ता तथा अर्थ र सुचना तथा सञ्चार प्रविधि मन्त्री डा.युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाए जसरी सरकारी अधिकारीबाट लिखित कोरोना र बाढी पहिरोबाट भएको मानविय क्षतिको विवरण सुनाए ।

उनले आपतकालिन रुपमा गृहमन्त्रालयद्वारा जारी हुने बाढी पहिरोबाट मृत्यु र बेपत्ता हुनेको तथ्यांक सार्वजनिक गरे जस्तो गरे । यस्तो विपत र समस्यामा परेका नागरिकलाई थोरै भएपनि राहत घोषणा गर्नुको सट्टा उनले पीडितको आलो घाउमा  पीडितलाई एकपटक झन विगत सम्झिन  र मृत्युु भएका परिवारलाई सम्झेर झन तनाव थुपार्ने काम  उनले गरे ।

आम सर्वसाधारण, व्यवासयी र स्वास्थ्यकर्मीहरुको समस्या र जोखिम प्रधानमन्त्रीको सम्बोधनले सम्बोधन गर्न सकेन । गफ गर्न  माहिर प्रधानमन्त्री ओलीले उल्टै आफ्नो नेतृत्वको सरकार नागरिकको जीवन रक्षामा केन्द्रित भएको भन्ने गफ दिन छुटाएनन् ।

उनले उल्टै देशका विभिन्न ठाउँमा बाढी पहिरोमा फसेका नागरिकलाई वर्तमान घिनलाग्दो राजनितीको गफ सुनाएर बिदा मागे । रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने देखावटीपन देखाएर उनले सम्बोदनको अन्त्य गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.