२०७७ असार ३१ गते ७:४८ विकासन्युज
काठमाण्डौ । झण्डै एक महिना लगातार भएका उद्धार उडानहरु दुई दिन यता रोकिएसँगै सरकारले फेरि आजदेखि उद्धार उडान सूचारू गरेको छ । यसअघि दुई दिन उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
आजदेखि साउन ६ गतेसम्मकाे उद्धार उडान तालिका सार्वजनिक भएको छ । विदेशमा अलपत्र परेका नेपालीहरू स्वदेश फिर्तीका लागि विभिन्न देशबाट याे हप्ता ४२ उडान हुने पर्यटन मन्त्रालयले जनाएको छ । आजै नै कार्गो गरी ६ अन्तर्राष्ट्रिय उडान हुँदैछ ।
नेपाल एयरलाइन्स कुनमिङ्गबाट, सिल्क एयर सिङ्गापुरबाट र मलेसियन एयरलाइन्सको जहाज मलेसियाको क्लालाम्पुरबाट नेपाल आउँदैछन् । भने यूएईको आबुधाबीबाट हिमालय एयरलाइन्सका दुई जहाज नेपाली लिन जाँदैछन् । हिमालयको अर्को जहाज आजै कुनमिङ्ग जाँदैछ ।
एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय एयरलाइन्सले १६ वटा र नेपाल एयरलाइन्सले १६ उडान भर्नेछन् । त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एयर अरेबियाले २, फ्लाई दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् ।
जजिरा एयरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ । नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मलेसिया लगायतका ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् ।
कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई अहिले विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ । साउन ६ पछि अवस्था विश्लेषण गरेर नियमित उडान गर्ने या अहिलेझैं चार्टर्ड उडानमार्फत स्वदेश फिर्ती गराउने भन्नेबारे छलफल भइरहेको छ । गएको जेठ ३२ गतेदेखि सरकारले विभिन्न देशबाट समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानलाई अनुमति दिइरहेको छ ।
नेपालीको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र अन्य विदेश जहाजहरु सलाम एअर, एअर अरेबिया, फ्लाई दुबई, कतार एअरवेज, टर्किस् एअरलाइन्स, मलिण्डो एअर, जजिरा एअर, कोरियन एअर लगायतले उडान भरेका छन् । हालसम्म अलपत्र परेका करिब २७ हजार नेपाली स्वदेश फर्किएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.