२०७७ साउन ५ गते १७:२८ विकासन्युज
काठमाडाैं । मनसुनी बर्षाको कारण बाढी पहिरोले जनधनको क्षति भइरहेको र कोभिडले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभरी प्रतिकार्य तीब्र बनाएको छ ।
सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो अति प्रभावित जिल्लाहरुका दुइसय पच्चीस परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्णसेट उपलब्ध गराएको छ । वितरित सामग्री सेटमा तार्पोलिन-१, कम्बल-२, महिलाको सारी-१, सिलाउने कपडा-१४.५ मीटर, भाँडाकुडा सेट-१, बाल्टी-१ र नाइनलको डोरी १० मिटर लगायतका सामग्री छन् । त्यसरी वितरित सामग्री सेटको प्रतिसेटको मूल्य १० हजार रूपैयाँ रहेको छ ।
‘अहिलेसम्म २५ लाख मूल्य वढीको सामग्री प्रत्यक्ष प्रभावित परिवारलाई उपलव्ध गराइएको छ र ५ हजार परिवारसम्मलाई सहयोग गर्ने तयारीमा छौँ । नेपाल रेडक्रसका विपद् व्यवस्थापनका निर्देशक मोना अर्यालले बताए ।’ उनले भने- ‘नेपाल सरकारसमेतको समन्वयमा बनाइएको मनसून पूर्वतयारी योजना मुताविक हामीले उद्धार, राहत सेवा पुर्याइरहेका छौं ।’
यसका अतिरिक्त तत्कालको आवश्यकता अनुसार ५८२ वटा तार्पोलिन, ३९२ वटा कम्मल, १५ सेट भाँडाकुडा र २ वटा टेन्ट प्रभावितलाई उपलव्ध गराइएको छ ।
बाढी पहिरोले आजसम्म कम्तिमा दुइहजार चारसय अठतीस परिवार विस्थापित भएको र ३ हजार ३ सय ५७ परिवारलाई गम्भीर असर परेको रेडक्रसको प्रारम्भिक अनुमान छ । त्यस्तै प्रारम्भिक प्रतिवेदन अनुसार चारसय पन्ध्र घर पूर्णक्षति भएका र ५ सय ६५ घरमा आंशिक क्षति पुगेको नेरेसोका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।
बाढी प्रतिकार्यको लागि ३४ वटा टोली देशभरी परिचालित भएका छन् ।
यसैबीच हिजो सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले विस्थापित भएका २० परिवारलाई तत्कालै राहत सामग्री उपलव्ध गराइएको छ । त्यस्तै जाजरकोटको बारेकोटमा पनि पहिलो चरणको राहत सामग्री पुर्याइएको छ ।
‘रेडक्रसका निकायहरुले स्थानीय स्रोत परिचालन र स्थानीय तहसँग गरेको समन्वयमार्फत् पुर्याएको सेवा अतुलनीय छ । म्याग्दीको पश्चिमी भेगमा गएको पहिरोमा सडक अवरुद्ध हुँदा स्थानीय पहलमा हेलीकप्टरको प्रयोग गरी प्रभावित क्षेत्रमा सामग्री पुगेको छ ।’- निर्देशक पौडेलले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.