नेपाली हवाई उडानलाई युरोपका देशहरुमा अनुमति दिन अर्थमन्त्रीको अनुरोध

  २०७७ साउन ५ गते १७:३२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली हवाई उडानलाई युरोपका देशहरुमा उड्न अनुमति दिन अनुरोध गरेका छन् । सोमबार अर्थमन्त्री खतिवडाले नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत वेरोनिका कोडीसँग भेडवार्ता गर्दै सो अनुरोध गरेका हुन् ।

अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति लगायत हवाई सुरक्षा सम्बन्धी कार्यमा नेपाल सरकारले उच्च प्राथमिकता दिएको र युरोपियन पर्यटकहरुको गन्तव्य नेपाललाई बनाउने प्रयास रहेको सन्दर्भमा युरोपियन युनियनले नेपालको युरोपका देशहरुमा हुने उडानलाई अनुमति दिन अनुरोध गरेका हुन् ।

आफ्नो ३ बर्षे कार्यकाल पुरा गरी ब्रसेल्स फर्कन लागेकी राजदूत कोडीसँग भेटवार्ता गर्दै खतिवडाले युरोपियन युनियनले नेपालको आर्थिक विकासमा पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद समेत दिएका छन् ।

उनले बहुधु्रवीय विश्व निर्माणमा युरोपियन युनियनले महत्वपूर्ण वैकल्पिक राजनीतिक शक्तिको भूमिका निर्वाह गरेको, नेपाल युरोपियन युनियनसँगको सहकार्यलाई थप उचाईमा लैजान इच्छुक रहेको र सवल युरोपको पक्षमा रहेको धारणा व्यक्त गरे ।

उनले युरोपियन युनियनले नेपालको व्यापार, रोजगारी, लगानी, पर्यटन र आर्थिक पुर्नउत्थानमा योगदान बढाउन सक्ने विश्वास व्यक्त गदैं नेपालले पाउने बजेट सहायताले नेपालप्रतिको विकास साझेदारको विश्वासलाई प्रतिविम्वित गरेको उल्लेख गरे ।

उनले आर्थिक÷वित्तीय÷श्रम लगायत हवाई यातायात, पर्यटन क्षेत्रमा नेपालले आफ्नो प्राथमिकता बढाएको र आर्थिक तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनी व्यवस्था गरी सुशासन, पारदर्शिता र सुधारप्रति प्रतिवद्धता सुदृढ गरेको कुरा जानकारी गराए ।

उनले धेरै किसिमका विश्वव्यापी एजेण्डामा नेपाल र युरोपियन युनियन सहकार्यमा रहेको बताउँदै साझा हितका सवालमा संगसंगै प्रगति गर्दै जानुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.