२०७७ साउन ६ गते १३:४७ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यका भित्र गुड्ने अधिकांश सवारी साधनहरुले सरकारले भनेको ५० प्रतिशत बढी भाडा नलिएको बुझिएको छ । नेपाल सरकारले ५० प्रतिशत बढी भाडा लिएर गाडी चलाउन पाउने निर्णय गरेपनि धेरै यातायात व्यवसायीहरुले भने ५० प्रतिशत बढी भाडा नलिई गाडी चलाइरहेका छन् ।
काठमाडौंमा सबैभन्दा अगाडि सवारी साधन चलाउने सुन्दर यातायातले सरकारले भनेको ५० प्रतिशत बढी भाडा नलिएको बताएको छ । सुन्दर याताषतका अध्यक्ष भेष बहादुर थापाले आफुहरुले गाडी सुरु गरेदेखि अहिलेसम्म सरकारले भनेको ५० प्रतिशत बढी भाडा नलिएको बताए ।
‘सरकारले ५० प्रतिशत बढी भाडा लिन पाइने भनेर निर्णय गरेपनि हामीले त्यो ५० प्रतिशत भाडा लिएका छैनौं, पुरानै भाडा दरमा हामीले यात्रुबाट भाडा लिइरहेका छौं,’ उनले भने ।
उनले कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा सर्वसाधारणहरुलाई पनि धेरै समस्या भएकोले आफुहरुले भाडा नबढाएको बताएका छन् । यस्तै, काठमाडौं उपत्यकामा गुड्ने अधिकांश बस तथा टेम्पोहरुले पनि पुरानै भाडादरमा यात्रुहरुलाई बोकिरहेको बताइएको छ ।
विगत ३ महिनादेखि ग्यारेजमै थन्केका सवारी साधनहरु अहिले केही मात्रामा सडकमा देखिन थालेका छन् । हिजो मात्रै सरकार र यातायात व्यवसायीबीच गाडी चलाउने सम्बन्धि सहमति भएको छ ।
यस्तै, सोमबार बसेको मन्त्रिपषिद् बैठकले पनि एक जिल्लाबाट अर्को नजिका जिल्लामा गाडी चलाउन सकिने निर्णय गरेको छ । अब केही दिनपछि लामो दुरीका सवारी साधन पनि चल्ने सरकारले निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।
कोरोना भाइरसका र त्यसपछिको लकडाउनका कारण देश मात्र होइन विश्व नै तहस नसह भएको छ ।
संक्रमणको भयका कारण भएको बन्दाबन्दीले जनजीवन प्रभावित भएको हो । यसले गर्दा हरेक पेशा र ब्यवसाय धरापमा परेका छन् । कोरोना र त्यसपछिको लकडाउनका कारण यातायात क्षेत्र त झनै समस्यामा परेको व्यवसायीहरूको गुनासो छ । सरकारले कोरोनाको त्रासले पुरा मान्छे नबोक्न आग्रह गरेको छ । कोरोना भाइरसको त्रासका कारण गत चैत ११ गतेबाट देशमा लकडाउन छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.