‘परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार भइरहेको छ’

  २०७७ साउन ९ गते १७:१६     विकासन्युज


काठमाडाैं । नेपाली कांग्रेसले सरकारले परिक्षणको दायरा घटाएर कोभिड-१९ संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको बताएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं कांग्रेसद्धारा गठित कोभिड-१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको परीक्षणको दायरा घटाएर संक्रमण घटेको भन्दै भ्रामक प्रचार गरेको बताए ।

कोभिड-१९ संक्रमण नियन्त्रणमा सरकारले गरेको काम सम्बन्धमा कांग्रेसको धारणा सार्वजनिक गर्न पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संयोजक महतले सरकारले लकडाउन अन्त्य गर्न हठात निर्णय गरी भ्रामक प्रचार गरेको बताएका हुन् । सरकारले लकडाउन खोलेपछि स्वास्थ्य सुरक्षाको प्रोटोकल र त्यसको कार्यान्वयन गर्ने तयारीको बारेमा कुनै काम गर्न नसकेको आरोप समेत लगाए । राजस्व उठाउन र लकडाउनबाट उत्पन्न समस्या समाधानको दायित्वबाट पन्छिन सरकारले हठातमा लकडाउन खोलेको स्पष्ट भएको महतले बताए । उनले आर्थिक सामाजिक जीवन सहज बनाउन सबैले चाहेको तर त्यसका लागि सरकारले पूर्व तयारी गर्नुपर्नेमा हतारमा निर्णय गरेकाले जोखिम बढेको बताएका छन् ।

पछिल्लो समय वीरगञ्ज, राजविराज लगायतका ठाउँमा देखिएको संक्रमणको प्रकृतिले संक्रमण समुदायमा फैलिएको स्पस्ट हुने महतले बताए । समुदायमा फैलन सक्ने संक्रमणको नियन्त्रणका लागि सकरारले परीक्षण गर्ने, ट्रेसिङ गर्ने, उपचार र स्वास्थ्य उपकरणको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको सेवा र सुविधामा बढाउने काममा सरकार कमजोर रहेको भन्दै त्यसतर्फ ध्यान दिन माग गरे ।

सरकारले होल्डिङ सेन्टर र क्वारेन्टाइनको मापदण्ड अनुरुप सञ्चालन गर्न गम्भिर नभएको बताए । लकडाउनबाट प्रभावित उद्योग, व्यवसाय क्षेत्रको समस्या समाधानमा नीतिगत घोषणा गरेको पनि कार्यान्वयनमा चासो नदेखाएको उनले बताए । लकडाउन खोल्ने निर्णय गरेपछि नागरिकलाई संक्रमणको खतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने तर्फ सरकार गम्भीर नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.