२०७७ साउन १४ गते १३:१६ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सगुन इन्कर्पोरेशन कम्पनीमा लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको छ । सगुनलाई लक्षित गर्दै बोर्डले बुधबार एक सूचना जारी गरी विदेशमा दर्ता भएका सगुनजस्ता अन्य कम्पनीको सेयरमा लगानी नर्गन आग्रह गरेको हो ।
अमेरिकामा दर्ता भएको सगुनले नेपालका लगानीकर्तालाई लक्षित गरी मिनि आईपीओ जारी गरेको विभिन्न सञ्चारमाध्यममा आएसँगै बोर्डले उक्त आग्रह गरेको हो । नेपालीलाई अमेरिकी कम्पनीकाे मालिक बनाउने भन्दै सगुनले गरेकाे प्रचारप्रसार गैरकानुनी रहेकाे बाेर्डले बताएकाे छ।
बोर्डको स्वीकृत बिना नेपालमा धितोपत्रको निष्काशन गर्ने काम गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने बोर्डले जनाएको छ ।
‘सगुन जस्ता अन्य कम्पनी जसले बोर्डबाट स्वीकृत प्राप्त गरेका छैनन्, त्यस्ता कम्पनीकाे सेयरमा लगानी नगर्न आग्रह गरिएकाे हाे । यदि त्यस्तो गरेको पाइएमा धितोपत्र ऐन अनुसार कारबाहीको प्रकृया अघि बढाइने छ ।’- बाेर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।
त्यसैले, लगानीकर्ताले कुनै कम्पनीमा लगानी गर्नु अघि त्यस कम्पनीले बोर्डबाट स्वीकृति पाएकाे/नपाएकाे हेरेर वा बुझेर मात्रै लगानी गर्न उचित हुने उनले भने ।
‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७(१)मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९(१)मा संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने’ व्यवस्था रहेको छ ।
सम्बन्धित समाचारः
Copyright © 2024 Bikash Media Pvt. Ltd.