२०७७ साउन १५ गते १९:१७ विकासन्युज
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकाे कार्यसमितिकाे बैठक साउन २१ गते बस्ने भएकाे छ । साउन २६ र २७ गते ताेकिएकाे साधारणसभा र निर्वाचन मिति स्थगित गर्ने पदाधिकारीकाे निर्णयमा असन्तुष्ट जनाउँदै एशाेसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित २२ जनाले कार्यसमितिकाे बैठक माग गरेपछि साउन २१ गतेकाे लागि बैठक बाेलाइएकाे हाे ।
बैठककाे मिति २१ गते ताेकिएकाे र विहीबार नै पत्राचार भएकाे महासंघका महानिर्देशक धरणिधर खतिवडाले बताए ।
चैत अन्तिम साता तय भएकाे महासंघकाे साधारणसभा र निर्वाचन कोभिड-१९ संक्रमणका कारण पटक पटक स्थगित हुँदै आएको छ। पछिल्लो पटक महासंघका पदाधिकारी र पूर्व अध्यक्षको बैठकले सभा सम्मेलन खुला भएको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय गरेको थियो।
बरिष्ट उपाध्यक्षमा उम्मेदवारी घाेषणासहित निर्वाचनकाे तयारीमा रहेका एशोसिएट उपाध्यक्ष चन्द्र ढकाल समूहले पदाधिकारीकाे बैठककाे निर्णयकाे भाेलिपल्ट नै पत्रकार सम्मेलन गरेर विराेध गरेकाे थियाे । गत साता नै उनीसहित २२ जनाको हस्ताक्षरमा कार्यसमिति बैठक डाक्न अध्यक्षसँग माग गरेका थिए ।
किशोरकुमार प्रधान समूहले सोमबार साधारणसभा र निर्वाचनको लागि कार्यसमिति बैठक बोलाउन महासंघमा निवेदन दिएको छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.