८ वर्षमा एशियन लाइफको जीवन बीमा कोष १० गुणाले वृद्धि भएको छ-राजेश कुमार श्रेष्ठ

  २०७७ साउन २० गते १४:१०     विकासन्युज

राजेश कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत-एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

२०१६ सालमा विरगञ्जमा जन्मनु भएका राजेश श्रेष्ठले २०४१ सालमा त्रिभुवन विश्वविद्यायलबाट एमबीए गरी २०४२ सालमा सोल्टी होटलबाट पेशागत यात्रा शुरु गर्नु भयो । २०४३ सालमा नेपाल बैंकमा अधिकृत हुनुभयो । बैकिङ सेवामा रहदारहदै कानुन विषयमा स्नातक (विएल) डिग्री पनि लिनुभयो । १७ वर्ष नेपाल बैंकमा काम गरेपछि उहाँ २०५९ पुसमा एनसीसी बैंकमा प्रवेश गर्नुभयो । एनसीसी बैंकमा रहँदा विरगञ्ज शाखा प्रबन्धक, काठमाडौं शाखा प्रबन्धक, आन्तरिक लेखापरिक्षण प्रमुख भएर काम गर्नुभयो । २०६३ साल फागुनमा उहाँ महालक्ष्मी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत हुनुभयो । उक्त फाइनान्समा ५ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेपछि २०६९ साउन २१ गतेदेखि एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत भएको आज ठिक ८ वर्ष पूरा भएको छ ।

८ वर्षमा उहाँले के गर्नुभयो, के गर्न सक्नुभएन ? २०६४ सालमा खुलेका ४ कम्पनी मध्ये एशियन लाइफ इन्स्योरेन्स कम्पनी कसरी अगाडि आयो ? एशियनको सबल पक्ष के हुन् ? एउटा बैंकको सीईओ पद जति ग्ल्यामर देखिन्छ, बीमा कम्पनीको सीईओ किन हुँदैन ? प्रस्तुत छ विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस ।


तपाई बैंकिङ पृष्ठभूमिबाट बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा आउनुभयो । बीमा कम्पनीको ८ वर्ष सीईओ भईसक्नुभयो । बैंकको सीईओ निकै ग्ल्यामरस देखिन्छ, इन्स्योरेन्सको सीईओमा त्यो देखिन्न, किन ?

तपाईले सहि कुरा गर्नुभयो । बैंकको सीईओ र बीमाको सीईओमा फरक नै ग्ल्यामरको हो । हुन त बैंकिङ र बीमा दुबै व्यवसायिक संस्था हुन्, सेवा प्रदायक संस्था हुन् । फरक के छ भने बैंकको सीईओ र ग्राहकबीच प्रत्यक्ष सम्पर्क हुन्छ । कर्जा लिन, व्याजदर घटाउन, निक्षेपको सुरक्षा गरिदिन वा निक्षेपमा बढी व्याजको लागि नेगोसिएट गर्न मानिसहरु बैंकका सामान्य कर्मचारी देखि सीईओसम्म पुग्छन् । मार्केटिङ भ्यूबाट हेर्दा पनि बैंकका कर्मचारी, सीईओहरु ग्राहकको ढोकाढोकामा पुग्नै पर्छ, कर्जाको लागि वा निक्षेपको लागि । यसले ग्राहक र बैंकका कर्मचारीबीच अन्तर्क्रिया र सम्बन्ध राम्रोसँग हुन्छ ।

तर बीमा कम्पनीको कर्मचारी वा सीईओ बीमितसँग प्रत्यक्ष अन्तर्क्रिया वा सम्बन्ध हुँदैन । अभिकर्ता मार्फत बीमा गराइन्छ । अभिकर्ताहरु नै बीमितको ढोकाढोकामा पुगेका हुन्छन् । मैले सुनेको थिए इण्डियामा ‘बि वेयर अफ दी इन्स्योरेन्स एजेन्ट’ भनेर ढोकामा टाँस्थे रे । बीमा अभिकर्ता पटक पटक आउँछन्, विजनेशको कुरा गरेर झन्झट गर्छन् भनेर । नेपालमा पनि बीमाको बुझाई कम छ । ३ लाखको मोटरसाईकल किनेर तुरुन्त बीमा गर्छन्, तर आफ्नो जीवन बीमा गर्दैनन् । आफ्नो जीवन अमूल्य छ भनेर मानिसहरुले बुझेका छैनन्, हामीले बुझाउन सकेका पनि छैनौं ।

सामाजिक दृष्टिकोणमा पनि फरक छ । समाजमा पनि परिचय गराउँदा उहाँ त फलानो बैंकको सीईओ, फाइनान्सको सीईओ हुनुहुन्छ भनेर चिनाउँछन् । बीमा कम्पनीको सीईओलाई चिनाउँदा ‘उहाँ बीमा कम्पनीमा काम गर्नुहुन्छ’ भनेर चिनाउँछन् । बैंकको कर्मचारी भनेपछि मान्छे नजिक हुन खोज्छन् । आज पनि नचिनेको बैंकबाट कर्जा लिन निकै गाह्रो हुन्छ । चिनेको छ भने सजिलो हुन्छ । चिनेको मान्छेलाई निक्षेपमा प्वाइट ५ प्रतिशत बढी व्याज दिने अधिकार हुन्छ । कर्जामा कम व्याज गरिदिनसक्छ । यस्ता आशा भनौं वा लोभले मानिसहरु बैंकका कर्मचारी वा सीईओसँग नजिक हुन्छन् । तर त्यहि बीमा अभिकर्ता भनेपछि मान्छेहरु टाढाटाढा हुन खोज्छ । त्यस्तै, बैकिङ सेवा सबैलाई आवश्यक परिरहेको हुन्छ भने जीवन बीमाको पैसा बचत भएपछि गरौंला भन्ने मानिसहरुको सोच हुन्छ । त्यसैले बैंकिङ क्षेत्र ग्ल्यामर जबको रुपमा आउँछ भने बीमा त्यति ग्ल्यामरसको रुपमा लिईंदैन ।

भविष्यमा पनि यस्तो होला वा परिवर्तन आउँला ?

समयसँगै मानिसको सोच पनि परिवर्तन हुन्छ । आवश्यकता पनि परिवर्तन हुन्छन् । कार्यप्रणालीमा परिवर्तन हुन्छ । हिजोको दिनमा बीमाले समयमा भुक्तानी दिँदैनन् भन्ने गुनासो थियो भने अहिले त्यो हटेको छ । हामी बीमा दावी भएको ३ दिनभित्र भुक्तानी गर्ने अभ्यास गरिरहेका छौं । दुर्घटनाको केसमा एक दिनमै दावी भुक्तानी गर्छौ । विगतमा यूनिटीले बीमाको नाममा ६/७ अर्ब उठाएर भाग्यो वा सरकारले कारवाही गरेपछि बन्द भयो । त्यसले बीमाप्रति धेरै मानिसको धारणा नराम्रो बनायो । अहिले परिस्थिति फरक हुँदैछ । बीमा गर्नुपर्ने रहेछ, अप्ठ्यारो अवस्थामा बीमाबाट लाभ हुँदो रहेछ भन्ने सन्देश समाजमा गएको छ ।

बैंकिङ क्षेत्रबाट आएको व्यक्ति, बीमा कम्पनी चलाउन कठिन भएन ?

बैकिङ पृष्ठभूमिबाट आएको व्यक्तिले बीमा कम्पनीको सीईओको जिम्मेवारी समाल्न नसक्ने भन्ने हुँदैन । व्यवस्थापकीय काम धेरै हुँदैन । प्राविधिक विषयहरुमा जान्ने मान्छेलाई जिम्मेवारी दिने, आफू पनि अपडेट हुँदै जाने नियमित प्रकिया नै हुन् । अनुभवजन्य भन्दा पनि अन्य प्रकृतिको चुनौतिहरु, कठिनाईहरु आए । जस्तै, यस कम्पनीको व्यवस्थापकीय नेतृत्वमा म आउँदै गर्दा यस कम्पनीले एक विषम परिस्थितिको सामना गरी रहेको थियो । कम्पनीले लाभांश वितरण सम्बन्धमा फरक निर्णय गरेको थियो । कम्पनीमाथि नियामकले एक प्रकारको कारवाही गरेको थियो । नियमनकारी निकायबाट जारी ६ प्रतिशतको इन्सेन्टिभ वितरणको कारण जीवन बीमा अभिकर्ताहरु असन्तुष्ट थिए, आन्दोलित थिए । कम्पनीका कर्मचारीहरु पनि असन्तुष्ट थिए । कम्पनीको उच्च व्यवस्थापनका व्यक्तिहरुले राजीनामा दिएका थिए । त्यस कठिन अवस्थामा कम्पनीलाई समाल्न स्वभाविक रुपमा गाह्रो भयो । हामीले संयमित रुपमा कम्पनीलाई अगाडि बढाउने प्रयास गर्यौं ।

पछि पनि हामीले गम्भिर र प्रतिकूल परिवेशको सामना गर्नुपर्यो । २०७२ सालको महाभूकम्पको सामना गर्नुपर्यो । आर्थिक वर्ष २०७३/७४ मा सरकारले थप १० वटा जीवन बीमा कम्पनीहरुलाई इजाजत दिएपछि बजारमा ठूलो तरङ्ग पैदा भयो । यस कम्पनीबाट करिब ५०/६० जना अनुभवी कर्मचारीहरु अन्य कम्पनीमा गएको कारण यस कम्पनीमा असहज अवस्था सिर्जना हुन गयो । उक्त समयमा खुल्न लागेका अधिकांश नयाँ कम्पनीहरुको लक्ष्य यसै एशियन लाईफ इन्स्योरेन्सका अनुभवी कर्मचारीहरुलाई २/३ पद माथि दिएर, दोब्बर तेब्बर तलब दिएर भए पनि ताना तान गर्ने अवस्था थियो । त्यस्तो संकटको घडीमा यस कम्पनीमा रहेका कर्मचारी साथीहरुले व्यवस्थापनलाई साथ दिई कम्पनीलाई बचाउन तथा व्यवसायमा वृद्धि गर्न समेत ठूलो सहयोग गरे जसको कारण आ.व.२०७४/७५ मा कम्पनीले प्रथम बीमा शुल्कमा ८१.८१ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भयो भने आ.व.२०७५/७६ मा प्रथम बीमा शुल्कमा ७१ प्रतिशतले वृद्धि भएको थियो ।

फेरी हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएको छ । यस परिवेशमा पनि कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा कुल बीमा शुल्क संकलनमा वृद्धि गर्न सफल भएको छ । महाभूकम्प गएको वर्ष पनि हामीले व्यवसाय वृद्धि गर्यौं । एकै पटक ठूलो संख्यामा अनुभवी कर्मचारीले छोड्दा पनि व्यवसाय वृद्धि गर्यौं । अनेक आपतविपत्का बावजुद पनि कम्पनीको ग्रोथ नियमित रह्यो । र, २०६४ सालमा स्थापना भएका चारवटा कम्पनीहरु मध्ये एशियन लाइफले आफूलाई अब्बल स्थानमा राखिराख्न सफल भएकाे छ ।

एशियन लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएको ८ वर्ष अवधिमा के कस्तो उपलब्धी भए ?

म यस कम्पनीको व्यवस्थापनमा आउँदा आ.व. २०६८/६९ मा, कूल बीमा शुल्क १ अर्ब ३ करोड रुपैयाँ थियो । जीवन बीमा कोष २ अर्ब १४ करोड रुपैयाँ थियो । २० वटा शाखा, ७० वटा उपशाखा थिए । अभिकर्ता संख्या करिब ४५ हजार रहेको थियो । आ.व. २०७६/७७ मा प्रथम बीमा शुल्क १ अर्ब ६७ करोड रुपैयाँ संकलन भएको छ । कुल बीमा शुल्क ४ अर्ब ५९ करोड रुपैयाँ संकलन भएको छ । जीवन बीमा कोष करिब २२ अर्ब रुपैयाँ भएको छ । शाखा संख्या ३६, उपशाखा संख्या १०४, अभिकर्ता संख्या करिब ९० हजार पुगेको छ ।

एशियन लाइफ इन्स्याेरेन्स कमपनीकाे बीमा शुल्क आम्दानी

यस अवधिमा जीवन बीमा कोषको वृद्धि असाध्यै राम्रो छ । ८ वर्षमा जीवन बीमा कोष १० गुणाले वृद्धि भएको छ । त्यस्तै, ८ वर्षमा बीमा शुल्क साढे ४ गुणाले वृद्धि भएको छ । नेटवर्कको कुरा गर्दा डोल्पा, मनाङ्ग र मुस्ताङ्ग वाहेक ७४ जिल्ला मै शाखा, उपशाखा कार्यालयहरु रहेका छन् । शाखा, उपशाखा कार्यालय नभएका जिल्लाहरुमा पनि अभिकर्ताको उपस्थिति रहेकोछ । ७७ वटै जिल्लामा हामीले व्यवसाय विस्तार गरेको छौं । ०६४ सालमा खुलेका अन्य जीवन बीमा कम्पनीहरु भन्दा एशियन लाइफ हरेक दृष्टिले अगाडि छ ।

जीवन बीमा क्षेत्रमा भईरहेका असल अभ्यास के के हुन्, सुधार गर्नुपर्ने विषय के के छन् ?

पछिल्लो समयमा १० वटा नयाँ कम्पनी खुलेपछि बीमा बजारको विस्तार उच्चदरमा भएको छ । नयाँ कम्पनीको प्रवेशपूर्व बीमा पहुँच ६/७ प्रतिशत मात्र थियो । अहिले २६ प्रतिशत पुगेको छ । एकै पटक १० वटा जीवन बीमा कम्पनी बजारमा आउँदा चुनौतिहरु पनि आए । सर्वाभाइबल अफ द फिटेस्टको अवस्था आयो । सबै कम्पनीहरु आफूलाई बचाउन र टिकाउन आक्रामक रुपमा अगाडि बढे । सबै कम्पनीहरुले कार्यक्षेत्र विस्तार गरे । सिस्टममा एकिकृत गर्दै लगेका छन् । अपरेशनलाई क्रमशः अटोमेशन गर्दै लगेका छन् । अभिकर्ता उत्पादनमा जोड दिने, ग्राहकको सेवास्तर वृद्धि गर्ने कार्यमा जोड दिए ।

८ वर्षअघि सुशासनको परिपालनाको मामलामा बीमा क्षेत्र पछाडि नै थियो । अहिले धेरै सुधार भएको छ । यस मामिलामा बीमा समितिको भूमिका धेरै राम्रो रह्यो । बीमाप्रतिको विश्वास बढाउनको लागि, बीमा कम्पनी बलियो बनाउनको लागि, बीमा बजार विस्तारको लागि, सर्वसाधारणमा बीमाको पहुँच बढाउनको लागि बीमा समितिले खेलेको भूमिका राम्रो छ । बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले आफ्ना संरचनाहरु परिवर्तन गरिरहेका छन्, कार्यप्रणालीमा परिवर्तन गरिरहेका छन् ।

नयाँ १० वटा कम्पनी आउनुपूर्व निदाएका थिए, नयाँ कम्पनी आएपछि पुराना कम्पनी पनि जागेका हुन् ?

यसलाई यसरी पनि नहेरौं । बीमाबारे जनचेतनाको कमी छ । आर्थिक अवस्थाले पनि मानिसहरुको लागि बीमा प्राथमिकताको सूचिमा धेरै पछाडि छ । अहिले पनि ७४ प्रतिशत मानिसले आफ्नो बीमा गराएका छैनन्र। पहिला बीमा कम्पनीहरु अलि सुसुप्त भएको र अहिले बढी जागरुक भएको कुरा त सहि नै हो । नयाँ कम्पनी आएपछि पनि उनीहरुको ग्रोथ पनि राम्रो देखिएको छ । पुराना कम्पनीहरुको पनि व्यवसाय वृद्धि भएकै छ ।

पछिल्लो समय बीमाको पहुँच वृद्धि हुनुमा बीमा अभिकर्ता इन्सेन्टिभ स्थीर हुनु पनि एउटा कारण हो । हामीसँग जीवन बीमाको इतिहास ५० वर्षको भईसक्यो । तर ४६ वर्षसम्म अभिकर्ताले पाउने इन्सेन्टिभ अस्थिर भयो । कहिले बढ्ने, कहिले घट्ने । त्यसले बीमा कम्पनी र अभिकर्ता एकदमै अन्यौलमा रहेको पाइन्छ । कतिपय अभिकर्ता पलायन भए । किनकी अस्थिरताले बीमा बजारप्रति विश्वास नै जागेन । अरुको भविष्यको आर्थिक सुरक्षा गर्न भनेर कार्यस्थलमा खट्ने अभिकर्ताले आफ्नै आर्थिक भविष्य असुरक्षित भएको कुरा हामीलाई सुनाउँथे । बीमा समितिको अध्यक्षमा चिरञ्जीवि चापागाईँ सर आउनुभएपछि इन्सेन्टिभ सम्बन्धि विवाद पनि टुङ्ग्याई दिनुभयो । इन्सेन्टिभ दर पनि स्थीर भयो । त्यसले पनि बजार विस्तारमा मद्दत गरेको छ । त्यस्तै, २०७२ सालमा महाभूकम्पले बीमाप्रतिको जनचेतना वृद्धिमा सहयोग गरेको छ । बीमाको महत्व सर्वसाधारणले बुझ्न थालेका थिए । यस परिवेशमा २०७४ सालमा नयाँ कम्पनी आए । विगत तीन वर्षमा आर्थिक वृद्धि दर पनि लगातार ६/७ प्रतिशत रह्यो । सर्वसाधारणको आय स्तर पनि वृद्धि भएको छ । यी सबै कुराले बजार विस्तारमा सहयोग गरेको छ ।

बीमा अभिकर्ताको इन्सेन्टिभ वृद्धि भएपनि, स्थीर भएपनि बीमा अभिकर्ताहरु अहिले पनि पूर्णकालिन भएका छैनन्, पार्टटाइम जबको रुपमा लिन्छन्, किन ?

जीवन बीमामा अभिकर्ताको ठूलो महत्व छ । अभिकर्ताहरु सन्तुष्ट नभएसम्म बीमा कम्पनीहरुको व्यवसाय विस्तार हुन पनि सक्दैन । अभिकर्ता कतिबेला सन्तुष्ट हुन्छन्, कतिबेला पूर्णकालीन हुन्छन् भने जब उनीहरु आर्थिक रुपमा सुरक्षित हुन्छन् । अन्तर्राष्ट्रिय अभ्यासको तुलनामा नेपालमा अभिकर्ताले पाउने इन्सेन्टिभ एकदमै कम पनि छैन, धेरै पनि छैन । मध्यमस्तरको रहेको छ ।

तपाईले नै भन्नुभयो एशियन लाइफमा ९० हजार जना अभिकर्ता छन् । अरु कम्पनीको डाटा पनि यस्तै उच्च देखिन्छ । तपाईहरुले देखाउने सबै अभिकर्ता पूर्णकालिन छन् ? अभिकर्ता पेसाप्रति समर्पित छन् ?

सबै बीमा कम्पनीको डाटा जोड्दा झण्डै ६ लाख अभिकर्ता छन् । तर त्यसमा १५ देखि २० प्रतिशत मात्र सक्रिय छन् । नयाँ वा पुराना जुनसुकै कम्पनीबाट तालिम लिएका, अभिकर्ता बनेका व्यक्ति हुन्, १५ देखि २० प्रतिशत मात्र सक्रिय हुन्छन् । त्यसमा पनि पूर्णकालिनको संख्या निकै कम छ ।

सबैतिर अनलाईन कारोबार विस्तार हुँदै गएका छन् । बीमा कम्पनीहरुले पनि डिजिटल सेवालाई विस्तार गर्दै लगेका छन् । अनलाइन सेवा विस्तार हुँदै जाँदा कुनै मानिसले अनलाइनबाटै बीमा पोलिसी लिने, प्रिमियम भुक्तानी गर्ने दिन कति पर छ ? अर्थात बीमा अभिकर्ता विस्तापित हुने सम्भावना कति छ ?

तत्काल त्यस्तो परिस्थिति नहोला । बीमा समितिले ३ लाखसम्मको बीमा पोलिसी अनलाईनबाट बिक्री गर्न पाउने व्यवस्था गरेको छ । बीमा कम्पनीहरुले काम गरिरहेका छन् । तर प्रभावकारी कम भएको छ । बीमितहरु पनि अनलाइन फ्रेण्डली छैनन् । अनलाइन पोलिसी सेल अभ्यास क्रमशः विस्तार होला तर तत्काल अभिकर्ता भूमिकाहीन बन्ने अवस्था आउँदैन ।

नेपालमा बैंकास्योरेन्सको अभ्यास किन विवादित भयो ?

बैंकास्योरेन्स भन्दा पनि कर्पोरेट एजेन्सीको रुपमा काम शुरु भएको थियो । त्यसमा केही विवाद छन् । बैंकहरुको भूमिका पनि विवादमा परेको छ भने बीमा अभिकर्ताहरुले आफ्नो रोजगारी गुम्ने भयो भनेर विरोध पनि गरेका छन् । मेरो विचारमा बैंकास्योरेन्स बन्न नै गर्नु ठिक होइन । ५/६ लाख अभिकर्ता बेरोजगार बनाउने गरी कर्पोरेट एजेन्सीमा जानुपनि हुँदैन । यसबारे अध्ययन गरेर सबैको हित हुने गरी नयाँ विधि निर्माण गरिनुपर्छ । बैंकास्योरेन्सलाई निषेध गर्नु पनि ठिक होइन । किनकी आज सबै स्थानीय तहमा बैंकहरु पुगेका छन् । बैकिङ पहुँच पनि बढी छ । बैंकप्रति सर्वसाधारणको विश्वास पनि राम्रो छ । बैंकास्योरेन्सलाई कर्पोरेट एजेन्सीको रुपमा लैजानु हुन्न । बैंकले बीमा गर्दा पाउने कमिशन अभिकर्ताले पाउने कमिशन भन्दा कम गरिनुपर्छ । केही आचारसंहिता बनाइनुपर्छ । बैंकहरुले बीमालाई ग्राहक सेवा वृद्धि गर्ने स्कीमको रुपमा लैजानुपर्छ, कमिशनको लागि मात्र होइन ।

एशियन लाइफको सवल पक्ष के हो ?

यस कम्पनीले १२/१३ वर्षको दौरानमा जीवन बीमा कोष २२ अर्ब रूपैयाँ बराबर बनाएको छ । जीवन बीमा क्षेत्रका अन्य पुराना कम्पनीले उक्त समयावधीमा समयमा रु.१०/१२ अर्ब भन्दा बढी पुर्याउन सकेका थिएनन् । जीवन बीमा कोष भनेको कम्पनीको सबैभन्दा ठूलो स्ट्रेन्थ हो । कम्पनीले यो कोषलाई विभिन्न क्षेत्रमा लगानी गरेको हुन्छ । त्यसले निरन्तर कम्पनीका लागि आम्दानी सिर्जना गर्छ । यस कम्पनीको

एशियन लाइफ इन्स्याेरेन्स कम्पनीकाे जीवन बीमा काेष

सञ्चालक खर्च अरु कम्पनीको तुलनामा निकै कम छ । कम्पनीले कुल बीमा शुल्क आम्दानीको ९५ देखि १०० प्रतिशत जीवन बीमा कोषमा राख्दै गयौं । १९ वटा जीवन बीमा कम्पनी मध्ये सबैभन्दा बढी रकम जीवन बीमा कोषमा पठाउने कम्पनी एशियन लाइफ हो ।

बीमा शुल्कको १०० प्रतिशत रकम जीवन बीमा कोषमा पठाउँदा कम्पनीको खर्च कहाँ जुट्छ ?

जीवन बीमा कोषको रकम विभिन्न क्षेत्रमा लगानी गरिएकाे हुन्छ । त्यसरी गरिएकाे लगानीबाट  हुने आयबाट हाम्रो सबै सञ्चालन खर्च धानेको हुन्छ ।

कम्पनीको सेयर लगानीकर्ताले कति लाभांश पाईरहेका छन् ?

जीवन बीमा कम्पनीमा १० वर्षसम्म लगानीकर्ताले लाभांशको अपेक्षा गर्नुहुन्न भन्ने पनि गरिन्छ । तर यस कम्पनी सञ्चालनमा आएको तेस्रो वर्ष नै २७ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछि विभिन्न पटक लाभांश वितरण भएको छ । आर्थिक वर्ष २०७४/७५ को आर्थिक प्रतिवेदनमा केही प्राविधिक त्रुटी भएकोले बीमा समितिबाट स्वीकृत गराउन ढिला भएको छ । बीमा समितिमा निर्णयको प्रक्रियामा रहेको छ । कम्पनीको व्यवसाय पनि राम्रो छ । नियम, कानुन, बीमा समितिका निर्देशनको परिपालना राम्रो छ । त्यसैले आगामी दिन पनि लगानीकर्ताले राम्रो प्रतिफल पाउनेछन् ।

तपाईको कार्यकालमा भएका उत्कृष्ट तीन काम के के हुन् ?

व्यवसाय सुदृढिकरण, व्यवस्थापन सुदृढिकरण र नियमको परिपालना । यी तिनै क्षेत्रमा राम्रो भएको छ । कम्पनी स्थापना भएको ५ वर्षकाे २१४ करोडको बीमा कोष १३औं वर्षमा २२ अर्ब भयो । १३ वर्षको अवधिमा कुनै पनि बीमा कम्पनीले २२ अर्बको जीवन बीमा कोष बनाउन सकेको थिएन ।

सम्पन्न गर्न नसकेको काम नि ?

बीचमा केही उचावचढाव आए । आईटी सिस्टम इन्डियाको भेण्डरसँग लिएका थियौं । त्यसले हामीलाई दुःख दियो । अहिले परिवर्तन गरेर नेपाली कम्पनीसँग काम गरिरहेका छौं । अनलाईन प्रडक्टमा मैले चाहेजति काम गर्न सकिएन । फूल्ली अटोमेशनको काम गर्न सकिएन । मेरो चाहाना २०७५/७६ को साधारणसभा गरेर लगानीकर्तालाई लाभांश दिएर जाने । तर समयले मलाई दिएन । यसमा मलाई दुःख लागेको छ । त्यसमा एक्चुरीको समस्या, भ्यालुएशनको समस्या, एनएफआरएससँग जोडिएका समस्याले हामी ढिला भयौं । बीमा बोनस दर न्युनतम ६५ रुपैयाँ पुर्याउने मेरो सोच थियो । बीमाङ्कीय मूल्याङकन ढिला हुँदो मेरो लक्ष्य पूरा भएन । अपरलाईनमा अहिले पनि हाम्राे बाेनस दर ८७ रुपैयाँ छ । यो नेपालकाे सबैभन्दा बढी बाेनस रेट हो ।

एशियनले २०७४/७५ देखि साधारणसभा गर्न नसकेको देखियो । २०७५/७६ को साधारणसभा त कुनै पनि जीवन बीमा कम्पनीले गर्न सकेका छैनन्, समस्या के हो ?

मुख्य कुरा नेपालमा एक्चुरी छैनन् । बीमा समितिको एक्चुरीले २०७४/७५ नयाँ मापदण्ड बनाएको छ, जुनअनुसार नेपालका बीमा कम्पनीले एक्चुरी गराउँदै आएका पुराना एक्चुरीले काम गर्न नपाउने भए । नयाँ एक्चुरीहरु नियुक्त गर्नुपर्ने भयो । त्यसले पनि समय लियो । २०७५/७६ देखि बीमा समितिले भ्यालुएशन रिपोर्टिङको नयाँ फर्म्याट गर्नुपर्ने व्यवस्था गर्यो । २०७४/७५ देखि एनएफआरएस पनि लागू भयो । यी तीन वटा पक्षमा धेरै परिवर्तन भएकोले बढी समय लागेको हो । नयाँ सिस्टमअनुसार एक पटक आर्थिक प्रतिवेदन पास भएपछि नियमित गर्न सजिलो हुन्छ, धेरै समय लाग्दैन ।

एशियन लाइफ इन्स्याेरेन्स कम्पनीमा तेस्राे कार्यकालकाे लागि तपाईकाे नियुक्ती हुन्छ कि हुँदैन ?

सबैलाई थाहा छ कि बीमा समितिले जारी गरेकाे संस्थागत सुशासन निर्देशिका अनुसार कुनै पनि कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक वा प्रशाशकले बढिमा २ कार्यकाल मात्र नियमित काम गर्न पाउँछ । त्याे निमय यस कम्पनीमा पनि लागू हुन्छ । साउन २१ गतेदेखि म यस कम्पनीमा रहदिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.