सवारी साधनमा जाेर-बिजाेर प्रणाली, राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत बन्द

  २०७७ साउन २१ गते २१:३४     विकासन्युज

काठमाडाैं । सरकारले फेरि सवारी साधनहरुमा जोर विजोर प्रणाली लागु गरेको छ । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले भोलि (बिहीबार) देखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको हो ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेका सार्वजनिक र निजी सवारी साधन जोर बिजोर नम्बरका आधारमा चल्ने निर्णय गरेको हो ।

यस्तै, काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ देखि बिहान ७ बजेसम्म निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ । २ सय बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरिने सूचना मार्फत बताइएको छ ।

सूचनामा जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने, मास्क नलगाउने वा जनस्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जविरवाना गर्ने र जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारबाही गरिने उल्लेख गरिएको छ ।

यस्तै सूचनामा नेपाल सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवातजावतलाई कडाइका साथ निषेध गर्ने, होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.