२०७७ भदौ ४ गते १२:४४ विकासन्युज
काठमाडौं । बिहीबार उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु बन्द भएका छन् । प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि उपत्यकका सबै बैंकका शाखाहरु बन्द भएका हुन् ।
यससँगै अतिआवश्यक सेवा अन्तर्गत पर्ने बैंकिंङ्ग सेवा बन्द भएपछि सेयर कारोबार पनि अफ्ठ्यारोमा परेको छ । बैंक नै बन्द भएपछि सेयर कारोबार राफसाफ गर्न ग्राहो हुने ब्रोकर्सहरु बताउँछन् ।
स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाटले बैंक बन्द हुँदा सेयर काराेबार रोकिँदैन तर सेयर राफसाफकाे काम रोकिने बताएका छन् ।
‘आज जस्तै बैंक नै खुलेन भने राफसाफको लागि रोकिन्छ । बैंक पनि आज एकदिनको लागि बन्द भएको होला । भोलिदेखि खुल्लान् ।’, उनले विकासन्युजसँग भने ।
‘हामी त कहिल्यै पनि काराेबार बन्द नगर्ने भन्नेमा छौं । क्लियरिङ्ग बैंकले पनि कारोबार नरोकिने, कारोबार हुन्छ नै भनेको छ । त्यसैले खुल्छ पनि होला ।’, अध्यक्ष रानाभाटले भने ।
यद्यपि अन्य ब्रोकरहरुले भने यस्तो अवस्थामा कार्यालय खोल्न गाह्रो भएको बताएका छन् ।
बैंक बन्द भयो भने सेयर कारोबार नहुने ब्रोकर्स एशोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मी बताउँछन् । सेयर किन्नेबाट पैसा नपाएपछि बेच्नेलाई पैसा हाल्न नसकिने भएपछि सेयर काराेबार गर्न गाह्राे हुने उनले बताए ।
भोलिदेखि नआउनु भन्ने चेतावनीका साथ बिहीबार कार्यालय पुगेको बताउँदै उनले विकासन्युजसँग भने- ‘आज एकदमै अफ्ठ्यारोसँग आईयो । अफिसमा २/३ जना कर्मचारी आएका छन् । कम्तिमा ४/५ जना कर्मचारी नआई काम हुन सक्दैन । बैंक नै बन्द भयो भने सेयर कारोबार हुँदैन ।’
बिहीबार भने अनलाइनबाटै सेयर कारोबार भइरहेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.