सीडीएससीकाे नयाँ सीईओका पाँच प्राथमिकता, तत्काल टीप्लसटूमा जाने प्रतिवद्धता

  २०७७ भदौ ९ गते १३:४६     विकासन्युज

काठमाडाैं  । १८ लाख ३७ हजार २९३ सेयरधनीकाे सम्पूर्ण सम्पत्तिको विवरण र कारोबार विवरण राखेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ११ महिनापछि प्रमुख कार्यकारी अधिकृत पाएको छ । नयाँ सीईओको रुपमा भदौ १० गते बुधबार पूर्णप्रसाद आचार्यले पद वहाली गर्दै छन् ।

सोमबार सीडीएससीकाे सीईओ पदमा नियुक्ती पाएका आचार्यले मंगलबार विकासन्युजसँग कुरा गर्दै आफ्ना पाँच प्राथमिकता बताएका छन् । सीडीएसको सेवा प्रभावकारी बनाउने र लगानीकर्ताको विश्वास जित्ने प्रयास गर्ने उनको पहिलो योजना छ । सीडीएस अपरेटिङ सिस्टममा समस्या छ भन्ने गुनासो बाहिर आफूले सुनेको बताउँदै त्यसको समाधानमा आफू लाग्ने उनले बताए ।

सेयर कारोबार सेटलमेन्टका काम २ दिनभित्र गर्ने उनको दोस्रो प्राथमिकता छ । ‘अहिले नेपालमा टीप्लस थ्री छ । विश्वका धेरै देशमा टी प्लस टु रहेछ । नेपालमा पनि जतिसक्दो छिटो टी प्लस टु लागू गर्छु’ विकासन्युजसँगको कुराकानीमा उनले भने ।

लगानीकर्ताको डिजिटल केवाइसी उनको तेस्रो प्राथमिकता रहेको छ । ‘लगानीकर्ताको केवाईसी विवरण एक पटक सीडीएस एण्ड क्लियरिङमा अपडेट भएपछि दोस्रो पटक कही कतै पनि लगानीकर्ताले केवाईसी भर्न नपर्ने अवस्था बनाउने छु’ आचार्यले भने । एउटा ब्रोकर कम्पनीमा केवाईसी भरेका लगानीकर्ताले अर्को ब्रोकर कम्पनी वा सीडीएससीको सिस्टम चलाउने कुनै पनि ठाउँमा फेरि केवाईसी फारम भर्नु नपर्ने उनले बताए ।

लाखौं लगानीकर्ताको डाटा सुरक्षा प्रणालीलाई अझ बलियो बनाउने उनको चौथो प्राथमिकता छ । ‘अहिले पनि सीडीएससीले तीन तहमा डाटा राखेको छ । त्यसमा शंका गर्नु पर्ने अवस्था छैन । तर एकीकृत डाटालाई राजधानी बाहिर पनि राख्नु पर्ने मैले देखेको छु । त्यो काम गर्नेछु’ उनले भने ।

सीडीएससी सम्बन्धि छुट्टै नियम कानुन बनाउने उनको पाँचौं प्राथमिकता छ । ‘धेरै देशमा सेन्टर डिपेजिटरी सिस्टम चलाउने डेडिकेटेड एक्ट रहेछ । नेपालमा सीडीएससी सञ्चालनको लागि छुट्टै ऐन, नियमको खाँचो देखेको छु, त्यसतर्फ काम गर्छु’ उनले भने । उनले पुँजीबजार राजधानीमा मात्र भएकोले यसलाई देशभर विस्तार गर्न र लगानीकर्तामा जनचेतना फैलाउन सम्बन्धित निकायसँग सहकार्य गर्ने पनि बताए ।

त्रिभुवन विश्वविद्यालयबाट तथ्याङ्क शास्त्रमा एमएससी र पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबीए गरेका आचार्यले कृषि विकास बैंकमा ३० वर्ष काम गरी नायव महाप्रबन्धकबाट अवकाश पाएका थिए । उनी खुला प्रतिस्पर्धाबाट सीडीएससीको प्रमुख कार्यकारी अधिकृत भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.