२०७७ भदौ १५ गते १४:३५ विकासन्युज
काठमाडौं । लघुवित्तका पिता भनेर परिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार एलिजा उप्रेतीलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फान्डेशनद्धारा स्थापित उक्त पुरस्कार डा. पन्तको पाँचौ वार्षिक पुण्य स्मृति दिवस पारेर भदौ २१ गते पत्रकार एलिजा उप्रेतीलाई प्रदान गरिने भएको हो ।
जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो ।
डा. हरिहरदेव पन्त फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट अर्थिक पत्रकार वा संघ, सस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमश: नेपाल आर्थिक पत्रकार संघ (सेजन), कान्तिपुर दैनिकका गोकर्ण अवस्थी र नागरिक दैनिकका विष्णु बेल्वासेलाई प्रदान गरिएको थियो ।
देशको सर्वाङ्गीण विकासका साथै आर्थिक क्षेत्रको विकासका लागि राज्यको चौथो अंग पत्रकार जगतले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा लेखनमार्फत आम जनस्तरमा सू सूचित गराउने महत्वपूर्ण कार्य गरेको छ ।
विगत एक दशक देखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएकी तथा विगत चार वर्ष देखि रातोपाटी डट कममा वरिष्ठ व्यापार संवाददाता रहेकी एलिजा उप्रेतीलाई पुरस्कार स्वरुप नगद रु.५० हजार सहित सम्मान—पत्र प्रदान गरिनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.