२०७७ भदौ १९ गते २०:३१ सन्ताेष राेकाया
काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन् । २ वर्ष ६ महिना मन्त्री पदमा रहेर काम गरेका खतिवडाले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएसँगै उनको मन्त्री पदको यात्रामा विराम लागेको छ ।
खतिवडा २०७४ फागुन १४ गते जसरी अर्थमन्त्रीका रुपमा भित्रिएर वाहीवाही पाएका थिए बाहिरने बेला भने उनले त्यो सौभाग्य पाउन सफल भएनन् । देशको अर्थतन्त्र बुझेका व्यक्ति नेपाल सरकारको अर्थमन्त्रीमा आउँदा जसरी आम सर्वसाधारणहरुले शब्दको स्वागत गरेर भित्र्याएका थिए, बिदाईको समयमा भने त्यो माहोल देख्न पाइएन ।
यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्षलगायत पदमा रहेर राम्रो काम र छवि बनाएका कारण उनी अर्थमन्त्रीमा नियुक्त हुँदा धेरैले मन पराए ।
आर्थिक तथा मौद्रिक क्षेत्रमा आफ्नो अनुभव र योग्यताको आधारमा अर्थ मन्त्रालय चलाउँदा यसअघिका अर्थमन्त्रीले भन्दा खतिवडाले नयाँ छाप छाड्ने अपेक्षा धेरैको थियो । उनीसँग सर्वसाधारणदेखि अर्थविदहरुको समेत धेरै अपेक्षा थियो । तर, बाहिरिने बेला भने उनले आफ्नो त्यो छाप कायम गर्न सकेनन् । सायद सबैभन्दा बढी नै नागरिकमा वितृष्णा उब्जाएर बाहिरने मन्त्री खतिवडा हुन सक्ने अनुमान धेरैको छ ।
खतिवडा आजै सिहँदरवारबाट बाहिरिसकेका छन् । उनले अर्थमन्त्रीको पदमा रहेर जति काम गरे त्यो भने विस्तारै बुझिँदै र त्यसको समिक्षा पनि हुँदै जानेछ । तर, उनीे सर्वसाधारणको मात्र होइन उनकै पार्टी नेकपा भित्रका अधिकांश नेताहरुको समेत तिता बनेका छन् । त्यो बन्नुको एउटै कारण हो उनको रुखो बोली र कार्यशैली ।
उनी कसैको कुरा नसुन्ने प्रवृतिका कारण खतिवडा सफल हुन नसकेको उनलाई नजिकबाट चिन्ने अर्थतन्त्रका विज्ञहरु बताउँछन् । फलस्वरुप उनी प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अन्यका प्रिय पात्र कहिल्यै बन्न सकेनन् । जसका कारण उनी दिन प्रतिदिन आलोचित र विवादित बन्दै गए ।
अर्थविद डा.डिल्लीराज खनाल अर्थमन्त्रीको कार्यकालमा खासै सकारात्मक परिवर्तन नभएको बताउँछन् । ‘जुन रुपमा पार्टीको चुनावी प्रतिवद्धता र प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको नारा तथा लक्ष्य थियो, त्यसमा केही पहल भएका छन् । तर, आधारभुत समस्यामै समाधान र सुधार भएन,’ उनले भने ।
जुन रुपमा खतिवडामा सबैको अपेक्षा थियो सो अनुरुपको काम नभएको उनको भनाई छ । खतिवडा वैदेशिक व्यापार सन्तुलन, संघीय मितव्ययिता कायम, ब्युरोक्राटिकहरुसँगको सम्बन्ध र आफ्नै समकक्षीहरुसँग राम्रो सम्बन्ध राख्न नसकेरै उनले गर्न खाजेको काम पनि सफल हुन सकेन ।
डा. खतिवडा अर्थमन्त्री भइसकेपछि तीनवटा बजेट ल्याए । तीन वटै बजेट पुरानै ढर्राको भएको अर्थविज्ञहरुलाई मात्र होइन सर्वसाधारण समेतलाई आभास भयो ।
देश विकासमा तथा आर्थिक चलायमानमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ तर उनले निजी क्षेत्रसँगको सम्बन्ध समधुर बनाउन सकेनन् । जसले गर्दा उनको यो साढे २ वर्षको कार्यकालमा सरकारले गर्ने विकास खर्चमा कुनै सुधार आएन ।
अर्थतन्त्र बुझेका अर्थमन्त्रीको कार्यकालमा उत्साहित हुने किसिमको राजश्व उठ्न सकेन ।
सरकारले बनाउने नीति नियम तथा प्रशासनिक सुधारमा कुनै आशालाग्दा सुरुवात उनीबाट हुन सकेनन् । बजेट अनुसार खर्च नहुने, विकास खर्च गर्न नसक्ने दशकौं पुरानो रोगमा उनी पनि लत्पतिए । खतिवडाकै कार्यकालमा आएको कोरोना महामारीले देशको जीडीपीलाई संकटतर्फ उन्मुख बनायो । परिणाम स्परुप उनी अभागी र असफल अर्थमन्त्रीमा गणना हुन पुगे ।
कोरोना भाइरस संकटको समयमा उद्योगी व्यवसायीलाई बजेटमार्फत राहत ल्याउँछन् भन्ने धेरैको अपेक्षा थियो । उनले उल्टै असन्तुलित बजेट ल्याएर आफूलाई झन् बढी असफल भएको महसुुस सबैलाई गराए । उद्योगी व्यवसायीले राहतका लागि राष्ट्र बैंकको मौद्रिक नीति कुर्नु पर्यो ।
बजेट भाषणमै उनले धेरै सामानमा कर बढाए । त्यसले व्यवसायीको पारा ततायो । उनले विद्युतीय गाडी, गर गहना, मदिरा तथा सुर्तिजन्य पदार्थमा कर बढाएपछि धेरै व्यवसायीहरु उनीप्रति झन् असन्तुष्ट बने ।
उनले बजेट सार्वजनिक गर्दा आफ्नो पारिवारिक सम्बन्ध रहेको विशाल ग्रुपलाई नै सहज हुने खालको भन्सार दर तोकेको पनि आरोप लाग्यो । उनले चकलेटमा १० प्रतिशत दर घटाएका थिए । त्यस दिनदेखि विज्ञ अर्थमन्त्री चकलेट प्रेमीमा रूपान्तरित भए ।
उनले करदाताहरुलाई जेठ २५ गतेसम्म कर बुझाउन र कर नबुझाए कारवाही गर्ने निर्णय गराए । त्यस निर्णयले अर्थमन्त्री खतिवडाको झन चौतर्फी विरोध भयो । लकडाउनको अवधिमा सम्पूर्ण उद्योग व्यवसाय बन्द रहेको अवस्थाका कसरी कर तिर्ने भन्दै व्यवसायीहरु निकै आक्रोशित बने । चौतर्फी दबावपछि उनले पुनः कर तिर्ने म्याद थपे ।
त्यति मात्र होइन सेयर बजारका लगानीकर्ता र जानकारहरुले समेत अर्थमन्त्री खतिवडाकै कारण सेयर बजारमा गिरावट आउने गरेको आरोप बेला बखत लाउने गरेका छन् । पुँजीबजारका लगानीकर्ताका सामु उनी कहिल्यै राम्रो देखिएनन् । उनी जुन कार्यक्रममा अतिथिको रुपमा गयो त्यही कार्यक्रममा आयोजकको खिसी अर्थात गाली नै गर्ने व्यवहारका कारण उनी निजी क्षेत्रका राम्रा अर्थमन्त्री कहिल्यै बन्न सकेनन् ।
अर्थशास्त्री डा. अच्युत वाग्ले पनि डा. खतिवडाको काम औसतभन्दा तल रहेको बताउँछन् । ‘डा. खतिवडाको काम औसतभन्दा तल रह्यो, अपेक्षाहरु पूरा भएनन्, अवसरहरु सदूपयोग भएनन्,’ उनले भने ।
यसका साथै उनी वित्तीय संघीयताको कार्यान्वयनमा खतिवडा बाधक बनेको बताउँछन् । अन्य कसैको सर सल्लाह लिन उनी तयार भएनन्, उनले आर्थिक सूचकहरु आफू अनुकुल तोडमोड गरे,’ उनले भने । यस्तै खतिवडाले आफ्नो पेशागत इमान्दारिता पनि सदुपयोग नगरेको वाग्लेको भनाई छ ।
यस्तै अर्थविद डा. चन्द्रमणी अधिकारी पनि खतिवडाले आफ्नो विज्ञताको प्रयोग गर्न नसकेको बताउँछन् । ‘म व्यक्तिभन्दा पनि पार्टीको कुरा गर्छु, नेपाल कम्युनिष्ट पार्टीको सरकार गठन भएर आएपछि जनताको धेरै अपेक्षा थियो, अर्थतन्त्रले गति लिन्छ भन्ने आशा थियो, तर, अहिले त्यो कुनै अपेक्षा पुरा हुन सकेन,’ उनले भने ।
अधिकारीले सरकारले लिएका विभिन्न नीतिहरु राम्रा भएपनि कार्यान्वयनको पक्ष भने राम्रो नभएको बताए । ‘पहिले तयार बिनाका आयोजना बजेटमार्फत आउँन्थे त्यो परिपाटीको अब अन्त्य हुन्छ, राष्ट्रिय गौरवका आयोजनाको काममा सुधार हुन्छ, करमा पनि सहज हुन्छ भन्ने अपेक्षा नागरिकमा थियो तर विज्ञ खतिवडाले त्यसपट्टी कुनै ध्यान दिएनन्,’ उनले भने ।
व्यापार घाटा कम हुन्छ भन्ने नीति लिएको थियो, प्रतिव्यक्ति आय बढ्ने भन्ने कुरा थियो । ती कुनै पनि कुरामा सुधार नभएको उनको भनाई छ । खतिवडाले ल्याएका तीनै बजेट परम्परागत किसिमकाे भएको अर्थविदहरुको भनाई छ ।
खतिवडाको प्रयास
धेरै कुरामा खतिवडा आलोचित तथा विवादित भएपनि केही पक्षमा भने उनले सुधार गर्ने प्रयास तथा पहल पनि गरेका छन् । उनले व्यापार घाटा सन्तुलनमा ल्याउन धेरै पहल तथा प्रयास गरे जुन गत वर्षदेखि केही लयमा आएको छ ।
नेपालको आयात घट्ने र निर्यात बढ्ने चलन उनकै कार्यकालमा शुरु भयो । अब त्यसलाई निरन्तरता दिन आवश्यक छ ।
साथै, खतिवडाले आफ्नो कार्यकालमा करमा पारदर्शीत गर्ने प्रयास पनि गरे । उनकै कार्यकालमा अनिवार्य प्यान कार्डको व्यवस्था पनि शुरु भयो । उनले भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लागू गर्ने जस्ता कामहरु पनि गरे ।
उनले विलासी वस्तुहरु आयातमा निरुत्त्साहित गरे । विलासी वस्तुहरु आयात गर्दा लाग्ने भन्सार बढाए । यसका साथै उनी विदेशी दाता रिझाउन पनि सफल भए । उनले आफ्नो कार्यकालमा दातृ संस्थाहरुबाट धेरै ऋण लिन सफल भए ।
खतिवडाले बजेटमार्फत स्वदेशी उद्योग प्रवद्र्धन गर्नुका साथै वस्तुको आयातमा प्रतिबन्धनै लगाए पनि उनी नागरिकको मानसपटलमा बस्ने मन्त्री बन्न सकेनन् । समग्रमा खतिवडाको आगमन जुन रुपमा भएको थियो, आम नागरिकले गरेको अपेक्षा भने उनले पूरा गर्न सकेनन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.