२०७७ भदौ २५ गते २०:०७ विकासन्युज
काठमाडौं । एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले नेपालीले छिट्टै फाइभजी सेवाको स्वाद लिन पाउने बताएका छन् । टेलिकम सेवामा सबैभन्दा ठूलो बजार हिस्सा लिएको एनसेलकाे कार्यकारी प्रमुखले यस्ताे जनाउँ दिएका हुन् ।
एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले भर्चुअल अन्तरक्रिया कार्यक्रममा ‘विकसित नयाँ प्रविधि नेपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने’ बताएको सेजनले जनाएको छ । पछिल्लो प्रविधि फाइभ जीमा फोरजीमा भन्दा धेरै सुविधा रहेकाे र उच्च गतिकाे इन्टरनेट सेवा लिन सकिने प्रविधि हाे ।
कोभिडपछि ग्राहकहरुमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको, डाटा सेवा प्रयोग बढेको जनाउँदै उनले अब एनसेलले यसमा लक्षित गरी आफ्ना कार्यक्रमहरु ल्याउने तयारी गरेको जानकारी दिए ।
उनको कोभिडका समयमा सरकारसंग नजिक रहेर काम गरेको तथा सहयोग रकम समेत उपलव्ध गराएको बताए । उनले व्यवसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत स्कुलशिक्षा, स्वाथ्य सामाग्रि, कोभिड सम्वन्धी जनचेतना, फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई सिमकार्ड वितरण लगायतका कार्यहरु गरेको बताए ।
नेपाल टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कनेक्टिभिटीको सवालमा कर्णाली प्रदेश, हिमाल, र उच्च पहाडी भेकमा प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरसञ्चार कोषको रकम सरकारले चालू खातामा जम्मा गरेको असन्तुष्टि जनाए । उनले कोषको रकम ग्रामिण क्षेत्रकै लागि भनेर सबै सेवा प्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गर्ने गरकोले सो रकम निर्धारित काममै खर्च गर्नुपर्ने बताए ।
सर्वसाधारण जनताले तिरेर बनेको ग्रामिण दूरसञ्चार कोषको अर्वौ रुपैयाँ सरकारले हिनामिना गरेपछि त्यसको टेलिकम क्षेत्रबाट विरोध हुँदै आएको छ । सरकारले राजश्व आम्दानीबाट खर्च धान्न नसकेपछि प्राधिकरणको कोषबाट अर्बौ रुपैयाँ चलाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जन जस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा जानु आवश्यक भएको बताए । उनले कोभिडका समयमा सेवा प्रदायक कम्पनीहरुको सक्रियताका कारण ग्राहकको गुनासो अपेक्षाकृत रुपमा नआएको उनको दावी छ ।
कोभिड कारण डाटा उपभोग सहरी क्षेत्रमा अत्याधिक बढेको र ग्रामीण क्षेत्रमा कनेक्टिभिकै समस्या रहकोले डिजिटल डिभाइडको समस्या बढेर जाने आशंका समेत बढेको छ । ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्यले शहरको तुलनामा गाउँमा केनेक्टिभी र कनेन्ट दुबैको अवस्था दयनीय भएको बताए । शहरमा सेवा छनोटको अवसर छ, कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छ । अबको फोकस ग्रामीण क्षेत्रमा गर्नुपर्ने अवस्था आएको उनले बताए । यदि ग्रामीण क्षेत्रको सेवामा ध्यान दिन सकिएन भने भोलीका दिनमा गाउँ र सहरमा हुने डिजिटल डिभाइडले ठूलो रुप लिने हुँदा सचेत हुन पनि आग्रह गरे ।
इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा इन्टरनेट व्याण्डविथ खपत ४० प्रतिशत सम्म बृद्धि भएको भन्दै उपभोक्ताको रुची र प्रयोग फेरिएको बताए । पछिल्लो समयमा चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले सेवा प्रदयाकहरुलाई व्याण्डविथ व्यवस्थापनमा धौ धौ परेको भन्दै यसमा केहि सोच्न पनि नियामक निकायसमक्ष उनले आग्रह गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
यो त बहुत राम्रो कुरा हो । तर यो भन्दा पनि महत्वपूर्ण कुरा चाहिँ नेटवर्क विस्तार र राम्रो गुणस्तरमा ध्यान दिनु पर्छ । नेपालभर नै 4G को राम्रो व्यवस्था हुनु पर्छ । अहिले पनि कतिपय ठाउँमा 2G मात्र चल्छ । यसमा ध्यान दिनु पर्छ भन्ने मेरो आह्वान छ ।