दशैंअघि लाभांश पाउने भाग्यमानी लगानीकर्ता

  २०७७ असोज १६ गते ११:४०     मञ्जरी पौडेल

काठमाडौं । कोरोना कहरमा पनि नेप्सेमा सूचीकृत केही वित्तीय संस्थाले दशैं अघि नै लगानीकर्तालाई लाभांश वितरण गर्ने भएका छन् । उनीहरुले दशैं बाेनस स्वरुप आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न लागेका हुन् ।

माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई क्यापिटल, एनआईबीएल एस क्यापिटल, सेञ्चुरी क्यापिटल मार्केटस् र नेपाल ल्युब आयलका लगानीकर्ताले दशैं अघि नै लाभांश प्राप्त गर्ने भएका छन् । यी कम्पनीले दशैंअघि नै आफ्नो वार्षिक साधारणसभा आव्हान गरेर सेयरधनीलाई लाभांश वितरण गर्न लागेका हुन् ।

माछापुच्छ्रे बैंक गत आवको लाभांश घोषणा गरी साधारणसभा आव्हान गर्नेमा पहिलो वाणिज्य बैंक बन्न सफल भएको छ । बैंकले आगामी कात्तिक ६ गते २२औं वार्षिक साधारणसभा बोलाएको छ ।

उक्त सभाले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता पुँजीकाे १०.०४ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दैछ । यससँगै कम्पनीका सेयरधनीले ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद लाभांश पाउँदैछन् ।

उनीहरुले दशैंअघि अर्थात साधारणसभा सकिएको दिन नै आफ्नो खातामा सो मात्राको लाभांश पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए ।

‘अहिले लाभांश सेयरधनीको खातामा हाल्ने हो । त्यसैले हामीले एजीएम भएकै दिन अर्थात कात्तिक ६ गते नै हाल्दिने व्यवस्था मिलाएका छौं । सबैको अकाउन्ट भइहाल्छ । त्यही अकाउन्टमा हाल्ने गरी हामी तयारी गरेर एजीएममा जान्छौं । अनि उक्त एजीएम सकिएपछि सेयरधनीको खातामा लाभांश हाल्दिन्छौं’, विकासन्युजसँग कुरा गर्दै सीईओ कोइरालाले भने ।

त्यसैगरी, नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १०.५२६ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश पारित गर्न असोज २७ गते वार्षिक साधारणसभा डाकिसकेको छ ।

वाणिज्य बैंकद्वारा संचालनमा आएका तीन क्यापिटलले पनि सेयरधनीलाई गत आवको लाभांश वितरण गर्ने भएका छन् । ग्लोबल आईएमई क्यापिटल, एनआईबिएल एस क्यापिटल र सेञ्चुरी क्यापिटल मार्केटस्ले आफ्ना सेयरधनीलाई क्रमशः ६.५, २२.२२ प्रतिशत (करसहित) र ४.२० प्रतिशत (करसहित) नगद लाभांश दशैं अघि नै वितरण गर्ने भएका हुन् । जसको लागि ग्लोबल आईएमई क्यापिटलले कात्तिक ३ गते, एनआईबिएल एस क्यापिटलले कात्तिक ५ गते र सेञ्चुरी क्यापिटलले कात्तिक ६ गते आफ्नो वार्षिक साधारणसभाको मिति तय गरिसकेका छन् ।

त्यसैगरी, नेपाल ल्युब आयलका सेयरधनीले पनि गत आवको नाफाबाट १० प्रतिशत नगद लाभांश पाउने भएका छन् । संस्थाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्नको लागि कात्तिक ५ गते आफ्नो वार्षिक साधारणसभा डाकेको छ ।

बैंक तथा वित्तीय संस्थाले गत वर्षको तुलनामा यो वर्ष लाभांश घोषणा तथा साधारणसभाको मिति तय गर्न ढिला गरेका छन् । गत वर्ष दशैंअघि नै साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरेका कम्पनीहरुले पनि यो वर्ष भने लाभांश समेत घोषणा गरेका छैनन् ।

गत वर्षको भन्दा यो वर्ष दशैं ढिला छ । दशैं ढिला भएपनि सूचीकृत संस्थाहरुले हालसम्म लाभांश घोषणा गरेका छैनन् । विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण लाभांश घोषणा गर्न ढिलाई भएको बैंकरहरु बताउँछन् ।

कात्तिक ७ गते दशैंको फूलपाति परेको छ । र, त्यसपछि दशैंको बिदा शुरु हुन्छ । सेयरधनीलाई दशैंअघि लाभांश खुवाउन कात्तिक ६ गतेसम्म साधारणसभा सम्पन्न गरिसकेको हुनुपर्छ । कात्तिक ६ गते साधारणसभा सम्पन्न गर्नको लागि उक्त मितिको २१ दिन आगाडी अर्थात असोज १६ गतेसम्ममा साधारणसभामा सूचना प्रकाशित गरिसक्नुपर्ने हुन्छ । तर, सो दिनसम्म यी ५ कम्पनी बाहेक अन्य सूचीकृत संस्थाले सभाको सूचना प्रकाशन गरेका छैनन् ।

वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंक र बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको लाभांश घोषणा गरिसकेका छन् । माइक्रोफाइनान्स समूह अन्तर्गत २ कम्पनी आशा लघुवित्त र समता लघुवित्तले लाभांश घोषणा गरेका छन् । अन्य समूह अन्तर्गत सेञ्चुरी क्यापिटल र एनआईबीएल क्यापिटलले लाभांश घोषणा गरी साधारणसभाको मिति पनि तय गरिसकेका छन् ।

उत्पादनमूलक समूह अन्तर्गत नेपाल ल्युब आयल र यूनिलिभर नेपालले लाभांश घोषणा गरीसकेका छन् । जसमध्ये नेपाल ल्युब आयलले लाभांश पारित गर्न वार्षिक साधारणसभा पनि डाकिसकेको छ ।

विकास बैंक, इन्स्योरेन्स, फाइनान्स, होटल, हाइड्रोपावर, उत्पादनमूलक समूहका कुनै पनि कम्पनीले यो समाचार तयार पार्दासम्म लाभांश घोषणा गरेका छैनन् ।

त्यस्तै, म्युचुअल फण्ड अन्तर्गत ६ वटाले आव २०७६/७७ वर्षको नाफाबाट इकाइधनीहरुलाई नगद लाभांश घोषणा गरिसकेका छन् ।

यद्यपि, सूचीकृत कम्पनीहरुले गत आवको वार्षिक साधारणसभा चालु आवको पुस मसान्तसम्म गरिसक्नु पर्ने व्यवस्था रहेको छ । त्यसैले अधिकांश कम्पनीहरुले अन्तिमको समयमा मात्र साधारणसभा गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.