२०७७ असोज २२ गते १६:५८ विकासन्युज
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले दैनिक २ घण्टा निःशुल्क इन्टरनेट उपलब्ध गराउने दाबी गरेको छ । सरकारले फ्रिक्वेन्सी प्रदान गरेमा देशभर दैनिक २ घण्टा इन्टरनेट सेवा निःशुल्क प्रदान गर्न कम्पनी तयार रहेको कम्पनीका अध्यक्ष दिलिप अग्रवालले बताए ।
एक्सप्रेस वाईफाईका लागि फेसबुकसँग भएको सहकार्यको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कम्पनीको प्रबन्ध निर्देशक समेत रहेका अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।
देशभरका सबै नागरिकको इन्टरनेट सेवामा पहुँच आवश्यक रहेकोले वल्र्डलिंकले यसमा सहयोग गर्ने अग्रवालको भनाइ छ ।
‘फ्रि वाइफाइ भनेको जतिबेला पनि फ्रि हुने होइन, फ्रि त हुन्छ तर त्यसमा सेवा अवधि हुन्छ, निश्चित समयका लागि फ्रि हुने हो, सरकारले फ्रिक्वेन्सी दिने हो भने देशभर २ घण्टासम्म सबै डिभाइसमा निःशुल्क इन्टरनेट दिन तयार छौं’, प्रबन्ध निर्देशक अग्रवालले भने ।
वल्र्डलिंकले देशका विभिन्न ३० हजार स्थानमा फ्रि वाइफाइ सेवा प्रदान गर्न लागेको छ । यसका लागि ३ वर्षको समय लाग्ने कम्पनीको भनाइ छ ।
वल्र्डलिंकले अहिले १० हजार स्थानमा फ्रि वाइफाइ उपलब्ध गराइरहेको छ । सोमध्ये ७ हजार ५ सय स्थानमा फेसबुकको एक्सप्रेस वाइफाइ सेवा सुचारु गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.