सपिङ मलमा दशैं अफरः नगददेखि लाखौं रुपैयाँका आकर्षक बाईकसम्म, कुन मलकाे कस्ता स्कीम ?

  २०७७ असोज २५ गते १४:४५     सन्ताेष राेकाया

काठमाडौं । दशै, तिहार नजिकिएसँगै काठमाडौं उपत्यकाका सपिङ मलहरुले विभिन्न किसिमका अफरहरु सार्वजनिक गरेका छन् । नेपालीहरुका महत्वपूर्ण चाडपर्व नजिकिएसँगै विभिन्न मलहरुले आफ्ना ग्राहकहरुको लागि आकर्षण्क अफरहरुको व्यवस्था गरेका हुन् ।

उपत्यकाका विभिन्न मलहरुले दशैतिहारलाई लक्षित गरी दैनिक नगद उपहारदेखि महँगो मूल्यका मोटरसाइकलहरुसम्मको व्यवस्था गरेका छन् । मलहरुले दैनिक २०÷२५ हजार रुपैयाँ नगददेखि थुप्रै आकर्षक उपहारहरुको व्यवस्था गरेको बताएका छन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएको समयमा अघिल्ला वर्षहरुको भन्दा फरक किसिमले सपिङ मलले अफरहरु ल्याएका छन् । अघिल्ला वर्षहरुमा विदेश भ्रमणसमतेको अफर हुन्थे तर यो वर्ष कुनै पनि सपिङ मलले विदेश भ्रमणको अफर ल्याएका छैनन् ।

दशैं तिहारको समयमा सपिङ मलहरुका लागि सबैभन्दा बढी आर्थिक कारोबार हुने समय हो । दशैं नजिकिए सँगै बजारमा व्यवसायीक माहोल पनि सिर्जना भएको छ । यद्यपी विगतका वर्षहरु जस्तै ग्राहकको भिडभाड नभएको व्यवसायीहरुको भनाई छ ।

सोहि कारण व्यवसायीहरुले खासै ब्यापार पनि नभएको बताइरहेका छन् । तथापि सपिङ मलहरुबीच ग्राकह तान्न बिभिन्न स्किम, छुट, अफरलगायतका योजना सार्वजनिक गर्न प्रतिस्पर्धा शुरु भएको छ । अहिले कतिले अफर सार्वजनिक गरिसकेका छन् भने धेरैले सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

ग्राहक तान्न उपत्यकाका सपिङ मलले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै सपिङ मलहरूले धमाधम अफर, छुट सेल, उपहारलगायत योजना ल्याउन थालेका हुन् ।

सिभिल मल

सिभिल मलले दशैं तिहारमा सपिङ गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरिसहेको छ । सिभिल मलले यामाहाको एफजेड बाइकदेखि होम एप्लियन्स र गिफ्ट भौचरलगायतका अफर ल्याएको छ ।
मलले एक हजार रुपैयाँ नगद वा सो भन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको बताएको छ ।

मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत यामाहाको एफजेड बाइक पाउने सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले बताए । उनले हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट ५ हजार रुपैयाँको नगद भौचर र एनआइसी एसिया बैकका कार्ड होल्डरले हरेक सामानमा थप ५ प्रतिशत छुट पाउने बताए ।

एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जनालाई ३ हजार रुपैयाँको गिफ्ट भौचर र एक जनालाई बोधि स्युइटमा २ रात ३ दिनको लागि पोखरा ट्रिपको पनि व्यवस्था गरेको छ। सिभिल मलमा सामान्न किन्ने उपभोक्ताले ७० प्रतिशतसम्म छुट पाउनेछन् ।

केएल टावर

केएल टावरले पनि दशैं तिहारलाई लक्षित गरी विभिन्न अफरहरु सार्वजनिक गर्ने तयारी गरिरहेको छ । केएल टावर व्यापार संघका अध्यक्ष प्रभुराम श्रेष्ठले भोलि दशैं तिहारको लागि अफरहरु सार्वजनिक हुने बताए ।

उनले दशैं तिहार मेघा डिस्काउण्टको योजना अन्तर्गत विभिन्न अफर ल्याउने तयारी गरिरहेको बताए । उनले यस पटकको दशैं तिहारमा पहिलेको जस्तो तामझाम नभए पनि विभिन्न अफर ल्याएको श्रेष्ठले बताए ।

‘हामीले हात खाली नजाने उपहार ल्याउने तयारी गरिरहेका छौं, अफरमा २० हजार रुपेयाँ नगदसम्मको स्कीम छ, लक्की ड्रबाट स्कुटी उपहार पाउने व्यवस्था पनि ल्याउँदैछौं,’ उनले भने ।

उनले लक्की ड्र मार्फत वासिङ मेसिन, टीभि सेट लगायतका सामान पाउने व्यवस्था पनि गरेको बताए । उनले यी अफरहरु तिहार छठसम्म रहने बताए । उनले दैनिक उहारदेखि साप्ताहिक उपहारको पनि व्यवस्था गरेको बताए ।

लबिम मल

लबिम मलले पनि दशैं तिहारको अवसरमा विभिन्न स्कीम तथा अफरहरु ल्याएको छ । दशैं तिहारमा आफना ग्राहकवर्गहरुलाई लक्षित गर्दै लबिम महलले खुद्रा सामाग्रीको खरिदमा ६० प्रतिशतसम्म छूटको व्यवस्था गरेको छ ।

यस्तै लबिङ मलमा सेल्स तथा विशेष अफरहरु ल्याएको छ । विशेष छूटमा बाई वान गेट वान फ्रि अफर र गिफ्ट भौचरहरुको व्यवस्था गरेको लबिङ मलका मार्केटिङ म्यानेजर सम्राट योगीले बताए ।

उनका अनुसार लबिम मलका अधिकांश अफरहरु तिहारसम्मका लागि हुने छन् । योगीले लक्की ड्रमार्फत पनि स्कुटर, यामाहा बाइक क्यामरा, साइकल लगायत अन्य घरायसी सामानहरु पाउन सक्ने बताए ।

शेर्पा मल

काठमाडौंका दरबारमार्गस्थित शेर्पा मलले पनि दशैं तिहारलाई लक्षित गरेर विभिन्न स्कीम तथा अफरहरु ल्याएको छ ।
शेर्पा मलका व्यवसायीले ‘फेस्टिभ अफर’ योजना ल्याएका छन् ।

व्यवसायीहरू आफैंले फेस्टिभ अफर र पुराना सामानमा छुट राखेको मलका म्यानेजिङ डाइरेक्टर सञ्जीव तुलाधरले बताए । ‘व्यवसायीले नयाँ सामानमा १० देखि २० प्रतिशतसम्म छुट दिइरहेको उनले बताए । उनले नयाँ भन्दा पनि पूराना सामानमा बढी छुट दिइरहेको बताए ।

विशाल बजार

विशाल बजार मलले पनि दसैं अफर ल्याएको छ । यो योजनामा आफ्ना पसलका सामानमा व्यापारीहरूले ४० प्रतिशतसम्म छुट राखेको विशाल बजार व्यापार संघले बताएको छ ।

दशैं तिहारलाई लक्षित गरेर मलमा रहेका व्यापारीहरुले विभिन्न सामानमा विभिन्न छुट तथा स्कीमहरु ल्याएका छन् ।
कोभिड–१९ को बढ्दो संक्रमणका कारण करिब ६ महिना लामो लकडाउन खेपेका व्यवसायीले आफ्नो व्यापारलाई उकास्न र किनमेलको चहलपहल बढाउन यी योजना ल्याएको बताएका छन् ।

यसका साथै मलहरूले ग्राहकलाई सावधानी अपनाउन कोभिड–१९ को संक्रमणबाट जोगिन मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गर्न विभिन्न सूचनासमेत टाँसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.