२०७७ मंसिर २ गते १३:०५ विकासन्युज
सेयर दलालहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएशन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध निर्वाचित भएका छन् । ब्रोकर नम्बर ३६, सेक्यूर्ड सेक्यूरिटिजका अध्यक्षसमेत रहेका मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । नवनिर्वाचित अध्यक्ष मैनालीले यसअघि पनि एशोसिएशनमा सदस्य र महासचिवको भूमिका निर्वाह गरिसकेका छन् । पुँजी बजारका विषयमा विभिन्न अध्ययन विश्लेषण गर्दै आएका मैनाली नेतृत्वको कार्यकाल दुई वर्षको हुनेछ । यससँगै, आगामी दुई वर्षको योजना के छ ? बजार सुधारको लागि के कस्तो पहल गर्नुहुन्छ ? भन्ने जस्ता विषयमा केन्द्रीत रहेर नवनियुक्त अध्यक्ष मैनालीसँग विकासन्युजका लागि मञ्जरी पौडेलले गरेको कुराकानी गरेकी छन्ः
स्टक ब्रोकर एशोसिएशनको अध्यक्ष हुनुभयो, पहिलो प्राथमिकतामा के-कस्ता योजना र कार्यक्रम राख्नुभएको छ ?
अब आगामी दुई वर्षको लागि कसरी जान्छौं भन्ने हो । यसमा दुई वटा कुरा छ । हामी समग्र बजारमै तल्लो तहमा छौं । यसलाई माथि उकास्न हामीले गर्न सक्ने र हामीभन्दा माथिल्लो निकायले गर्न सक्ने गरी दुई कोणबाट हेर्नुपर्छ ।
पहिलो प्राथमिकतामा हामी आफैले गर्न सक्ने कामलाई राखेका छौैं । ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस), जुन हामीले ल्याउनको लागि एउटा छुट्टै कम्पनी नै दर्ता गरेका छौं । जसको नाम हो क्याप टेक नेपाल प्राइभेट लिमिटेड । यो दशैं अगाडि नै दर्ता भइसकेको कम्पनी हो ।
यो एउटा विश्वस्तरीय ट्रेड म्यानेजमेन्ट सिस्टम हो । विश्वस्तरीय भन्नाले, जसको मोबाइल एप्लिकेशन पनि हुन्छ । मोबाइलबाटै अर्डर राख्न, झिक्न मिल्छ । त्यसपछि विभिन्न मार्केटमा काम लाग्ने पनि हुन्छ, जस्तै, भोलि डेरिभेटिभ मार्केट आयो भने त्यसको लागि पनि काम लाग्ने । र, जति पनि उपकरणहरु विदेशी मार्केटमा चलिरहेका छन्, त्यसमध्ये अधिकांश उपकरणहरुको कारोबार गर्न मिल्ने सुविधा यो सिस्टममा हुन्छ ।
त्यसपछि लगानीकर्तालाई चाहिने सम्पूर्ण सूचीकृत कम्पनी सम्बन्धी, नेप्से लगायत अर्थतन्त्र सम्बन्धी विभिन्न तथ्यांकहरु पनि त्यसमैमा राखिन्छ । यति मात्रै नभएर त्यहाँ उपलब्ध डेटाहरुलाई आधारभूत वा प्राविधिक दुबै तरिकाले विश्लेषण गर्न मिल्ने खालको टीएमएस ल्याउने भन्ने हो ।
त्यो ल्याईसके पछि अहिले लगानीकर्ताहरुले जुन समस्या भोगिरहनु भएको काम गर्न गाह्रो हुने, ब्रोकरले नगरिदिएको भन्ने गुनासाहरु जस्ता विषय सम्भवतः उक्त टीएमएस आएपछि त्यो सबै हट्छ भन्ने विश्वास छ । र, बजारलाई त्यसले एउटा लेभलमा पुर्याउँछ । साथै, देश तथा विदेशमा रहेका धेरै लगानीकर्तालाई बजार प्रवेश गर्न थप सहज हुन्छ । त्यसैले, फोकसमा रहेको पहिलो काम मध्ये यो हो, जुन हामी ब्रोकर आफैले गर्न सक्ने छौं ।
त्यसपछि अरु भनेको लगानीकर्ता सचेतनाका कामहरु गर्ने । यो पनि हामी आफैले गर्न सक्छौं । अरु भनेको ब्रोकरहरुको कार्यक्षेत्र विस्तार गर्ने भन्ने हो । नयाँ तथा थप कार्यालयको लागि हामीले हामीभन्दा माथिको निकायलाई अनुरोध गर्नुपर्छ । आफुले जानेका कुराहरु सुझावको रुपमा दिने हो ।
अर्को पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस, त्यसपछि अन्डर राइटिङ्गको काम हो । बुक बिल्डिङ्ग कै प्रक्रियामा प्राथमिक निष्काशनहरु जाँदैछ । त्यसमा पनि ब्रोकर सहभागी हुन पाउने व्यवस्था आवश्यक छ । त्यस्तै, एउटा फुलफेज ब्रोकर हुनको लागि ब्रोकरहरुले के के सेवा दिनुपर्छ जस्तै, रिसर्च गर्ने, एडभाइस दिनेलगायतका कामहरु पर्छन् । यी सबै गर्नको लागि पहल गर्ने, आफूले सकेको आफ्नो क्षमता अभिवृद्धि गर्ने भन्ने मेरो प्राथमिकता छ । यी कार्यहरु गर्नको लागि चाहिने क्षमता अभिवृद्धि गर्ने काम पनि सँगै अघि बढाउनु पर्नेछ ।
मार्जिन ट्रेडिङ्ग आइसकेको छ । त्यसलाई बजारमा कसरी एयाट्राक्टिभ बनाउन सकिन्छ भन्ने अर्काे सन्दर्भ पनि छ । नियम पनि आएको छ । कार्यान्वयन पनि भएको छ । तर त्यो चल्न सकिरहेको छैन । के गरेर यसलाई चलाउन सकिन्छ र बजारमा अधिक तरलता सिर्जना गर्न सकिन्छ भन्ने ध्यान दिन जरुरी छ । यसमा धितोपत्र बोर्डले पनि एकदमै चासो राखेको छ । यसमा कसरी अगाडि बढ्न सकिन्छ भनेर फोकस गर्नुपर्नेछ । अन्य सबै कामहरु लगानीकर्ताका लागि नै ल्याउने भन्ने हो । त्यसमा ब्रोकरलाई पनि लाभ हुने र लगानीकर्तालाई पनि थप लाभ हुने छ । हाम्रो यो कार्यकालमा यसरी नै जाने छौं ।
सेयर बजारमा थप सुधार गर्नुपर्ने विषय के के छन् ? कस्तो योजना बनाउनु भएको छ ?
बजार विकासको लागि विभिन्न नयाँ नयाँ उपकरणहरु ल्याउने, जुन आफ्नो क्षमताले ल्याउन सकिन्छ । अब अहिले नै कुरा त नगरौं । बेला पनि भाएको छैन । तर, आजको हाम्रो परिवेशमै ल्याएर गर्न सकिने कामहरु, जुन भएको छैन, त्यसको लागि आफू लागि पर्ने र सर सल्लाह तथा सुझाव दिने कामहरु गर्छु । जस्तै, इन्टायर्ड ट्रेडिङ्ग भनेको थुप्रै वर्ष भइसक्यो । त्यो ल्याउन सकिन्छ । बोण्ड मार्केटलाई अझै लिक्विड बनाउन सकिन्छ । सामान्य खालका डेरिभेटिभ प्रडक्ट ल्याएर कारोबार गराउन सकिन्छ । त्यसैले अहिले धेरै ठूलो कुरा गरेर प्रचारवाजी मात्रै हुन्छ । यति कामहरु गर्न सक्यौं भने बजार विकास हुन्छ ।
अर्को रियल इन्भेष्टमेन्ट ट्रष्ट भन्ने छ । हाम्रो रियल इन्भेष्टमेन्ट सेक्टरमा ठूला ठूला व्यवसायिक घरनाहरुको लगानी छ । हाम्रो बचतकर्ताहरुको आकर्षणको क्षेत्र भनेको रियल सेक्टर पनि हो । सरकारले यसलाई पारदर्शी बनाउने, राजश्व असुल्ने, कारोबार पारदर्शी बनाउने काम गरिरहेको छ । अझै थप गर्नुपर्ने पनि होला । रियल इन्भेष्टमेन्ट ट्रष्टलाई पनि हामीले चाँडो ल्यायौं भने साना साना लगानीकर्ताले पनि लाभ लिन सक्नेछन् । यस्ता संस्थाहरु आउँन पनि तयार छन् । रियलस्टेटमा लगानी गर्ने हाम्रो जनताको त कुरा गर्नै परेन । अलिकति बचत भयो कि सबैको ध्यानै त्यही हुन्छ । तर त्यसमा साना साना बचतकर्ताहरु बिमुख भइरहेका छन् । यसलाई व्यवस्थित रुपमा ल्याउन सक्यौं भने सरकारले पहिलेदेखि चाहेको कुरा पनि फुलफिल हुने छ । र, साना साना पैसा भएर घरजग्गाको लाभ लिन नसक्नेहरुलाई पनि लाभ मिल्ने, म्युचुअल फण्ड जस्तो योजना ल्याउन सकिन्छ ।
यस्ता यस्ता कामहरु छोटो समयमा गर्न सकिन्छ । अहिले भैराखेको पूर्वाधारले पनि साथ दिने यी काममा फोकस गर्यौं भने ठीक होला जस्तो लाग्छ ।
यी कामहरु गर्नको लागि चुनौतिहरु के के छन् ?
चुनौतिको विषयमा भन्नु पर्दा, पहिलोको कामको लागि अर्थात नयाँ टिएमएस सिस्टम ल्याउने भन्नेमा त त्यति ठूलो चुनौति भएन । हामीले खाली धितोपत्र बोर्ड तथा नेप्सेबाट सहजिकरण गरिदिनुहोस् भन्ने मात्र हो । त्यसको लागि चाहिने कानुनी व्यवस्था बनाइदिने र सहजिकरण गरिदिने मात्रै हो । त्यसमा त्यति ठूलो चुनौति छैन ।
कम्पनी दर्ता भइसक्यो अब विदेशमा टेष्टेड प्रणाली ल्याउने भनेका छौं । हामी आफै बनाउँदैनौं । त्यो प्रणाली ल्याउँदा कतै कानुनी बाधाहरु देखिएला, त्यो फुकाइदिनु पर्यो । प्रणाली इन्टिग्रेट गर्नको लागि सहजिकरण गराइदिनु पर्यो ।
अर्को लगानीकर्ता सचेतनामा खासै चुनौति छैन । ब्रोकरको कार्यक्षेत्र विस्तारमा अलिकति हाम्रो आफ्नै पनि क्षमता अभिवृद्धि गर्नुपर्ने हुन्छ । यसमा हुम्यान रिसोर्स तथा क्यापिटलको पाटो पर्ने भए । त्यसै पुँजी बढाउने कुरा आएन । व्यवसाय थप्दा पुँजी नथप्ने कुरै भएन । यसमा हामी ब्रोकर साथीभाइहरु सबै पोजेटिभ नै छौं ।
यी बाहेक अन्य कामको लागि अन्य देशको अभ्यास कस्तो छ, त्यो हेरेर यहाँ आउनु पर्यो । यहाँको कानुनी व्यवस्था अनुसार परिमार्जन गर्नुपर्ने हुन सक्छ । अब नयाँ उपकरण भन्ने बित्तिकै लगानीकर्ताहरु इक्विटीमा मात्रै व्यस्त छन् । अब आउने नयाँ उपकरणको बारेमा बुझाउनु पर्यो, सचेतना फैलाउनु नै पर्यो । मूख्य चुनौतिहरु यिनीहरु नै हो । एकदमै हाईफाई प्रडक्ट ल्याउन अहिले बेला भएको छैन जस्तो लाग्छ । तर, यी खालका प्रडक्टहरु ल्याउनलाई सबै पक्ष मिल्ने हो भने त्यति ठूलो चुनौति, गर्नै नसकिने भन्ने छैन ।
पछिल्लो समय ब्रोकर कमिशन घटाउनको लागि दवाव आईरहेको देखिन्छ, धितोपत्र बोर्डले पनि छिट्टै अन्तिम रुप दिनुपर्छ भनिरहेको छ । यसमा तपाईंको धारणा के छ ?
कमिशनको विषयमा नियमनकारी निकाय धितोपत्र बोर्डले अध्ययन गरिसकेको छ । के कसरी गर्न सकिन्छ भनेर प्रतिवेदन समेत तयार भइसकेको छ । यसलाई अन्तिम रुप दिन सबै ब्रोकरहरुसँग छलफल गर्ने भनेर बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भन्नुभएको छ । उहाँको कुराले हामी एकदम उत्साहित भएका छौं ।
तर, हाम्रो भनाई के हो भने कमिशनको बारेमा निर्णय गर्दा धेरै कुरा हेर्नुपर्छ । किनभने यो भनेको ब्रोकरको आजसम्मको एउटै मात्र आम्दानीको श्रोत हो । विगतमा पनि दुई पटक घटिसकेको छ । र, पछिल्लो समयमा तीन वर्ष अगाडि पनि एकैपटक करिब ४० प्रतिशतले कमिशन घटाइयो । त्यो घटाउँदा त्यसले बजारमा सुधार हुन्छ, कारोबार पनि वृद्धि हुन्छ भन्ने थियो । तर, कमिशन घटाएको दिनदेखि बजार पनि निरन्तर घटिरहेको र कारोबार पनि घटिरहेको हामीले देख्यौं ।
त्यसैले कमिशनको डाइरेक्ट लिंक बजार सुधारमा छ भन्ने जस्तो गरी व्याख्या भइरहेको छ । त्यो होइन रहेछ भन्ने विगत तीन वर्षको हिस्ट्रीले बताईसकेको छ ।
अर्को कुरा के हो भने, कमिशन भनेको ब्रोकरले लगानीकर्तालाई प्रवाह गरेको सेवाको लागत पनि हो । सेवाको गुणस्तर वृद्धि गर्ने भनेर ठूलो लगानीमा कम्पनी खोल्दै छौं । विदेशमा टेष्टेड सिस्टम ल्याउने हो भने त्यही किसिमको हामीलाई कर्मचारी पनि चाहिन्छ । कर्मचारीमा ठूलो लगानी गर्नुपर्ने हुन्छ । टेक्नोलोजी लगायत अन्य विभिन्न उपकरणहरुमा त्यही अनुसारको लगानी गर्नुपर्ने हुन्छ ।
हामीले सोचेको सेवा उपलब्ध गराउनको लागि जुन लागत लाग्छ, त्यसबाट के हुन्छ, लगानीकर्तालाई कत्तिको लाभ मिल्छ, उहाँहरुले कत्तिको सहजता महशुस गर्नुहुन्छ । यो सबै विषयलाई हेरौं भन्ने एउटा कुरा हो ।
अर्को, दुई तीन महिना कारोबार बढ्यो भन्दैमा त्यसकै आधारमा कमिशन घटाइहाल्दा त्यसले पछि गएर अन्यथा हुन्छ कि भन्ने लाग्छ । त्यसैले, एउटा पुरै साइकल नै हेर्नुपर्छ भन्ने हो । यसको मतलब बजार उकालो लाग्दा (अप ट्रेण्ड) र ओरालो लाग्दा (डाउन ट्रेण्ड) को पुरा साइकल (चक्र) भरिमा ब्रोकरहरुको कमाई कति रहेछ त भनेर अध्ययन गरौं ।
अर्को, २/४ वटा ब्रोकरले धेरै कमाए भनेर पनि कमिशन घटाउने भन्ने आवाज पनि उठाउनु भएन । ५० वटैको हेर्नु पर्यो, एभरेजमा हेर्नु पर्यो । यी सबैको अवस्था हेरेर निर्णय गरौं भन्ने हो । यसमा बोर्डका अध्यक्षले पनि छलफल गरौं भन्नुभएको छ ।
विदेशमा जिरो कमिशन छ भन्ने कुरा जुन मिडियामा सुनिरहेका हुन्छौं । त्यसले अर्थ राख्दैन । यो विषय नै अल्पज्ञान हो जस्तो लाग्छ । किनभने भारतमा जिरो कमिसनमा काम गर्ने गर्ने भनेर सबैभन्दा बढी नाम चलेको ब्रोकर नै सबैभन्दा धेरै कमाउने ब्रोकरमा पर्छ । भनेपछि उसले अवश्य पनि त्यो कमाई लगानीकर्ताबाटै गरेको हो । यसैले के के फरक छ विदेश र यहाँ भनेर हेर्नुपर्छ भनेका हौं । विदेशका ब्रोकरहरुले कुन कुन श्रोतबाट कमाउँछन्, उनीहरुको कारोबारको साइज के छ, उनीहरुको मार्केटको साइज कत्रो छ, यी सबै विषय तथा अवस्थालाई हेरेर समग्रमा निर्णय गर्दा दीर्घकालिन समाधान निस्किन्छ । र, पछि गएर फेरि गलत गरियो कि भन्ने किसिमको माहोल नहोला ।
व्यक्तिगत रुपमा भन्नु पर्दा यी सबै विषयलाई हेर्दा हाम्रो कमिशन घटाउनु पर्छ जस्तो म देख्दिनँ । र, अर्को कुरा के छ भने हामी नेप्सेको कमिशनलाई नै ब्रोकरको कमिशन भन्छौं । त्यसलाई पनि छुट्याएर हेर्नु पर्यो । छुट्याएर हेर्दा इन्डियाको ठूलो ठूलो कर्पोरेट ब्रोकरहरुले लिएको कमिशन तथा हाम्रो कमिशन त्यहि आसपास अथवा त्योभन्दा कम नै देखिन्छ । त्यसैले यी सबैलाई हेरेर निर्णय गरियो भने निकास निस्किन्छ जस्तो लाग्छ ।
यी सबै विषयलाई विचार गरौं । सबै विषयलाई विचार गरेर गरिएको निर्णयमा हामी नाईं भन्दैनौं, घटाउनै परे पनि हामी राजी हुन्छौं ।
अहिले सेयर कारोबार पूर्ण रुपमा अनलाईनबाटै भइरहेको छ । लगानीकर्ताले आफै अर्डर दिनेलगायतका कामहरु गर्छन् । त्यसैले ब्रोकरलाई किन कमिशन भनेर उनीहरुले आवाज उठाइरहेका छन् । उनीहरुको भनाई ठिक हैन र ?
यहीँनेर बुझाईंमा कमी छ । उहाँहरु पहिला ब्रोकर अफिश आउनुहुन्थ्यो अथवा फोन गर्नुहुन्थ्यो । ब्रोकरकै साहारा लिनु पर्थ्यो । अहिले आफैं अर्डर राख्नुहुन्छ । आफै अर्डर राख्दा ब्रोकरलाई किन कमिशन भन्ने कुरा हो । पहिला पेमेन्ट पनि लिन दिन झन्झट थियो । चेक लिएर धाउनु पर्थ्यो ।
तर, हाम्रो प्रणाली यस्तो प्रणाली छ कि जसले गर्दा ब्याक अफिसमा अझ धेरै स्टाफ चाहिएको छ । पहिला चेक लिँदा ब्याक अफिसमा मात्रै प्रोसेसिङ्ग गर्दा हुन्थ्यो भने अहिले टीएमएसमा पनि गर्नुपर्यो, ब्याक अफिसमा पनि गर्नु पर्यो । प्रणालीले जोखिम त्यत्तिकै बढाएको छ । जोखिमको निगरानी गर्नको लागि थप कर्मचारी राखिरहेका छौं ।
उहाँहरुको पाटोबाट हेर्दा ब्रोकरलाई कमिसन दिनै पर्दैन भन्ने भनाई पनि ठिक हो । तर हामीले अनुभव गरिरहेका के छौं भने यो अनलाइन आउँदै गर्दा हाम्रो लागत घटेको छैन । उल्टै बढेको छ । यो कुरा पनि हामीले बुझ्न जरुरी छ । यसलाई पनि छलफलको विषय बनाउँ । र, अघिको सबै विषयलाई हेरेर निर्णय गर्दा ठिक हुन्छ ।
बैंक इन्टिग्रेशनको काम छिट्टै सक्न बोर्डबाट निर्देशन आईसकेको छ । कहिले सकिन्छ यो काम ?
बैंक इन्टिग्रेशनको पाटो पनि नयाँ सिस्टम आएपछि सबै क्लियर हुन्छ । यसमा पनि हामीले कस्तो बैंक इन्टिग्रेशन खोजेको भन्नेमा क्लियर हुनुपर्छ । लगानीकर्ताको बैंक खातामा भएको पैसालाई सिष्टमले चेक गरेर गर्ने कारोबार, त्यो त्यति धेरै सम्भव देखिन्न । त्यो भनेको अर्को लेभलको कुरा भयो ।
लगानीकर्तालाई चाहिने भनेको अनलाइनबाटै फण्ड लिने दिने काम हो, जुन नयाँ सिस्टममा आउँछ । तर, बैंक इन्टिग्रेशनको दुई किसिमको परिभाषा छ । त्यसमध्ये कुनमा जाने भन्ने हो । विदेशमा एकदम राम्रा राम्रा कर्पोरेट ब्रोकरहरुले दिएकै सेवा हामी दिन सक्छौं । त्योभन्दा फरक हुँदैन । इन्टिग्रेशनमा त्यति समस्या हुन्न । जुन अहिले नभएको हैन, भएकै छ ।
सबैबाट भयो र ?
हैन । सबै बैंकमा गएर सिस्टमले इन्टिग्रेट गरेर खाता चेक गर्ने भन्ने त्यो सम्भव हुन्न । किनकि सेयर बजार भनेको यस्तो ठाउँ हो, जुन लगानीकर्ताले अर्डर गरेको न्यायो सेकेण्डमा त्यो अर्डर सिष्टममा पुग्नु पर्यो । त्यो अडरलाई चारतिर लगेर घुमाउन थाल्यौं, भ्यालिडेशन गर्न थाल्यौं भने त्यसबाट लगानीकर्ताले लाभ लिन नसक्ने, लगानीको अवसर गुमाउने पनि हुन सक्छ । त्यसैले हामीले कुन लेभलको बैंक इन्टिग्रेशन चाहने हो भन्ने बुझ्नु पर्यो । र, फेरि पनि भन्छु अन्तर्राष्ट्रिय प्राक्टिसमा जे भएको छ, हामी त्यहीँ लेभलको इन्टिग्रेशन गर्न सक्छौं । त्यो भन्दैमा राष्ट्र बैंकबाट स्वीकृत पाएका सबै बैंकहरुमा गएर खाता सिस्टमले चेक गर्ने भन्ने कुरा भने सम्भव हुँदैन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.