२०७७ मंसिर ५ गते १६:१५ विकासन्युज
काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)मा मागभन्दा साढे ७ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार गत बुधबार(मंसिर ३ गते)देखि आज शुक्रबार(मंसिर ५ गते) अपराह्न चार बजेसम्ममा मागभन्दा ७.५६ गुणा बढी आवेदन परेको हो ।
क्यापिटलका अनुसार सो अवधिसम्म ३ लाख ५४ हजार ५ सय ८१ जना आवेदकले ६६ लाख १२ हजार १ सय ६० कित्ता सेयरको लागि आवेदन दिएका छन् । कम्पनीले सेयर निष्काशन गरेको तेश्रो दिनसम्ममा कूल ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ ।
कम्पनीले गत बुधबार मंसिर ३ गतेदेखि ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे थियाे । यससँगै सेयरधनीले साे दिनदेखि कम्पनीकाे सेयर भर्न पाउने भएका छन् । क्यापिटलका अनुसार इच्छुकले आगामी आइतबार(मंसिर ७ गतेसम्म) न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गरेकाे हाे ।
जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।
उक्त सेयर निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर खुद सम्पत्ति ८५.८२ रुपैयाँ र प्रतिसेयर प्रतिसेयर आम्दानी (१२.९७) रुपैयाँ अर्थात ऋणात्मक रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ९७.६९ रुपैयाँ र ८.३३ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.