२०७७ मंसिर ३० गते १४:२९ विकासन्युज
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित भएको छ । मंसिर ३० गते सम्पन्न कम्पनीको ५३ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर गरी ३५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । कर्पोरेशनले अंगालेको व्यापार विविधिकरणको नीति अनुरुप कर्पोरेशनको चुक्ता पुँजीको आवश्यकतालाई दृष्टिगत गरी उक्त लाभांश वितरण गर्न लागेको हो ।
कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्षा गरि आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।
कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धीमूलक रहेको छ । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरि सामाजिक उत्तरदायित्व वहन गर्दै ८ अर्ब २५ करोड रूपैयाँको कारोबार गर्न सफल भएको छ । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७५।०७६ मा कुल मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ ।
विगत वर्षमा कर्पोरेशनले आयात गरेको चिनी मध्ये २५०० मे.टन चिनी भंसार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भंसार विन्दुमा रोकिएको कारण कर्पोरेशनको चिनीको कारोबारमा कमि एवं भंसारमा रोकिएको कारण डेमरेज चार्ज वापत तिर्नु परेको रकमको कारण आर्थिक भार पर्न गएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.