२०७७ पुष १ गते ११:५८ विकासन्युज
काठमाडौं । सेयर कारोबारमा लाग्ने ब्रोकर कमिसन घटाउने अन्तिम गृहकार्यमा धितोपत्र बोर्ड छ । बोर्डले अबको केही दिनभित्रै ब्रोकर कमिसन घटाउने भनेको छ ।
लगानीकर्ताका संघ संस्थाहरुले अहिलेको ब्रोकर कमिसन घटाएर ०.२५ प्रतिशत बनाउन माग राखेका छन् । अहिले सेयर कारोबारमा ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिसन दिनुपर्छ ।
सेयर कारोबार गर्नेहरुसँग कमिसनका रुपमा ब्रोकरले रकम लिने गरेको भएपनि यस्तो रकम सबै ब्रोकरले पाउँदैनन् । ब्रोकरले उठाएको कमिसनबाट ३० प्रतिशत कर सरकारलाई, २० प्रतिशत नेप्सेलाई कमिसन र ६ प्रतिशत धितोपत्र बोर्डलाई कमिसन बुझाउँछन् ।
ब्रोकरले कुनै कारोबारमा सय रुपैयाँ कमिसन लिएको छ भने त्यसबाट ३० रुपैयाँ करको रुपमा नेपाल सरकारले, २० रुपैयाँ नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले र ६ रुपैयाँ धितोपत्र बोर्डले पाउँछन् । बाँकी रहेको ४४ रुपैयाँ ब्रोकरले पाउने हो ।
यस्तो अवस्थामा ब्रोकरले पाउने कमिसन मात्रै कम भएमा लगानीकर्ताका संघ संस्थाहरुको माग अनुसार कमिसन दर कम हुने सम्भावना छैन । नेप्से र बोर्डले पाउने कमिसन दर पनि कम गरेमा भने कमिसन घटाउन सम्भव हुने देखिएको छ ।
अहिले ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा ०.५५ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.५० प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.४५ प्रतिशत र १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबारमा ०.४० प्रतिशत कमिसन लाग्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.