२०७७ पुष १ गते २०:०८ विकासन्युज
काठमाडाैं । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको प्राथमिक सेयर(आईपीओमा) आवेदन दिने म्याद आजबाट सकिएकाे छ । संस्थाले आयोजना प्रभावित क्षेत्रका स्थानीयकाे लागि बिक्री खुला गरेकाे उक्त सेयरमा माग भन्दा बढी आवेदन परेकाले ताेकिएकाे छिटाे मितिमै सेयर निष्काशन बन्द गरिएकाे हाे ।
कम्पनीले गत मंसिर १७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेको हो । जसमा १६ कराेड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार पुस १ गते बुधबार साँझ ५ बजेसम्ममा ४ हजार ८१४ आवेदकले १६ लाख ८५ हजार ५३० कित्ता सेयरको लागि आवेदन परेकाे छ । जुन संस्थाले माग गरेकाे भन्दा करिब साढे ५ गुणा बढी हाे ।
कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिरहेको छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे ।
उनीहरूले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन खुला गर्ने भएकाे थियाे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.