२०७७ पुष ३ गते ११:०६ विकासन्युज
काठमाडौं । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैठकले गत आवको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश(कर सहित) गरी १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २९ गते बुधबार बस्दै छ । सभा सो दिन पर्सा जिल्लाको विरगञ्जको लिपनिविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने छ ।
सभामा जाने प्रयोजनको लागि आगामी पुस १७ गते शुक्रबार एक दिन कम्पनीको बुक क्लोज हुने छ । यससँगै कम्पनीकाे प्रस्तावित लाभांश पाउन आगामी पुस १६ गतेसम्म कम्पनीको सेयर किन्नु पर्ने छ । साे अवधिसम्म सेयर किनेका सेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउने छन् र कम्पनीकाे साधारण सभामा पनि भाग लिन पनि योग्य हुने छन् ।
पछिल्लो समय दाेश्राे बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ हजार ४ सय रुपैयाँ रहेको छ । गत बिहीबार(पुस २ गते) को बजारमा कम्पनीको सेयर मूल्य २५ रुपैयाँ अर्थात ०.५७ प्रतिशतले बढेर प्रतिकित्ता ४ हजार ४ सय रुपैयाँ पुगेको हो । जबकी बुधबारको बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ हजार ३ सय ७५ रुपैयाँ रहेको थियो ।
उक्त प्रस्तावित लाभांश अघिल्लाे आवकाे तुलनामा कम हाे । कम्पनीले अघिल्लाे आव २०७५/७६काे नाफाबाट सेयरधनीलाई १०२.६३ प्रतिशत लाभांश(५० प्रतिशत बाेनस र ५२.६३ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.