२०७७ पुष ३ गते १४:०५ विकासन्युज
काठमाडौं । विदेशमा कोरोना भाइरसको संक्रमणमा परेर मृत्यु भएका परिवारलाई आइएमईपेले ३९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । आइएमईपेले शुक्रबार एक कार्यक्रमको आयोजना गरी काेराेना भाइरसको कारण मृत्यु भएका परिवारलाई जनही ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कोरोना भाइरसको कारण विदेशमा मृत्यु भएका श्रमिकहरुका आफन्तहरुलाई सहयोग गर्ने उद्धेश्यले आइएमई भरोशा कोषको रकम हस्तान्तरण गरेकाे बताएकाे हाे ।
आइएमईपेले ७९ जना पीडित परिवारलाई जनही ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पीडितहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।
उनले चेक हस्तान्तरण कार्यक्रममा बोल्दै पीडित परिवारको घाउमा मल्हम लगाउने उद्धेश्यले सानै भएपनि सो रकम सहयोग गरेको बताए ।
‘म आफै पनि कोरोना संक्रमित भएँ, कोरोना भाइरस संक्रमित र संक्रमितका परिवारलाई हुने पीडा मैले आफैले महसुस गरेको छु, हामीले हाम्रो संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम सहयोग गरेका छौं, यसले थोरै भएपनि पीडितको घाउमा मल्हम लाग्छ,’ उनले भने ।
यस्तै, कार्यक्रममा आइएमईपेका प्रवन्ध निर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोषले प्रभावित परिवारलाई केही न केही सहयोग पुग्ने उल्लेख गर्दै देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको निधन हुनु धेरै दुखद भएको भन्दै पीडित परिवारहरुलाई सहयोग गरेकाे बताए ।
‘हामी सबैले एक अर्कालाई सहयोग गर्ने बानी बसालौं, यो एउटा हाम्राे सुरुवाती मात्र हो, भोलि हामी जस्तै धेरै संस्थाहरुले पनि यस्तो अभ्यास गरुन् भन्ने हाम्रो सोच हो, ’ उनले भने ।
यस्तै, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत पोखरेरले पनि भरोशा कोष स्थापनाको उद्धेश्यमाथि प्रकाश पारे । उनले संस्थाको उद्धेश्य नाफा हेर्ने मात्र नभई संस्थागत सामाजिक उत्तरदायित्व पनि भएकोले तयसको उद्धेश्य र पीडित परिवारहरुको घाउमा मल्हम लगाउने प्रयास आफुहरुले गरेको बताए । कार्यक्रममा आईएमईपेका ब्राण्ड एम्बास्डर दिपकराज गिरी र दिपाश्री निरौला पनि उपस्थित थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.