२०७७ पुष १४ गते १४:०२ सन्तोष मैनाली
कमिसन घट्ने भन्ने सन्दर्भ पहिलादेखिकै हो । योभन्दा अघि बजार घटेर अन्दोलन पनि भएपछि अर्थमन्त्रालयले एउटा समिति नै बनाएको थियो । त्यो समितिले तयार पारेको ५८ बुँदे प्रतिबेदनमा ब्रोकर कमिसनका बारेमा अध्ययन गर्ने र घटाउन सकिने अवस्था रहेछ भने घटाउने भन्ने विषय समावेश थियो । जतिबेला कमिसन घटाउने विषय उठ्यो, त्यो बेला हामी ब्रोकरहरु घाटामै संचालन भइरहेका थियौं । त्यसैले त्यो बेला सम्भव थिएन ।
भविष्यलाई हेरेर कमिसन घटाउन सम्भव छ कि भन्ने ठानेर अर्थमन्त्रालयले निर्देशन दियो । मन्त्रालयको निर्देशन अनुसार धितोपत्र बोर्डले एउटा अध्ययन समिति नै बनायो । त्यो समिति बनेपछि पनि बोर्डमा गएर हामीले बारम्बार हाम्रो कुरा भनिरहेका थियौं । हामीहरु घाटामै संचालन भइरहेका छौं, भोलि कारोबार बढेर आम्दानी बढ्ला । तर, कमिसन घटाएपछि ब्रोकरको आर्थिक अवस्थामा कस्तो असर पर्छ भन्ने कुरा पनि हेरौं भन्ने हाम्रो कुरा थियो ।
अर्काे कुरा, ब्रोकरहरुले जुन किसिमको परिकल्पना गरेर नयाँ कारोबार प्रणाली ल्याउनदेखि सेवाको गुणस्तर बृद्धि गर्नेसम्मको विषय थियो, त्यसमा कस्तो असर पर्छ भनेर पनि अध्ययन गरियोस् । कमिसन घट्नै हुन्दैन भन्ने होइन । कारोबार धेरै बढ्यो भने कमिसन घटाउँनु ठिक होला । तर, कमिसन घटाउँदा दीर्घकालिन रुपमा ब्रोकरको आर्थिक अवस्थामा कस्तो असर पार्छ, ब्रोकरहरु सस्टेन गर्न सक्छन् कि सक्दैनन् भनेर विशेष ध्यान दिनुपर्छ भन्ने हाम्रो कुरा थियो ।
कमिसन भनेको कारोबारसँग प्रत्यक्ष सम्बन्ध भएको विषय थियो । मार्केट साइकल अनुसार कारोबार कहिले बढ्ने र कहिले घट्ने अवस्था भइरहेको छ । अर्काे कुरा भनेको दीगो आम्दानीको स्रोतहरु जस्तै, मार्जिन ट्रेडिङ, पोर्टफोलियो म्यानेजमेन्ट, एडभाइजरी जस्ता ब्रोकरले अन्तराष्ट्रिय रुपमा गरिरहेका कामहरुतिर पनि ढोका खोलौं । त्यो काम भएपछि ब्रोकरको आम्दानीको स्रोत बढ्छ, कमिसन घटाएपछि बजारलाई पनि राम्रो असर गर्छ भन्ने हाम्रो कुरा थियो ।
यो कुरा २०७३ सालमा ४० प्रतिशत कमिसन एकैपटक घट्दा पनि हामीले भनेका थियौं । त्यो बेला पनि हाम्रो कुरा सुनुवाई भएन । परिणाम के भयो भने त्यो कमिसन घटाएपछिका ४ वर्षमा २ वर्षसम्म धेरै ब्रोकरहरु घाटामा गए । त्यो अनुभवबाट अहिले पनि हामीले यही कुरामा चासो राखेका थियौं । अहिले पनि अन्य कुराहरुमा कुनै सम्बोधन नगरी खाली नयाँ लगानीकर्ता प्रवेश गराउन प्रोत्साहन हुने र बजारलाई गतिशील बनाउने भन्ने नाममा हाम्रो कमिसन घटाउने मात्रै काम भयो । जबकि नयाँ लगानीकर्तालाई प्रवेश गराउन प्रोत्साहन गर्ने र बजारलाई गतिशील बनाउन गर्नुपर्ने काममा ब्रोकर कमिसन अन्तिमतिर पर्छ । त्यो बाहेकका अरु धेरै विषयहरु छन्, ती विषयमा किन ध्यान नदिएर ब्रोकरहरुले पहिलादेखि नै उठाउँदै आएका एजेण्डाको सम्बोधन नगरी ब्रोकर कमिसन मात्रै किन घटाएको भनेर हामीहरु धितोपत्र बोर्ड पुगेका हौं ।
(स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष मैनालीसँग गरिएको कुराकानीमा आधारित)
Copyright © 2024 Bikash Media Pvt. Ltd.
ग्राहक ले पाउने सेवा सुबिधा मा ब्रोकर को कति ध्यान गयो त यो २-४ वर्ष मा ? महिना दिन सम्म किनेको share account मा हाल्दैन, महिना दिन सम्म बेचेको पैसा ग्राहक ले पाऊदैन/ किन बैंक integration नगरेको, किन automation मा नगएको ? अरु पनि थुप्रै कमि कमजोरी छन् ब्रोकर को / येदि अहिले को कमिसन मा चलाउन सकिन्न भने अरु ब्रोकरलाई आउने बाटो किन रोकेर बसेको ? बैंक लाई किन brokerage सेवा दिन बाट बन्चित गरेको ? के नेपाल को CAPITAL MARKET ५० जनाको पेवा हो ? देस ले OPEN MARKET POLICY अबलम्बन गने अनि CAPITAL MARKET मा CARTELLING कहिले सम्म ?