महामारीले प्रविधिको पोल्टामा फालिदिएको पुँजीबजार

  २०७७ पुष १९ गते १३:५५     मञ्जरी पाैडेल

काठमाडाैं । कोभिड महामारीले विश्वमा नकारात्मक असर बढी पुर्याएकाे भएपनि नेपाली पुँजी बजारका लागि भने महत्वपूर्ण सुधार गराएको छ । महामारी अघि प्रविधिकाे प्रयाेग घिसिपिटी रूपमा हुने गरेकाे नेपाली पुँजीबजारमा महामारीपछि भने प्रविधि अनिवार्य रूपमा भएकाे हाे ।

नेपाल धितोपत्र बोर्डले लकडाउनको समयमा बजारमा सेयर किनबेच गर्न चाहनेले ‘कनेक्ट आईपीएस’मा आवद्ध र ‘मेरो सेयर’को सेवा लिनैपर्ने व्यवस्था गरेको थियो । जुन सँधैको लागि अनिवार्य र लगानीकर्ताको नियमित कार्यशैली बन्दै गएको छ ।

कोभिड अघि कनेक्ट आईपीएस र मेरो सेयर लिने लगानीकर्ता २ देखि ३ हजार जना मात्रै रहेका थिए । तर कोभिड पछि दोश्रो बजारका कूल लगानीकर्ताको करिब ९० प्रतिशत लगानीकर्ता कनेक्ट आईपीएसमा आवद्ध भइसकेका र मेरो सेयरको सेवा सुविधा पनि लिइसकेका छन् ।

घरबाटै सेयर कारोबार गर्ने बढे

कोभिड पछि अनलाइनबाटै सेयर कारोबार गर्नेहरु बढेका छन् । नेपाल स्टक एक्स्चेञ्जका अनुसार पछिल्लो समय करिब ९० प्रतिशत लगानीकर्ताले अनलाइनबाटै सेयर कारोबार गर्ने गरेका छन् ।

नेप्सेले २०७५ कात्तिक २० गतेबाटै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको थियो । कोभिड अघि उक्त प्रणाली मार्फत कारोबार गर्नेको संख्या न्युन थियो भने कोभिडका कारणले लकडाउन भएसँगै उक्त प्रणाली मार्फत कारोबार गर्नेको संख्या ह्वातै बढेको हो ।

केवाईसी र युजर खाता पनि घरबाटै भर्न सकिने

त्यस्तै, सेयर कारोबारका लागि ब्रोकरकोमा गएर अनिवार्य भर्नुपर्ने ग्राहक पहिचान खाता (केवाईसी) र अनलाइन युजर खाता पनि घरबाटै भर्न सकिने भएको छ । लगानीकर्ताले उक्त सुविधा लकडाउन पछि नै पाएका हुन् । यसअघि उक्त फारम भर्न ब्रोकरको कार्यालयमा स्वयम् नै उपस्थित हुनुपर्ने व्यवस्था थियो ।

कोभिड महामारी रोकथाम तथा न्युनिकरणको लागि गरिएको लकडाउका कारण ब्रोकर कार्यालयसम्म पुग्न असहज भएसँगै नेप्सेले उक्त सुविधा ल्याएको हो । उक्त सुविधा लागु गर्न नेप्सेले सबै ब्रोकरहरुलाई निर्देशन पनि दिएको थियो । यससँगै, दोश्रो बजारमा लगानी गर्न इच्छुक नयाँ लगानीकर्ताले ब्रोकरको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) लग(इन गरेर अनलाइन रजिष्ट्रेशन फारमबाट केवाइसी फर्म भर्न सक्ने भएका छन् ।

नेप्से परिसूचक र कारोबार रकम दुबैमा ऐतिहासिक रेकर्ड

अर्थतन्त्रको ऐना मानिने पुँजीबजारले पनि कोभिडको समयमैऐतिहासिक उचाई चुम्न सफल भएको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक र कारोबार रकम दुबैले इतिहासमै नयाँ रेकर्ड राख्न सफल भएका हुन् ।

यो अवधिमा परिसूचकले २०७३ साउन १२ गतेको १८८१ को उच्चतम विन्दुलाई सजिलै पार गरेको छ । गत पुस ८ गते मात्रै परिसूचक२०७९ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो ।

त्यस्तै, दैनिक एक अर्बको सेयर कारोबार हुन पनि धौधौ हुने बजारमा अहिले सजिलै अर्बौको सेयर कारोबार हुन थालेको छ । पछिल्लो समय बजारमा एकैदिनमा ९ अर्ब २२ करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार रकम हो ।

कारोबारको आकार वृद्धि हुनुमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (फुल्ली अटोमेटेड अनलाइन ट्रेडिङ्ग सिष्टम, नट्स) को प्रत्यक्ष योगदान रहेको नेप्सेले बताएको छ ।साथै, रकम भुक्तानी तथा सेयर हस्तान्तरणमा पनि सहजता आएकाले कारोबारमा वृद्धि भएको र त्यसको योगदान नट्स नै रहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताएका छन् ।

सेयर धितो कर्जाको सीमा बढ्यो

दोश्रो बजारमा लगानी गर्नको लागि बैंक तथा वित्तीय संस्थाबाट लिइने ऋण अर्थात सेयर धितो कर्जाको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीति मार्फत उक्त कर्जाको सीमा बढाएको हो ।

बैंकले सेयर धितो कर्जामा मूल्यको ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था गरेको हो । र, सेयर मूल्यांकनको लागि १२० दिनको औसत मूल्य गणना गर्ने पनि व्यवस्था चालु आवको मौद्रिक नीतिले गरेको छ ।

यसअघि १८० दिनको औसत मूल्य गणना गरी सेयर मूल्यको ६५ प्रतिशतसम्म मात्रै कर्जा दिन पाइने व्यवस्था थियो ।

४ वर्षपछि घट्यो ब्रोकर कमिशन

सेयर कारोबारमा लाग्ने ब्रोकर कमिसन घटेको छ । बोर्डले गत पुस १० गते मात्रै सेयर कारोबारमा लाग्ने कमिसनमा ३३ प्रतिशतले घटाएको हो ।

लगानीकर्ताले पटक पटक माग गर्दै आएका र अर्थमन्त्रालयले पनि कमिशन घटाउन निर्देशन दिएसँगै बोर्डले उक्त गृहकार्य गरेको हो । यससँगै नयाँ व्यवस्था अनुसार सेयर कारोबारमा अधिकतम०.४ प्रतिशत र न्यूनमत सीमा ०.२७ प्रतिशत ब्रोकर कमिशन तोकिएको छ । जबकी यसअघि लगानीकर्ताले सेयर किन्दा रकमको ०.६ प्रतिशतसम्म ब्रोकर कमिशन बुझाउनु पर्थ्याे ।

त्यस्तै, २०७३ सालमा पनि ब्रोकर कमिसन ४० प्रतिशतले घटेको थियो ।

सेयर भर्दा ‘पीन कोड’ अनिवार्य

हाल ‘मेरो सेयर’ सफ्टवेयरबाट जुनसुकै कम्पनीको सेयर भर्दा ‘पीन कोड’ चाहिने भएको छ । सीडीएस एण्ड क्लियरिङ्ग(सीडीएससी) ले गत २०७७ असोजदेखि उक्त ‘पीन कोड’ को व्यवस्था गरी अनिवार्य लागू गरेको हो ।

यसअघि मेरो सेयर सफ्टवेयरमा रहेको माई आश्वा मार्फत सार्वजनिक निष्काशन भएका सेयर आवेदन प्रविष्टि गर्दा वान टाइम पासवर्ड (ओटीपी) प्रयोग गर्नुपर्ने थियो । उक्त सेवालाई प्रतिस्थापन गरी सो को सट्टामा पर्सनल आईडेन्टीफिकेसन नम्बर(पीआईएन) कोडको व्यवस्था गरेको सीडीएससीले जानकारी गराएको छ ।

४ डिजिटको हुने उक्त पीन कोड बजारमा निष्काशन हुने कुनै पनि कम्पनीको सेयरमा आवेदन दिँदा अनिवार्य प्रयोग गर्नुपर्छ ।
मेरो सेयर मोबाइल एप सञ्चालनमा सीडीएससीले मेरो सेयरको मोबाइल एप सञ्चालनमा ल्याएको छ । कम्पनीले गत भदौ ३१ गतेदेखि ‘मेरो सेयर’ मोबाइल एपऔपचारिक रुपमा लञ्च गरी सञ्चालनमा ल्याएको हो ।

मोबाइल एपबाट लगानीकर्ताले सहज र गुणस्तरीय सेवा पाउने र सीडीएससीको वेबसाइटमा पनि भार कम पर्ने भएकाले कम्पनीले उक्त सुविधा ल्याएको हो ।

मोबाइलबाटै सेयर भर्न सकिने

हाल लगानीकर्ताले मोबाइलबाटै सेयर भर्न सक्ने भएका छन् । कोभिड अघि ‘मेरो सेयर’बाट सेयर भर्न पनि कम्प्युटर तथा ल्यापटप चाहिन्थ्यो भने अहिले मोबाइल एपबाटै भर्न सकिने भएको छ ।

सीडीएससीले गत भदौमा लञ्च गरेको मेरो सेयर एपमा सफ्टवेयरमा जस्तो ‘माइ आश्वा’ भन्ने फिचर थिएन । उक्त एपबाट प्रयोगकर्ताले सेयर विवरण तथा पोर्टफोलियो मात्रै हेर्न पाउथे ।

कम्पनीले गत मंसिरमा मात्रै मेरो सेयर एपमा ‘माइ आश्वा’ भन्ने फिचर थपेको हो । त्यसपछि मात्रै लगानीकर्ताले मोबाइलबाटै आईपीओ, एफपीओ, हकप्रद, ऋणपत्रमा आवेदन दिन सक्ने भएका हुन् ।

उक्त एपमासेयर विवरण, पोर्टफोलियो, आईपीओ, एफपीओ तथा हकप्रद सेयर आवेदन, भारित औसत लागत गणना, इडीआइएस जस्ता सुविधाहरु समावेश छन् ।

घरबाटै डिम्याट खाता र मेरो सेयर नविकरण गर्न सकिने

कुनै पनि बैंक तथा क्यापिटलमा हितग्राही (डिम्याट)खाता खोलेका ग्राहकहरुले घरमै बसी अनलाइन मार्फत डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क बुझाउन सक्ने भएका छन् ।उनीहरुले इसेवा, खल्ती, कनेक्ट आईपीएस, आईएमई पे, फोपे जस्ता भुक्तानी सेवा मार्फत नविकरण शुल्क भुक्तानी गर्न सक्नेछन् ।

साथै, डिम्याट खाता नखोलेका तर खोल्न इच्छुक रहेकाले पनि अनलाइनबाटै खाता खोल्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.