२०७७ पुष २२ गते १४:०५ विकासन्युज
काठमाडौं । पुँजी बजारका बारेमा पछिल्लो समय व्यापक रुपमा बढेका हल्लाप्रति स्टक ब्रोकर एसोसिएसनले चासो देखाएको छ । पुँजी बजारमा विभिन्न कम्पनीका बारेमा विभिन्न प्रकारका हल्ला फैलाएर लगानीकर्तालाई दिग्भ्रमित बनाउने कार्य बढेको भन्दै एसोसिएसनले चासो देखाएको हो ।
पछिल्लो समय विभिन्न कम्पीको बारेमा अनावश्यक हल्ला फैलाउने र आम लगानीकर्ताको लगानीको तथ्य सुचनालाई गलत तरिकाले प्रकाशन प्रसारण गरी साधारण लगानीकर्तालाई दिग्भ्रमित बनाउने कार्य बढेको एसोसिएसनको भनाई छ । यस्तो कार्य नियन्त्रण आवश्यक रहेको भन्दै एसोसिएसनले कारबाहीको लागि स्थायी संयन्त्र बनाउन अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग माग गरेको छ ।
यस्तै, काल्पनिक, परिचय नखुल्ने, बेनामी फर्जीनाम वा असम्बन्धित नामबाट सामाजिक संजालमा धितोपत्र बजारका विभिन्न निकाय पक्षका संस्था, पदाधिकारी वा व्यक्ति विशेषको नामै तोकेर अनावश्यक हल्ला फैलाउने र तर्साउने कार्य भएको पनि एसोसिएसनको भनाई छ । यस्तो कार्य साइबर क्राइम ऐन २०६३ को व्यवस्था विरुद्ध भएकोले कानुनी कारबाहीको भागिदार बन्नुपर्ने अवस्था आउन सक्ने भन्दै एसोसिएसनले सतर्क पनि गराएको छ ।
विकासन्युजले पुस ९ गते नेपाली सेयर बजारमा इन्फरमेसन ट्रेडिङ र सुचनाको धराप राख्ने कार्य बढेको सम्बन्धी समाचार सम्प्रेषण गरेको थियो ।
सम्बन्धित सामग्री
Copyright © 2024 Bikash Media Pvt. Ltd.