२०७७ माघ ११ गते १५:०६ रविन्द्र भट्टराई
सेयर तालिमका क्रममा कम्पनी छनौट गर्ने गृहकार्य दिँदै थिएँ । एक पुरुष सहभागीले अलि दवावमा भने, ‘यति छोटो समयमा यतिका गृहकार्य गर्न कसरी भ्याउने होला ?’ मैले उनको ‘प्रश्न’को सीधा उत्तर दिइनँ । यति भनेँ, ‘छोटो समयमा काम कसरी सक्ने भन्ने कुरा छेवैमा बस्नुभएकी महिला सहभागीलाई सोध्नुहोला । अँ ! घरमा गएर श्रीमतीलाई सोध्नुभए पनि हुन्छ ।’
बिहान उठेदेखि १२ बजेसम्ममा महिलाहरु घरको कति काम सकेर तालिममा आउनुहुन्छ ? त्यति समयमा पुरुषले कति काम भ्याएको हुन्छ ? मलाई लाग्छ, महिलाको तुलनामा धेरै कम । महिला र पुरुषमा काममा वा सोचाइमा यति फरक हुन्छ भने उनीहरुले गर्ने लगानी तरिका र कमाउने नाफामा फरक छ कि छैन भन्ने जिज्ञासा धेरैमा हुनसक्छ । आयआर्जन र भविष्यका बारेमा पुरुषभन्दा महिला बढी चिन्तित हुने गर्छन् । महिलाहरु भविष्यमा वित्तीय रुपमा सुरक्षित हुन चाहन्छन् ।
त्यसैले पनि पुरुषहरुभन्दा महिलाहरु बचत गर्न सिपालु हुन्छन् । गाउँघरमा धेरै महिलाले बाख्रा वा कुखुरा ‘प्यावा’ भनेर पाल्ने र बेचेर आएको पैसा बैंकमा राख्ने, सुन किन्ने वा व्यापार व्यवसाय गर्ने गरेको पाइन्छ । तर, पुरुषले ‘प्यावा’ भन्ने गरेको देख्न र सुन्न पाइँदैन । सुन किन्नमा महिलाहरुले जोड गर्ने कुरालाई गहनाका रुपमा प्रयोग गर्नु र सुन्दर देखिनुसँग मात्र जोडेर हेर्न मिल्दैन । त्यसलाई बचत र भविष्यमा आइपर्ने वित्तीय समस्या समाधान गर्न गरिएको लगानीका रुपमा पनि लिन सकिन्छ । महिलाहरु गहनालाई वित्तीय समस्याको अन्तिम समाधान वा विकल्पका रुपमा लिन्छन् ।
महिलाहरु वित्तीय कारोबारमा बढी संयम र उत्तरदायी पनि हुने गर्छन् । यो कुरा हाम्रो समाजमा विभिन्न संघसंस्था गठनमा कोषाध्यक्षको छनौटबाट पनि प्रष्ट हुन्छ । त्यस्ता संस्था वा संगठनमा प्रायः महिलालाई कोषाध्यक्ष बनाइन्छ । धार्मिक-सांस्कृतिक हिसावले पनि महिलालाई धन सम्पत्तिको प्रतीकको रुपमा लिइन्छ । तिहारमा गरिने लक्ष्मी पूजा होस् वा हरेक दिनको सुरुवातसँगै उद्योग व्यवसायमा गरिने लक्ष्मी पूजा, महिलासँग जोडिन्छन् । आर्थिक अनियमितता र भ्रष्टाचारमा महिलाको नाम कुनै जोडिनुले वित्तीय कारोबारमा उनीहरुको इमानदारी र कम जोखिम लिने प्रवृत्तिलाई इंगित गर्छ ।
सेयर बजारमा महिला लगानीकर्ताको संख्या र सहभागिता दुबै बढ्दै गएको छ र यो निरन्तर बढ्दो क्रममा छ । के महिला र पुरुषले लगानी गर्ने तरिका, कमाउने नाफाको परिमाण र व्यवहार फरक-फरक हुन्छ ? सेयर बजारबाट पैसा कमाउन लगानीमा महिला वा पुरुष कसको भूमिका बढी हुँदा राम्रो हुनसक्छ ?
बारबर र ओडेनले सात वर्षको अवधिमा ३५ हजार गृहस्थीको सेयर कारोबारलाई आधार बनाएर अध्ययन गरेका थिए । उनीहरुले गरेको अध्ययनमा सेयर कारोबारमा महिलाभन्दा पुरुष बढी आत्मविश्वासी र भविष्यप्रति आशावादी पाए । यस्तै महिलामा भन्दा पुरुषमा एक तिहाई बढी जोखिम लिने क्षमता भएको पनि पाएका थिए । सेयर कारोबारमा महिलाभन्दा पुरुषले ४५ प्रतिशत बढी कारोबार गरेको पाइएको थियो भने एकल महिलाभन्दा एकल पुरुषले ६५ प्रतिशत बढी कारोबार गरेका थिए । अध्ययनअनुसार जो लगानीकर्ता आफ्नो कारोबार क्षमताका बारेमा बढी आत्मविश्वासी देख्छिन्, उनीहरुले बढी कारोबार (किनबेच) गर्ने गरेको पाइन्छ ।
सेयर कारोबारमा लिंगको प्रभाव उनीहरुले कमाउने नाफामा पनि देखिएको थियो । अध्ययनअनुसार पुरुषले धेरै कारोबार गरे पनि महिलाले बढी प्रतिफल लिएका थिए । सन् २०१६ मा अमेरिकाको फेडिलिटिले ८० लाखभन्दा बढी लगानीकर्तामा गरेको अध्ययनमा महिलाले पुरुषको भन्दा आधा प्रतिशत बढी प्रतिफल आर्जन गरेको पाइएको थियो । त्यस्तै, सन् १९९५ मा अमेरिकाकै नेसनल एशोसिएसन अफ इन्भेष्टर्स कर्पोरेसनले गरेको अध्ययनमा महिलाहरुको लगानीकर्ता क्लबले पुरुषको क्लबले भन्दा ११ प्रतिशत बढी नाफा कमाएको थियो । सेयर कारोबारमा पुरुषले बढी किनबेच गरेका थिए भने महिलाले बढी होल्ड गरेका थिए । यसको अर्थ, महिलाले ‘बाइ एन्ड होल्ड’ रणनीति अपनाए भने पुरुषले छिटो छिटो कारोबार (ट्रेडिङ) गरे ।
यस्तै परिणाम जर्मनीको एक विश्वविद्यालयले अमेरिकामा म्युचुअल फण्डको नेतृत्व गरेका महिला र पुरुष व्यवस्थापकबीचमा गरेको अध्ययनमा पनि पाइएको थियो, जहाँ महिला व्यवस्थापक कम जोखिम लिने र कम आत्मविश्वासी थिए । उनीहरु कम कारोबार गर्ने गर्थे । पुरुष भने आक्रामक लगानीमा जोड दिन्थे । भने विज्ञानविद्हरुले गरेको त्यस्तै अध्ययनमा वित्तीय मामलामा महिलाभन्दा पुरुष बढी आत्मविश्वासी पाइएको थियो । महिलाभनदा पुरुषले जोखिमयुक्त पोजिसन लिने र ५० प्रतिशत बढी कारोबार गरेका थिए भने बढी कारोबार गर्ने महिला र पुरुष दुबैको नाफा घटेको थियो । यसको निष्कर्ष सेयर बजारमा कारोबारीभन्दा दीर्घकालीन लगानीकर्ता बढी नाफा कमाउन सफल हुन्छन् भन्ने हो ।
अर्को अध्ययन मेरिलिन्च इन्भेष्टमेन्ट म्यानेजरले गरेका थिए । उनीहरुले पाँच सय महिला र पाँच सय पुरुष ग्राहकबीच गरेको अध्ययनको निष्कर्ष पनि बारबर र ओडेनको अध्ययनसँग मिल्दो छ, जसअनुसार महिलाले घाटामा रहेको सेयर छिटो बिक्री गर्ने गरेको पाइयो भने पुरुषले लामो समय होल्ड गरेको पाइएको थियो । यसको अर्थ, पुरुषहरु लामो घाटामा रहेको सेयर लामो समय होल्ड गर्न चाहन्छन् भने महिला छिटो बिक्री गरेर घाटा कम गर्न चाहन्छन् । नाफामा रहेको सेयर वा कारोबार पुरुषले भन्दा लामो समय होल्ड गर्ने गर्छन् । परिणामतः उनीहरु पुरुषले भन्दा बढी नाफा कमाउन सक्षम हुन्छन् ।
नोक्सानीमा सेयर बिक्री गर्न गाह्रो हुनु तथा घाटामा सेयर बिक्री गर्नुको अर्थ सेयर किन्दै गलत थियो भनेर पनि बुझिन्छ, जसलाई मेन्टल एकाउन्टिङ पनि भनिन्छ । अर्कोतर्फ, लामो समय घाटा पाल्ने व्यवहारलाई व्यावहारिक फाइनान्समा ‘लस एभर्सन’ भनिन्छ । ‘लस एभर्सन’लाई अर्को शब्दमा ब्रेक इभन वा डिस्पोजिसन इफेक्ट पनि भनिन्छ, जसमा लगानीकर्ता आफनो लागत (साँवा) मात्र आए पनि बिक्री गर्छु भन्ने मनसायमा हुन्छ । लामो समय घाटामा सेयर होल्ड गर्नुपरेमा ‘साँवामात्र आए पनि बिक्री गर्ने थिएँ’ भन्ने सोचाइको विकास लगानीकर्तामा हुँदै जान्छ ।
पोर्टफोलियो बनाउने सन्दर्भमा पनि महिला र पुरुषबीच भिन्नता पाइन्छ । सोही अध्ययनले देखाएअनुसार महिलाभन्दा पुरुष एउटै कम्पनीमा बढी रकम केन्द्रित गर्छन् । यसको अर्थ, महिला लगानीयोग्य पुँजीलाई बाँडेर लगानी गर्ने गर्छन् भने पुरुष एउटै कम्पनीको सेयरमा सबै पैसा खन्याउन चाहन्छन्, जुन पुरुषले गर्ने लगानीमा जोखिम बढाउने महत्वपूर्ण कारण पनि हो । यसैगरी लगानीका नयाँ अवसरमा पनि महिलाभन्दा पुरुषले अध्ययन नगरी लगानी गरेको पाइएको थियो । पुरुषका यस्ता व्यवहारले बढी जोखिम लिने तर नाफा कम कमाउने र महिलाले कम जोखिम लिएर बढी नाफा कमाउने निष्कर्षमा पुग्न सकिन्छ ।
महिला र पुरुषबिच हुने लगानीको रणनीतिक भिन्नताबाट हामी हाम्रो लगानीलाई थप व्यवस्थित गर्न सक्छौं । महिला र पुरुषको व्यवहारलाई आफैँमा पनि जोखिम कम गर्ने एक प्रकारको पोर्टफोलियोको रुपमा लिन सकिन्छ । तपाईं विवाहित पुरुष हुनुहुन्छ तर लगानीमा बढी आक्रामक व्यवहारले नोक्सान पुर्याइरहेको छ भने श्रीमतीलाई लगानी निर्णयमा सहभागी गराउनु भए जोखिम कम गर्न मद्दत पुग्छ ।
अविवाहित पुरुषहरुले पनि सक्रिय रुपमा लगानी गरि रहेका हुन सक्छन् । त्यस्तो हो र लगानीमा जोखिम बढी छ भने ब्रोकरको कार्यालयमा आउने महिलालाई साथी बनाउनुहोस् । उनीहरुले तपाईंको आक्रामतालाई ब्रेक लगाउन मद्दत गर्नेछन् । अर्कोतर्फ समूह बनाएर लगानी गर्ने सोच बनाउनु भएको छ भने महिला बढी भएको समूह बनाएर कम्पनी खोलेर पनि लगानी गर्न सक्नुहुन्छ ।
महिला र पुरुषको लगानी व्यवहारबाट लगानी व्यवस्थापक कम्पनी पनि कर्मचारी छनौट वा कामको बाँडफाँड गर्न सहयोग पुगेको पाइन्छ । उनीहरुको व्यवहारले सेयर खरिदमा ब्रोकर र लगानी सल्लाहकारको छनौटमा पनि असर गरिरहेको हुन्छ । महिला लगानीकर्ताहरु महिलाले नेतृत्व गरेको ब्रोकर कम्पनी कहाँ बढी जानुको एउटा कारण उनीहरुको जोखिम लिने व्यवहार मिल्नु पनि हो । तपाईं पुरुष लगानीकर्ता हुनुहुन्छ र अध्ययन नगरी लगानी गर्ने गर्नुहुन्छ, लगानी गर्दा छिट्टै उत्तेजित भइहाल्नुहुन्छ र छिट्टो-छिटो कारोबार गरेर नाफा बढ्न सकिरहेको छैन भने महिलाले नेतृत्व गरेको ब्रोकर कहाँबाट कारोबार गर्नुहोस्, जसले तपाईंको व्यवहारमा थोरै मात्र भए पनि नियन्त्रण गर्न सहयोग पुर्यायो भने लगानी नाफा बढाउन ठूलो सहयोगी बन्नसक्छ ।
अविवाहित महिलाको कमाई बढी
विल्वर जि लेवेलेन, रोनाल्ड सि लिज र ग्रेजी स्कार्लवमले गरेको ‘प्याटर्नस अफ इन्भेस्टर्स स्ट्रयाटेजी एन्ड बिहेबियर अमङ इन्डिभिजुअल इन्भेष्टर्स ’ शीर्षकको अध्ययनमा महिला र पुरुषमा खर्च अघिको आम्दानी समान देखिए पनि खुद नाफा महिलाको बढी देखिएको थियो । यसको कारण पुरुषले धेरै कारोबार गर्ने गरेकाले कारोबार लागत बढ्न गई उनीहरुको आम्दानीमा नकारात्मक प्रभाव पारेको थियो ।
सोही अध्ययनले विवाहित महिलाले भन्दा अविवाहित महिलाले बढी कमाएको निष्कर्ष पनि निकालेको थियो । विवाहित महिलाको नाफा कम हुनुमा अति आत्मविश्वासी पुरुषको प्रभाव मुख्य कारण थियो ।
(सेयर बिश्लेषक भट्टराईको सेयर मन्त्र पुस्तकबाट साभार)
Copyright © 2025 Bikash Media Pvt. Ltd.