२०७७ माघ १३ गते १३:४९ विकासन्युज
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निर्वाचनका लागि निजी क्षेत्रको सहयोग चाहेको बताएका छन् । सरकारले आगामी बैशाख १७ र २७ का लागि घोषणा गरेको मध्यावधि निर्वाचन गर्नको लागि निजी क्षेत्रको सहयोग आवश्यक हुने बताएका हुन् ।
६९ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आफ्नो धारणा राख्दै अर्थमन्त्री पौडेलले निर्वाचनमा निजी क्षेत्रको सहयोग र भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
‘हामी विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण ठूलो संकटमा छौं, विस्तारै व्यापार व्यवसाय चलायमान भएसँगै हामी पनि विस्तारै अगाडि बढ्दै छौं, सरकारले पनि यही समयमा निर्वाचनको घोषणा गरेको छ, यसमा निजी क्षेत्रको सहयोग सरकारलाई चाहिएको छ,’ उनले भने ।
उनले निजी क्षेत्रलाई चुनावको तयारीमा जुट्न समेत आग्रह गरेका छन् । ‘मुलुक अहिले चुनावको माहोलमा अघि बढेको छ, केहीले निर्वाचन नहुने हो की भन्ने शंका गरिरहेका छन्, लोकतन्त्रको सुन्दर अभ्यास चुनाव हो, यसमा सरकारलाई निजी क्षेत्रको सहयोग चाहिन्छ,’ उनले भने ।
यस्तै, उनले भन्सार चुहावट रोक्न पनि निजी क्षेत्रले सहयोग गर्नुपर्ने धारणा राखेका छन् । भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडि बढाउँदै प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा पनि उनले जोड दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.