विवरण प्रकाशित गर्ने १७ मध्ये ४ बैंकको मात्रै बढ्यो नाफा, अरुको कस्तो रह्यो विजनेस ?

  २०७७ माघ १५ गते १०:५५     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारीको असर बैंकहरुको व्यालेन्ससीटमा देखिएको छ । संचालनमा रहेका २७ मध्ये अधिकांश वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रभावित भएको छ ।

बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अपरिष्कृत वित्तीय विवरणले उनीहरुको नाफा गत वर्षको तुलनामा घटेको देखाएको छ । यद्यपि, अहिलेसम्म सबैं बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरिसकेका छैनन् । वित्तीय विवरण सार्वजनिक गरेका १७ वाणिज्य बैंकमध्ये ४ वटा बैंक मात्रै नाफा बढाउन सफल भएका छन् । बाँकी १३ वटा वाणिज्य बैंकहरुको नाफा गत वर्षको ६ महिनाको तुलनामा घटेको छ ।

नाफा घटेपनि बैंकहरु नोक्सानीमा भने गएका छैनन् । उनीहरुको नाफा गत वर्षको ६ महिनाको तुलनामा मात्रै कम देखिएको हो ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण सन्त्रासका कारण नेपाली अर्थतन्त्र पनि प्रभावित भएको छ । अर्थतन्त्रका अन्य क्षेत्रमा कोभिड–१९ महामारीको नकारात्मक असर परेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत गएको कर्जामा सहुलियत दिएर ऋणीलाई राहत प्रदान गर्ने नीति अख्तियार गरेको थियो । सरकारले आफ्नो तर्फबाट खासै राहत र पुनरुत्थानका कार्यक्रम संचालन नगरी बैंक तथा वित्तीय संस्थाहरुलाई व्याज, जरिवाना र किस्ता तिर्न छुट दिने नीति लिएका कारण बैंकहरुको नाफा प्रभावित भएको हो ।

पछिल्लो समय बैंकहरुले बढी नाफा राखेर आफूहरुलाई पेलेको भन्दै निजी क्षेत्रका उद्योगी व्यवसायीले पनि बैंकहरुको आलोचना गरिरहेका थिए । निजी क्षेत्र र सरकार पनि बैंकहरुको नाफा बढी भयो भनेर आलोचनामा उत्रिरहेको बेलामा बैंकहरुको नाफा घटेको पाइएको छ ।

अहिलेसम्म वित्तीय विवरण सार्वजनिक १७ वाणिज्य बैंकमध्ये एनएमबी, प्राइम, ग्लोबल आइएमई र मेगा बैंकको नाफा मात्रै बढेको छ । नाफा बढाएकामध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी अर्थात ६२ करोड ९२ लाख रुपैयाँ नाफा बढाएको छ ।

नबिल, माछापुच्छ्रे, सिद्धार्थ, लक्ष्मी, कृषि विकास, नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी), बैंक अफ काठमाण्डू (विओके), सेन्चुरी, सिभिल, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, नेपाल एसबिआई र हिमालयन बैंकको नाफा घटेको छ । नाफा घटेकामध्ये हिमालयन बैंकको सबैभन्दा बढी अर्थात १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ नाफा कम देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.