फलामजन्य निर्माण सामग्रीको मूल्य घट्दा सिमेन्टको मूल्य बढेको बढ्यै, बोराकाे ८ सय रुपैयाँ पुग्यो

  २०७७ माघ १५ गते १३:३०     विकासन्युज

काठमाडौं । निर्माणको सिजनमै बढेको फलामजन्य निर्माण सामग्रीहरुको मूल्य घटिरहेको बेला सिमेन्टको मूल्य भने दैनिक बढ्दै गएको छ । केही दिन यता बढ्दै गएको सिमेन्टको मूल्य अहिले २० देखि २५ रुपैयाँसम्म बढेको हो ।

सिमेन्ट उत्पादक कम्पनीहरुले प्रतिबोरा सिमेन्टको मूल्य २५ रुपैयाँसम्म बढाएको निर्माण सामग्री व्यवसायी र निर्माण व्यवसायीहरुले बताएका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा व्यापार व्यवसाय नभएर प्रतिबोरा सिमेन्टमा १ सय रुपैयाँसम्म घटाएका सिमेन्ट उत्पादकहरुले अहिले भने धमाधम सिमेन्टको मूल्य बढाइरहेका छन् ।

अहिले सिमेन्ट उत्पादक कम्पनीहरुले घटाएको १ सय रुपैयाँसँगै त्यसमा पनि २५ रुपैयाँ बढाएर सिमेन्ट बिक्री गरिरहेका छन् । कोरोना अहिले निर्माणको सिजन सुरु भएसँगै उनीहरुले सिमेन्टको मूल्य बढाएको व्यवसायीहरुको भनाई छ । अहिले निर्माणको सिजन सुरु भएको र कोरोना भाइरसको भ्याक्सिन आइसकेकोले निर्माणको कार्यले थोरै भएपनि गति लिएको छ । त्यसैले पनि निर्माण सामग्रीको माग बढ्दै गएको छ । माग बढेपछि उत्पादकहरुले मूल्य बढाउन थालेको व्यवसायीहको भनाई छ ।

निर्माण सामग्री व्यवसायीहरुले अहिले पीपीसी सिमेन्टमा एक बोराको ६ सय रुपैयाँदेखि ७ सय र ओपीसी सिमेन्टको प्रतिबोरा ७ देखि ८ सय रुपैयाँसम्म पर्ने गरेको बताए ।

निर्माण सामग्री व्यवसायी संघका उपाध्यक्ष दिपक श्रेष्ठले सिमेन्टको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ । ‘पहिले सबै निर्माण सामग्रीको मूल्य बढेको थियो, तर, अहिले फलामजन्य निर्माण सामग्रीको मूल्य घटेको छ, उत्पादकहरुले सिमेन्टको मूल्य बढाइरहेका छन्,यसको भार व्यवसायी र उपभोक्तलाई पर्दै गएको छ,’ उनले विकासन्युजसँग भने ।

उनका अनुसार पहिलेको तुलनामा २० देखि २५ रुपैयाँ बढेको छ । ‘फलामको कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा पनि बढेको हो, तर सिमेन्ट नेपालमै उत्पादन हुन्छ, उद्योगीहरुले सिमेन्टमा मनोपोली गरेको हो,’ उनले भने ।

यस्तै, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहका अनुसार सिमेन्टको मूल्य बढेको छ । ‘फलामजन्य निर्माण सामग्रीको मूल्य घट्दै गएको छ, डण्डी र ग्याल्बिन तारको मूल्य घटेको छ, सिमेन्टको मूल्य भने बढको छ,’ उनले भने ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापाले सिमेन्टको मूल्य धेरै नबढेको बताए । उनले अहिले ओपिसी सिमेन्टको फ्याक्ट्री मूल्य प्रतिबोरा ६ सयदेखि ७ सय रुपैयाँ र पिपीसी सिमेन्टको मूल्य ५ सयदेखि ६ सय रुपैयाँसम्म पुगेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.