२०७७ माघ १५ गते १५:५५ विकासन्युज
काठमाडाैं । विपी राजमार्गकाे पुन:निर्माण सम्पन्न भएकाे छ । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गरेकाे हाे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको छ । वि.सं.२०७२ सालको भूकम्पबाट वी.पी. राजमार्ग क्षतिग्रस्त भएकाे थियाे ।
राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको र जापानले नेपालको पूर्वाधार क्षेत्रमा गरेको सहयोग देशको विकासका लागि कोशेढुंगा भएको पनि बताए ।
देशको केन्द्रीय राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो विपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण शुरु गरी सन् २०१५ मार्चमा सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरेको थियो । तर हस्तान्तरण गरेको दुई महिना नबित्दै वि.स. २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको थियो । त्यसपछि पनि जापानले वी.पी राजमार्गको पुनर्निर्माणको जिम्मा लिदै सन् २०१९ जुलाई ३ देखि जापानी निर्माण कम्पनी हाजमा अण्डो कर्पोरेशन मार्फत काम शुरु गरेको थियो । करिब १८ महिना अर्थात सन २०२१ जनवरी १८ मा वी.पी. राजमार्गको पुनर्निर्माण सम्पन्न गरी जापानले बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.